२०८३ साउन ९ शनिबार

भारतको गर्मी छल्न भारतीय पर्यटक पोखरामा, स्थलमार्गबाट निजी सवारी साधन लिएर आउने बढी

ई आर्थिक    बुधबार, असार ७ २०७४
2.4K
Shares
भारतको गर्मी छल्न भारतीय पर्यटक पोखरामा, स्थलमार्गबाट निजी सवारी साधन लिएर आउने बढी

७ असार, पोखरा । गर्मी बढेसँगै केही दिनयता भारतका विभिन्न स्थानबाट पर्यटकीय नगरी पोखरा आउने भारतीय पर्यटकको सङ्ख्या ह्वात्तै बढेको छ।

भारतको विभिन्न ठाउँमा अत्यधिक गर्मी बढेपछि गर्मी छल्न भारतीय पर्यटक पोखरा आउने गरेका छन् । उनीहरुले पोखरा र त्यस आसपासको क्षेत्रको मनोरम दृश्यावलोकन गर्ने गरेका छन् । स्थलमार्गबाट निजी सवारी साधन लिएर आउने पर्यटकको सङ्ख्या अत्यधिक छ । आगमन बढाउन भारतका विभिन्न सहरमा नेपाल पर्यटन बोर्डसहित पर्यटन सम्बद्ध सङ्घ संस्थाले गरेका प्रवद्र्धनात्मक कार्यक्रमको प्रभावकारिता बढ्दै गएपछि भारतीय पर्यटकको आगमनमा वृद्धि हुँदै गएको नेपाल पर्यटन बोर्ड, क्षेत्रीय कार्यालय पोखराका वरिष्ठ अधिकृत सूर्य थपलियाले बताए । बोर्डले पर्यटन सम्बद्ध सङ्घ संस्थालाई सँगै लिएर भारतका विभिन्न सहरमा प्रवद्र्धनात्मक कार्यक्रमलाई अघि बढाएको छ ।

‘पर्यटनको विकासका लागि व्यवसायीमा आत्मविश्वास चाहिन्छ, सँगसँगै अन्तरराष्ट्रिय बजारको विश्वास जित्नु आवश्यक छ,’ उनले भने, ‘प्रवद्र्धनात्मक कार्यक्रमले बाह्य पर्यटकको विश्वास जित्ने वातावरण तयार हुँदै गएको छ ।’ नेपाल पर्यटन बोर्ड, क्षेत्रीय कार्यालयको आयोजना एवम् पोखरा पर्यटन परिषद्को संयोजनमा उत्तरपूर्वी भारतमा प्रवद्र्धनात्मक कार्यक्रम गरिँदै आएको छ । पछिल्ला दिन भारतको उत्तरप्रदेश, बिहार, पश्चिम बङ्गाललगायत स्थानबाट भारतीय पर्यटक आउने क्रममा वृद्धि भएको पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्ष एवम् नेपाल पर्यटन व्यवसायी सङ्घ(निट) पोखराका अध्यक्ष सोम थापाले बताए । ‘भारतीय पर्यटक अधिकांशले निजी सवारी साधन लिएर आउने गरेका छन्,’ उनले भने, ‘गर्मी छल्न र घुम्नका लागि पोखरा पर्यटकको रोजाइमा पर्ने गरेको छ ।’

भारतीय पर्यटक पोखरा हुँदै मुक्तिनाथसम्म पुग्ने गरेका छन् । सामान्यतः पर्यटकले दुई रात पोखरामा बिताउने गरेका छन् । होटल एशोसिएशन अफ नेपाल(हान) पश्चिमाञ्चलका पूर्व अध्यक्ष एवम् पोखरा पर्यटन परिषद्का उपाध्यक्ष भरतराज पराजुली भारतीय पर्यटकको बढ्दो आगमनले व्यवसायी उत्साहित भएको बताउँछन् । नेपालको मुख्य पर्यटन बजार भारत र चीन नै हो । भारतीय पर्यटकको आगमनमा वृद्धि हुँदै गए पनि चिनियाँ पर्यटकको आमगनमा अझै वृद्धि हुनसकेको छैन । नेपाल आउने विदेशी पर्यटकमध्ये विगतमा ३० देखि ४० प्रतिशत मात्र पर्यटक पोखरा आउने गरेकोमा पछिल्लो समयमा ५० देखि ६० प्रतिशतसम्म आउने गरेका पराजुलीको भनाइ छ ।

सन् २०१६ मा सात लाख ५० हजार विदेशी पर्यटक नेपाल आएका थिए । पोखरामा पर्यटकलाई लक्षित गरी व्यवसायीले रू. एक खर्बभन्दा बढी लगानी गरिसकेका छन् । पोखरामा हाल दुई ओटा पाँच तारे, १४ ओटा तीन तारे र अन्य पर्यटकस्तरीय करीब चार सय ओटा सुविधा सम्पन्न होटल रहेका छन् । पछिल्लो समयमा भारतीय पर्यटक मुक्तिनाथ क्षेत्रमा आउने गरेको होटल ग्राण्ड साम्वाला मुक्तिनाथका सञ्चालक सुरज गुरुङले बताए । भारतीय पर्यटकमध्ये केही पोखराबाट हवाईजहाजमा जोमसोम हुँदै मुक्तिनाथ पुग्ने गरेका छन् भने कतिपय स्थलमार्गबाट बेनी जोमसोम हुँदै जान्छन् । गर्मी छल्न तथा प्राकृतिक दृश्यावलोकन र धार्मिक उद्देश्यका साथ भारतीय पर्यटक यहाँ आउने गरेका हुन् । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij