२०८३ साउन ९ शनिबार

१५ दिनपछि देशैभरि औषधि अभाव हुने, यस्तो छ कारण

ई आर्थिक    शुक्रबार, जेष्ठ १९ २०७४
2K
Shares
१५ दिनपछि देशैभरि औषधि अभाव हुने, यस्तो छ कारण

१९ जेठ, काठमाडौं । नेपाली औषधि उत्पादक कम्पनीको लापरबाहीका कारण दुई सातापछि देशैभरि अत्यावश्यक औषधिको अभाव हुने भएको छ ।

दुई महिनाअघि औषधि उपलब्ध गराउने जिम्मा पाएको नेपाली औषधि उत्पादक कम्पनीले अन्तिम अवस्थामा कच्चा पदार्थ ल्याउन नसकिएको भन्दै म्याद थप गर्न आग्रह गरेपछि अत्यावश्यक औषधि अभाव हुने सम्भावना बढेको हो ।

स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्था महाशाखाका निर्देशक डा. भीमसिंह तिंकरीले म्याद थप्न गरेको आग्रहसँगै देशमा अत्यावश्यक औषधिको अभाव देखिने सम्भावना बढेको बताए । सरकारसँग १५ दिनसम्मलाई मात्रै पुग्ने औषधिको मौज्दात रहेकाले समस्या देखिएको उनको भनाइ छ ।
नेपाली औषधि उत्पादक कम्पनीलाई स्वास्थ्य मन्त्रालयले प्रवद्र्धन गर्ने र नेपालमा उत्पादन भएका औषधिको विदेशबाट आयातमा रोक लगाउने सरकारको तयारी छ ।

नेपाली कम्पनीले १३ प्रकारका औषधि बनाउने कच्चा पदार्थ ल्याउन नसक्दा अत्यावश्यक औषधिको उपलब्धतामा चुनौती थपिएको छ । नेपाली उत्पादक कम्पनीले ४६ प्रकारका औषधि उपलब्ध गराउने जिम्मा पाएका छन् ।

सरकारले ४६ प्रकारका औषधिको आवश्यकता महसुस गर्दै खुला गरेको टेन्डरमा चार भारतीय र सात नेपाली कम्पनीले औषधि उपलब्ध गराउने जिम्मा पाएका थिए । भारतीय कम्पनीहरूले समयमै औषधि उपलब्धता गराउने अवस्था रहे पनि नेपाली कम्पनीले अहिलेसम्म कच्चा पदार्थ ल्याउन समस्या भएको भन्दै म्याद थप गर्न आपूर्ति व्यवस्था महाशाखामा एक दर्जन बढी निवेदन परेका छन् ।

कच्चा पदार्थ ल्याउन ७० दिन
नेपालमा औषधि उत्पादन गर्ने कच्चा पदार्थ छैन । भारत, चीन, अमेरिका र जर्मनीलगायतका देशबाट कच्चा पदार्थ ल्याउनुपर्ने हुन्छ । औषधि उत्पादक कम्पनीहरूले अहिलेसम्म कच्चा पदार्थ सप्लाई गरेका छैनन् । जहाजबाट ल्याउन खर्चिलो पर्ने भएकाले पानीजहाजको माध्यमबाट ल्याउँदा ७० दिन लाग्छ ।

‘औषधि बनाउने कच्चा पदार्थको आयातमा ७० दिन लाग्छ । हामीसँग १५ देखि एक महिनालाई मात्रै पुग्ने औषधि मौज्दात छ । अहिलेसम्म म्याद थपका निवेदन आएकाले ६ महिनायता नेपाली औषधि उत्पादक कम्पनीले सरकारलाई औषधि दिने अवस्था छैन,’ निर्देशक तिंकरीले भने । कम्पनीहरूले एक महिनादेखि तीन महिनासम्मको समय थप्न माग गरेका छन् । यो समयमा अति नै आवश्यक पर्ने औषधिसमेत नआउने भएपछि गम्भीर समस्या देखिने उनको भनाइ छ । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij