२०८३ साउन ९ शनिबार

दरबार हत्याकाण्डको १६ वर्षपछि बन्दैछ वीरेन्द्रको वंश नास भएको त्रिभुवन सदन

ई आर्थिक    शुक्रबार, जेष्ठ १९ २०७४
3.2K
Shares
दरबार हत्याकाण्डको १६ वर्षपछि बन्दैछ वीरेन्द्रको वंश नास भएको त्रिभुवन सदन

१९ जेठ, काठमाडौं । तत्कालीन राजा वीरेन्द्रको वंश नास भएको नारायणहिटीस्थित त्रिभुवन सदन अबको डेढ वर्षमा निर्माण हुने भएको छ। तत्कालीन राजा ज्ञानेन्द्र शाहले त्रिभुवन सदन पूर्ण रूपमा नष्ट गर्न लगाएका थिए। नारायणहिटी दरबार संग्रहालयका अनुसार त्रिभुवन सदन पुरानै शैली र संरचनामा तयार हुँदैछ।

दुईतले भवनको पहिलो तलाको निर्माण सकिएको छ। दोस्रो तला निर्माणको काम धमाधम भइरहेको संग्रहालयले जनाएको छ। संग्रहालयका प्रमुख रोहितकुमार ढुंगानाले त्रिभुवन सदनका भित्री र बाहिरी स्वरूप पुरानोजस्तै बनाउन लागिएकाले निर्माणमा केही समय लाग्ने बताए। उनले भने, ‘त्रिभुवन सदन पूर्ण रूपमा नष्ट गरिएको थियो।

पछि फेरि निर्माण गर्ने निर्णय भयो। अहिले धमाधम काम काम हुँदै छ,’ ढुंगानाले भने, ‘त्रिभुवन सदन पूर्ण रूपमा बन्न अझै डेढ वर्ष लाग्छ। पुरानै झल्को दिने गरी बनाइने हुँदा मिहिनेत र समय पनि धेरै लाग्छ।’ संग्रहालयका अनुसार त्रिभुवन सदन निर्माण चार करोड रुपैयाँ लागतमा हुँदै छ। त्यसमध्ये दुई करोड रुपैयाँ भवनमा र दुई करोड रुपैयाँ भित्री डेकोरेसनमा खर्च हुनेछ।

अहिलेसम्म डेढ करोड रुपैयाँ खर्च भइसकेको छ। संग्रहालयका प्रमुख ढुंगानाले भने, ‘भवन निर्माणसँगै डेकोरेसन पुरानै शैलीमा गरिने हुँदा खर्च धेरै लाग्ने भएको हो। डेकोरेसनपछि सदन पहिलेको जस्तै देखिनेछ।’ संग्रहालयका अनुसार सदन निर्माण अवधि तीन वर्षको हो। निर्माणकार्य डेढ वर्ष अघिदेखि हुँदै छ।

डेकोरेसनका लागि मात्रै थप दुई वर्ष लाग्ने भएको सबै निर्माण सक्न पाँच वर्ष लाग्नेछ। ढुंगानाले भने, ‘सदन निर्माणको कुल अवधि पाँच वर्षको हो। त्यसमध्ये दुई वर्ष डेकोरेसनमै जान्छ। जस्ताको तस्तै बनाउनुपर्ने भएकाले डेकोरेसनमा धेरै समय लाग्ने देखिएको हो।’ अाजकाे नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij