१३ जेठ, काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टील नेपालले ‘वान वेल्ट वान रोड’ परियोजनामा हस्ताक्षर गरेको खुसी व्यक्त गरेको छ । चिनियाँ कम्युनिस्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री झियाङ झिओसङले पूर्वप्रधानमन्त्री केपी ओलीलाई पत्र लेख्दै खुसी व्यक्त गरेका हुन् ।
ओबीओआर परियोजनाको फ्रेमवर्कको समझदारीपत्रमा नेपालले हस्ताक्षर गरेसँगै नेपाल र चीनबीचको सम्बन्धमा नयाँ आयाम थपिएको बताउँदै दुई देशका जनताबीच समेत सम्बन्ध सुदृढ हुने उनले लेखेको पत्रमा उल्लेख छ । पछिल्लो वर्ष चीनले अगाडि सारेको ओबीओआर परियोजनामा नेपालले सकारात्मक भूमिका निर्वाह गरेको भन्दै मन्त्री झियाङले दुई देशबीच सम्बन्ध विस्तार र साझेदारीका सहमतिमा हस्ताक्षर भएको भन्दै उनले खुसी व्यक्त गरेका छन् ।
उनले पत्रमा सम्बन्ध विस्तारका लागि जनस्तरमा सम्बन्धलाई थप मजबुत बनाउनुपर्ने भन्दै दुई देशको साझा समस्या र अवस्थालाई प्राथमिकतामा राखेर जनताको भावना समावेशिता र सहकार्यतामा अगाडि बढाउन आवश्यक रहेको बताएका छन् । चीनले दुई देशबीचको सम्बन्धलाई मजबुत बनाउन सामाजिक रूपमा आर्थिक साझेदारी र आपसी सम्बन्ध विस्तार गरी समाजलाई सुदृढ बनाउन चाहेको पत्रमा उल्लेख छ ।
‘राजनीतिक दलहरू जनताका प्रतिनिधि हुन्, राजनीतिक मार्गदर्शन आपसी जनसम्बन्ध विस्तार, आपसी समझदारी, सहकार्य र समझदारीका लागि महŒवपूर्ण रहेको छ,’ झियाङले ओलीलाई लेखेको पत्रमा उल्लेख छ, ‘ओबीओआर परियोजनामा नेपालले हस्ताक्षर गरेसँगै दुई देशबीच विविध क्षेत्रमा साझेदारीका लागि सकारात्मक वातावरण निर्माण भएको छ, दुई देशका जनताले यस परियोजनाबाट लाभ लिन सक्नेछन् ।’
ओबीओआर परियोजनामा नेपालको सहभागितासँगै चिनियाँ कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टी (एमाले) बीचको सम्बन्ध समेत मझबुत बनेको पत्रमा उल्लेख छ । पत्रमा मन्त्री झियाङले भनेका छन्, ‘दुई पार्टीबीचको सम्बन्ध विस्तार गर्न र साझेदारी बढाउन म कामरेडसँग मिलेर काम गर्न चाहन्छु, यसले वान बेल्ट वान रोड साझेदारीमा नेपाल र चीनको सम्बन्धलाई थप मजबुत बनाउने छ र नेपाल–चीन सम्बन्ध थप मजबुत हुनेछ ।’
उपमन्त्री झियाङले ओलीसँग अनुकूल समयमा भेट गर्ने समेत बताएका छन् । उनले लेखेको पत्रमा चीनले अगाडि सारेको वान बेल्ट वान रोड फोरम सफलतापूर्वक सम्पन्न भएको भन्दै फोरमबारे जानकारी गराएका छन् । ३१ वैशाख १ जेठमा बेइजिङमा सम्पन्न फोरममा २९ देशका सरकार प्रमुखसहित १ सय ३० देशबाट १५ सय बढी प्रतिनिधिको सहभागिता थियो । फोरमको अवसरमा ३० देशसहित २ सय ७० साझेदार संस्थाबीच ओबीओआर परियोजनामा हस्ताक्षर भएको पत्रमा उल्लेख छ ।
चीनले १ सय बिलियन आरएमबी रक सिल्क रोड फन्ड र चाइना डेभलपमेन्ट बैंकमा थप गर्ने प्रतिबद्धता बनाएको छ । नेपालका तर्फबाट फोरममा सहभागी हुन उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरा नेतृत्वमा सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कार्की, भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रमेश लेखकसहितको टोली सहभागी भएको थियो । ओबीओआर परियोजनाको फ्रेमवर्कको समझदारीपत्रमा नेपालले २९ वैशाखमा हस्ताक्षर गरेको थियो । समझदारीपत्रमा नेपालका तर्फबाट परराष्ट्र सचिव शंकरदास बैरागी र चीनका तर्फबाट नेपालका लागि चिनियाँ राजदूत यु होङले हस्ताक्षर गरेका थिए । चिनियाँ राष्ट्रपति सि जिङ पिङले सन् २०१३ मा ओबीओआर परियोजना अगाडि सारेका थिए ।अाजकाे राजधानी दैनिकबाट