२४ वैशाख, काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडले थप नयाँ सेयर (एफपिओ) निष्काशन गर्ने भएको छ । कम्पनीले संस्थापक र साधारण सेयर अनुपात ७०:३० कायम गर्न एफपिओ जारी गर्न लागेको जनाएको छ ।
हाल कम्पनीमा नेपाल सरकार, नेपाल बैंक लिमिटेड र कर्मचारी सञ्चय कोषको गरी ८०.४६ प्रतिशत र सर्वसाधारणसँग १९.५४ प्रतिशत सेयर रहेको छ । कम्पनीले शुक्रबार तीन आर्थिक वर्षको २९ औ वार्षिक साधारणसभा एकैपटक सम्पन्न गर्यो ।
राष्ट्रिय बिमा समितिको निर्देशन अनुसार बिमा कम्पनीले २०७५ असार मसान्तभित्र चुक्ता पुंजी एक अर्ब पुर्याउनु पर्नेछ। जसकालागी कम्पनीले एक सय १४ दशमलव २२ प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय पारित गर्यो । साथमा, सो साधारणसभामार्फत एफपिओ निष्काशनको बाटो समेत खुला गर्यो । कम्पनीले बोनस सेयर वितरण गरेपछि एफपिओ निष्काशन गर्न विशेष साधारणसभा डाक्ने प्रस्ताव साधारणसभाले पारित गरेको हो ।
हाल राष्ट्रिय बीमा कम्पनीको चुक्तापुँजी १२ करोड ४४ लाख ३९ हजार पाँच सय रुपैंया रहेको छ । बोनस सेयर जारी गरेपछि कम्पनीको चुक्तापुँजी २६ करोड ६६ लाख ३९ हजार रुपैंया पुग्नेछ ।