२०८३ साउन ९ शनिबार

उदयपुर सिमेन्ट उद्योगमा दश वर्षयताकै बढी उत्पादन, यही वर्ष १७ करोड नाफा

ई आर्थिक    मंगलबार, जेष्ठ ९ २०७४
7K
Shares
उदयपुर सिमेन्ट उद्योगमा दश वर्षयताकै बढी उत्पादन, यही वर्ष १७ करोड नाफा

९ जेठ, उदयपुर । उदयपुर सिमेन्ट उद्योग लिमिटेडले चालू आवमा १० वर्षयताकै बढी सिमेन्ट उत्पादन गरेको छ । सरकारको पूर्ण स्वामित्वमा रहेको उद्योग बेलाबेलामा राजनीतिक उतारचढावका कारण बन्द हुने गरेको भएपनि चालू आव २०७३/०७४ मा दशकयताकै बढी सिमेन्ट उत्पादन गर्न सफल भएको छ । चालू आवको दुई महीना बाँकी छँदै ८५ हजार मेट्रिक टन क्लिङ्कर (सिमेन्ट) उत्पादन गरिसकेको छ ।

सिमेन्ट उत्पादन गर्नका लागि भुटान र भारतबाट कोइला आयत गर्दै आएको उद्योगका क्लिङ्कर उत्पादन प्रमुख सञ्जयकुमार लालले जानकारी दिए । करीब ८५ प्रतिशत चुनढुङ्गा, १४ प्रतिशत रातोमाटो र एक प्रतिशत फलाम मिलाएर क्लिङ्कर उत्पादन हुन्छ । आगामी आवमा एक लाख ५० हजार मेट्रिक टन क्लिङ्कर उत्पादन गर्ने गरी उद्योगले काम गरिरहेको लालको भनाइ छ । सिमेन्ट उत्पादनका लागि चाहिने चुनढुङ्गा १८ किलोमिटर टाढा रहेको सिन्धाली चुनढुङ्गा खानीबाट ल्याउने गरिएको छ ।

विसं २०४४ मा दर्ता भई रू. छ अर्ब ३० करोड लागतमा निर्माण भएको उक्त कारखाना स्थापनाका लागि जापान सरकारले आर्थिक र प्राविधिक सहयोग गरेको थियो । विसं २०४९ मङ्सिरबाट उत्पादन थालेको सो उद्योगले शुरुका दिनमा प्रतिदिन ८ सय टन क्लिङ्कर उत्पादन गर्दै आएको थियो । उद्योगका महाप्रवन्धक सुरेन्द्र पौडेल मन्त्रालयको नीतिगत सहयोग र उद्योगका कर्मचारीको कार्यदक्षताका कारण पछिल्लो समय सिमेन्ट उत्पादन बढेको बताउँछन् । ‘विगतमा मासिक रू ३० करोड घाटा व्यहोर्दै आएका थियौँ, चालु आवमा रू. १७ करोड आम्दानी गरिसकेका छौँ ।”

ढुवानीलगायत समस्याले अरु सिमेन्टको तुलनामा उदयपुर सिमेन्ट केही महँगो परेको पौडेलको भनाइ छ । उनले भने – ‘थोरै महँगो भए पनि हाम्रो सिमेण्ट बिक्रीमा समस्या छैन ।” उदयपुर सिमेन्ट दुई सय डिलरबाट काठमाडौँ र तराईका विभिन्न बजारमा दैनिक रुपमा बिक्री वितरण भइरहेको छ ।

विद्युत्भारका कारण उद्योगले लक्ष्यअनुसार उत्पादन गर्न सकेको छैन । अखिल नेपाल औद्योगिक मजदुर सङ्घका अध्यक्ष चक्रबहादुर उद्योग क्षेत्रमा काम गर्ने श्रमिकलाई औषधि उपचार, उपदान, पदोन्नतिलगायतका समस्या भएको बताउँछन् । १६ हजार टन उत्पादन क्षमता रहेको उद्योगले अहिले प्रतिदिन ६ सयदेखि ७ सय टन अर्थात् १२ हजारदेखि १४ हजार बोरासम्म सिमेन्ट उत्पादन गर्दै आइरहेको छ । ‘१० मिनेट बत्ती जाँदा रू. चार लाख बराबरको घाटा हुन्छ,” उनले भने । वैशाख महीनामा मात्र ८० पटक बत्ती जाँदा रू. तीन करोडको घाटा भएको छ ।

जापान सरकारले वनाएको मेसिन मर्मतका लागि रू. १५ करोडको बोलपत्र आह्वान गरेर उद्योगले काम अगाडि बढाइसकेको छ । नेपालको पुरानो सिमेन्ट उद्योगका रुपमा रहेको उक्त उद्योगमा अहिले ४ सय २५ कर्मचारी काम गर्दै आएका छन् ।

उद्योगलाई सहज ढङ्गले सञ्चालन गरी कसरी जनतालाई फाइदा दिन सकिन्छ भन्ने हिसाबले काम गरिरहेको उद्योग सञ्चालक समितिका अध्यक्ष अक्रुर खड्का बताउँछन् । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij