१ असार, डोल्पा । दुर्गम जिल्ला डोल्पामा यातायातको एकमात्र माध्यमका रुपमा रहेको जुफाल विमानस्थल बुधवारदेखि बन्द भएको छ । बुधवारबाट विमानस्थल कालोपत्रको काम शुरु गरिएपछि जुफाल विमानस्थल बन्द भएको नागरिक उड्डयन प्राधिकरणको कार्यालय जुफालले बताएको छ ।
नागरिक उड्डयन प्राधिकरणको रू. नौ करोड ८१ लाख रकममा स्तरोन्नति हुन लागेको उक्त विमानस्थलको कालोपत्र गर्न मात्रै झण्डै दुई महीना लाग्ने अनुमान भएपनि काम शुरु गर्दा यसै भन्न नसकिने आयोजना प्रमुख वीरप्रसाद शाहीले जानकारी दिए । विमानस्थल कालोपत्र भएको केही दिनमै सञ्चालनमा ल्याउन सकिने आयोजना प्रमुख शाहीको भनाइ छ ।
भौगोलिक विकटताका कारण भनेको समयमा सामान ढुवानीका लागि हेलीकोप्टर नपाइने, कहिले मौसमले साथ नदिने, कहिले कामदार नपाउने जस्ता यावत समस्याले विमानस्थल स्तरोन्नति कार्य अवरुद्ध हुँदै आएको आयोजना प्रमुख शाहीको भनाइ छ । जुफाल विमानस्थलको कालोपत्र गर्ने कार्य सम्पन्न नहुन्जेलसम्म त्रिपुरासुन्दरी नगरपालिकास्थित पहाडामा पर्ने मसिनेचौर विमानस्थल सञ्चालनमा ल्याउने तयारी भइरहेको जिल्ला प्रशासन कार्यालय डोल्पाले जानकारी दिएको छ ।
मसिनेचौर विमानस्थल सञ्चालनमा ल्याइएपछि बिरामी, पर्यटक आदिलाई आवतजावत गर्न सहज हुने छ । जुफाल विमानस्थल कालोपत्र भएपछि डोल्पालीलाई जिल्लाबाहिर जान तथा दैनिक उपभोग्य सामग्री ढुवानी गर्न पनि सहज हुने बताइएको छ । रासस