२५ जेठ, काठमाडौं । व्यवस्थापिका–संसद्को बिहीवारको बैठकले ‘स्थानीय तह निर्वाचन (पहिलो संशोधन) विधेयक, २०७४’ बहुमतले पारित गरेको छ ।
बैठकमा गृहमन्त्री जनार्दन शर्माले ‘स्थानीय तह निर्वाचन (पहिलो संशोधन) विधेयक, २०७४ माथि दफावारे छलफल सदनमा गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गरेका थिए । विधेयकमाथिको दफावारे छलफलमा भाग लिँदै सांसद प्रेम सुवालले स्थानीय तहका लागि काम गर्न आवश्यक स्थानीय तह कार्यसञ्चालनसम्बन्धी कानून तर्जुमा हुन नसकेको बताउँदै प्रजातन्त्रलाई बलियो बनाउने उक्त विधेयक ल्याउन आग्रह गरे ।
सांसद मीना पुनले पहिलो चरणको स्थानीय तहको निर्वाचन यही नियम बमोजिम भएको उल्लेख गर्दै सबै दल निर्वाचनमा सहभागिता हुने ग्यारेण्टी के भनी प्रश्न गरे । छलफलमा उठेका प्रश्नको जवाफ दिँदै गृहमन्त्री शर्माले संविधानको स्वीकार्यता अघि बढाउन संशोधन प्रस्ताव अघि बढाइएको बताउँदै दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा सबै दललाई सहभागिता बनाउने उद्देश्य राखेर कानूनी जटिलता फुकाउने प्रयत्न गरिएको स्पष्ट पारे । उनले संशोधनपछि मधेश केन्द्रीत दल पनि निर्वाचनमा आउने र मधेशमा रहेको असन्तुष्टि पनि संबोधन हुने विश्वास दिलाए ।
गृहमन्त्री शर्माले सबैलाई निर्वाचनमा सहभागी बनाउन संशोधन विधेयकलाई पारित गर्न अनुरोध गरे । संसद्को अर्काे बैठक जेठ २६ गते बिहान ११ बजे बस्नेछ । रासस