२०८३ साउन ९ शनिबार

नेपालमा लगानीका लागि सिङ्गापुरलाई आग्रह

ई आर्थिक    बिहिबार, बैशाख २१ २०७४
4.4K
Shares
नेपालमा लगानीका लागि सिङ्गापुरलाई आग्रह

२१ वैशाख, काठमाडौँ । परराष्ट्रमन्त्री डा प्रकाशशरण महत र सिङ्गापुरका विदेश एवम् मानव संशाधन विकासमन्त्री जोसेफिन तेओबीच आज सिङ्गापुरमा द्विपक्षीय भेटवार्ता भएको छ ।

उहाँहरुबीचको भेटका क्रममा सिङ्गापुर र नेपालको आपसी सम्बन्ध र द्विपक्षीय हितका विविध विषयमा छलफल भयो । दुई देशबीचको कूटनीतिक सम्बन्ध विस्तार तथा लगानी प्रवद्र्धनका लागि द्विपक्षीय संयुक्त परामर्श संयन्त्र स्थापना गर्ने विषयमा सहमति भएको छ ।

नेपालमा लगानीका लागि मन्त्री डा महतले सिङ्गापुरका विदेशमन्त्रीसँग आग्रह गर्नुभएको थियो । त्यस क्रममा नेपालमा सिङ्गापुरले गर्ने लगानीका सम्भावनाहरु खोज्ने विषयमा सिङ्गापुर र नेपालका लगानी बोर्डको संयुक्त परामर्श बैठक गर्ने विषयमा सहमति भएको थियो ।

परराष्ट्र मन्त्री डा महतले लामो समयको राजनीतिक सङ्क्रमणको समाप्तिसँगै नेपाल शान्ति, स्थिरता र विकासको मार्गमा अघि बढेकाले नेपालमा लगानीको वातावरण निर्माण भएको भन्दै लगानीका लागि आग्रह गर्नुभयो ।

उहाँले नेपालमा गएको विनाशकारी भूकम्पपश्चात्को उद्धार, राहत र पुनःनिर्माणमा सिङ्गापुरबाट प्राप्त सहयोगका लागि सिङ्गापुर सरकार र त्यहाँका जनतालाई आभार व्यक्त गर्नुभयो ।

उक्त अवसरमा परराष्ट्रमन्त्री डा महतले नेपालको आर्थिक विकासमा सिङ्गापुरको सहयोगका सम्भावनाहरु औँल्याउँदै नेपालमा विषेश गरी जलस्रोत, पूर्वाधार विकास, पर्यटन तथा सूचना प्रविधिको क्षेत्रमा लगानी बढाउन अनुरोध गर्नुभयो ।

मन्त्री डा महतले सिङ्गापुरमा अध्ययन गर्न चाहने नेपाली विद्यार्थीलाई भिसालगायतका व्यवस्थाहरुमा थप सहजीकरणका लागि अनुरोध गर्नुभयो । सिङ्गापुरका विदेशमन्त्री तेओले यी विषयलाई सकारात्मक रुपमा लिनुभएको थियो ।

आजै बिहान मन्त्री डा महतले सिङ्गापुरस्थित गोर्खा कन्टिन्जेन्टको भ्रमण गरी उक्त कन्टिन्जेन्ट तथा त्यहाँ कार्यरत नेपालीहरुको बारेमा जानकारी लिनुभयो ।

मन्त्री डा महतले आजै साँझ नेपाली राजदूतावास, बैंकक तथा सिङ्गापुरस्थित अवैतनिक नेपाली वाणिज्य दूतावासद्वारा संयुक्त रुपमा आयोजना गरिएको नेपालमा व्यापार, पर्यटन तथा लगानी प्रवद्र्धन विषयक सम्मेलनलाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij