अञ्जन थापा (कुमार) नेपालको पर्यटन अभियानमा चर्चित नाम हो । वि.स.२०५४ सालबाट पर्यटक पथपर्दशकको रुपमा पर्यटन क्षेत्रमा प्रवेश गर्नुभएको उहाँ विभिन्न दर्जनको हाराहारीमा पर्यटन क्षेत्रसँग सम्बन्धित व्यवसायिक संघ-संस्थामा आवद्ध हुनुहुन्छ । उहाँसँग व्यवसायीका छाता संगठनका साथै सामाजिक संघ-संस्थामा समेत कार्य गरेको अनुभव छ । अहिले पनि सामाजिक संघ-संस्थामा उतिकै सक्रिय उहाँले आफ्नो पर्यटन व्यवसायलाई निकै सफलताका साथ फैलाउदै अगाडि बढाइरहनु भएको छ । थापाले हाल राजधानीको दवरबारमार्गमा चार तारे होटल उडल्याण्ड काठमाडौं, असाही ट्रेक्स एन्ड एक्सपेडिसन, हिमालयन ईन्टरनेशनल योगा एकेडेमी, होटल होली लज, ट्रस्ट एन्ड केयर मन्टेश्वरी स्कुल र अदृश्य फाउण्डेसन नेपाल संञ्चालन गर्दै आउनु भएको छ । उहाँले ब्युटिफुल काठमाडौं होटल निर्माण कार्य समेत गरिरहनुभएको छ । निजी व्यवसायको अलावा उहाँ लायन्स क्लवमा नेपाल टुरिजमको अध्यक्ष, राष्ट्रिय पर्यटन ब्यवसाय संघको सचिब तथा प्रबक्ता, ट्रेकिङ एजेन्सीज एसोसियसन अफ नेपाल (टान)को पूर्व कोषाध्यक्ष, पर्यटन सेवा संघको पूर्व अध्यक्ष हालको सल्लाहकार हुनुहुन्छ । हालै मात्र पर्यटन प्रबद्र्धनका लागि युरोप र अमेरिकाका बिभिन्न राज्यहरुमा भ्रमण सकेर नेपाल फर्किनु भएको युवा पर्यटन व्यवसायी थापासँग नेपालको समग्र पर्यटन क्षेत्रका बारेमा गरिएको कुराकानी :
नेपालको समग्र पर्यटन क्षेत्रको अवस्था कस्तो देख्नुभएको छ ?
भूकम्पपछि नेपालको पर्यटन क्षेत्र धेरै नै थलिएको अवस्थामा थियो । तर, अहिले भने यसले बिस्तारै गति लिदैछ । पहिले पर्यटन भन्ने बितिक्कै बिदेशी पर्यटकलाई मात्रै बुझिन्थ्यो । तर अहिले अन्तरिक पर्यटक बढ्न थालिरहेको छ । नेपालीमा घुम्ने संस्कृति बढ्दै गएको छ । बिभिन्न मुलुकहरु जस्तै अमेरिका, चीन, भारतलगायतका देशहरुमा करिब ५० प्रतिशत पर्यटन अन्तरिक पर्यटकले नै धानेको अवस्था छ । देश विदेश घुम्नु पर्छ, विकास र अन्य ज्ञानका कुराहरु बटुल्नु पर्छ भन्ने संस्कृति बढेको कारण आफ्नो हैसियत अनुसार देश विदेश घुम्ने प्रचलन बढेको छ । यस्तो गतिबिधिले पर्यटनलाई त सहयोग पुग्छ नै साथै यसले थुप्रै ज्ञानका कुराहरु सिक्ने अवसर दिन्छ ।
स्थानिय चुनाव हुन लागेको छ, यसले नेपालको पर्यटनलाई कुन बाटो लैजाला ?
चुनाव हुने नहुने अहिले पनि दोधारमा छ । मधेशी मोर्चा पर्टीलाई सहमतीमा ल्याएर चुनाव हुने भए यसले देशमा निकास पाउथ्यो । राजनीतिक दलहरुले कुनै अनावश्यक खिचातानी नगरी चुनाव भएको अवस्थामा देशमा पनि राजनीति स्थिरता भए धेरै लगानीहरु नेपालमा भित्रिन्थ्यो । मेरो हालैको विदेश भ्रमणमा मैले धेरै बिदेशीहरुसँग भेटेर कुराकारी गर्दा राजनीति अस्थिरताका कारण उनीहरु नेपालमा लगानी गरिहाल्न डराइरहेको स्थिति मैले पाए । देशमा यो चुनाव भएर राजनीति स्थिरता कायम हुने हो भने लगानीहरु थुप्रै आउछन । हामी जस्तो ब्यवसायीहरुले पनि काम गर्न सक्छौं । नेपाल बाहिर रहेका एनआरएनहरुले पनि नेपालमा लगानी लगाउन इच्छा देखाइरहनु भएको छ । त्यस कारण राजनीतिक अस्थिरता भैदिए देश आर्थिक समृद्धिको बाटोमा लाग्न सक्छ ।

नेपाल नयाँ सालको चरणमा छ । आउने नयाँ बर्ष २०७४ पर्यटन ब्यवसायीका लागि कत्तिको फलदायी होला भन्ने सोच्नु भएको छ ?
पछील्ला ५/६ बर्षयता नेपालमा घुमफिर गर्ने संस्कृति बढेको छ । नयाँ बर्ष मनाउन बिभिन्न नयाँ–नयाँ गन्तब्य खोज्दै जाने चलन पहिले थिएन । तर अहिले नयाँ बर्षलाई निकै नै रौनकका साथ मनाउने चलन बढेको छ । परिवार, साथीभाइमा जमघट गर्ने, नयाँ ठाउँमा गएर २/४ दिन रमाइलो गर्ने लगायतका बिभिन्न पर्यटकिय गतिविधि हुन थालेको छ । यस्ता गतिविधिले पनि पर्यटकीय क्षेत्रलाई स्थापित गराउन केही मद्दत नै पु-याउछ । त्यसैगरी आउने २०७४ साल पर्यटन व्यवसायीको लागि फलदायी नै हुने अपेक्षा म लगायत समग्र व्यवसायीहरुको आशा र विश्वास रहेको छ ।
लोडसेडिङको अन्त्यले पनि व्यवसायीलाई सहयोग पुगेको छ । पहिले १७/१८ घण्टा सम्म लोडसेडिङ हुँदा जेनेरेटर राखेर दिनहु तेलको समस्या झेल्नु पर्ने अवस्था थियो । जसबाट अहिले राहत मिलेको छ । यसको श्रेणी कुलमान घिसिङले गर्नु भएको काम प्रशंसा योग्य छ । एता नेपाल एयरलाइन्सले अन्तर्राष्ट्रिय उडानको लागि बोइङ प्लेन खरिद सम्झौता गरेको छ । जसमा एयरलाइन्सले बिभिन्न देशमा आफ्नो सञ्जाल फिजाउन सके हाम्रै राष्ट्रिय चिन्ह ध्वजाबाहकबाट धेरै पर्यटकहरु आउछन् । साथै ति ठाउँमा भएको नेपाली पनि त्यसबाट लाभान्वित हुनेछन् । सबै मिल्दै गएको छ र यो सालबाट पर्यटनमा राम्रै हुने विश्वास छ ।
यस्ता गतिविधिले पर्यटन ब्यवसायीलाई कत्तिको फाईदा पुगेको छ ?
नेपाली नयाँ बर्षको शुरुवात देखी नै पर्यटनको सिजन शुरु हुन्छ । त्यसैले पनि यो समय नेपालमा पर्यटकहरु धेरै भित्रिसकेका हुन्छन् । साथै दुरदराजमा हुने होटेल, रिसोर्टहरुमा नेपालीहरु गएर बस्ने र खाने संख्या उल्लेख्य रुपमा बढेको छ । जसले गर्दा पर्यटन क्षेत्रमा थप टेवा पुगेको छ ।
भर्खरै बिदेशमा सम्पन्न टुरिजम ट्रेड फेयरमा सहभागी भएर आउनु भएको छ । नेपाल प्रति बिदेशीको रेस्पोन्स कस्तो पाउनु भयो ?
नेपालको प्रचार प्रसारमा कमी छ । अन्तरराष्ट्रिय स्तरमा राम्रो प्रचार प्रसार नहुँदा धेरै बिदेशीहरुलाई अझै नेपालको बारेमा थाहा छैन । तर नेपाल घुमिसकेका बिदेशीहरुले भने नेपाल साह्रै सुन्दर छ, नेपालीहरु धेरै मिलनसार हुन्छन् भन्ने सन्देश गएको छ । उनिहरुको त्यो सन्देशले पनि बिदेशीहरु नेपाल घुम्न आउने गरेका छन् र नेपालीले गर्ने आतिथ्य सत्कारप्रति सम्पूर्ण विदेशी पर्यटकहरु नतमस्तक छन, मन्त्रमुग्ध छन् । तर त्यतिले मात्रै पुगेको छैन । हामीले अन्तर्राष्ट्रिय बजारमा प्रचारप्रसार गरी बढी भन्दा बढी विदेशी पर्यटक भित्र्याउन सक्छौ ।
युरोप र अमेरिकामा टुरिजम ट्रेड फेयर र आफ्नो ब्यवसायको प्रचारप्रसारको लागी म लगभक डेढ महिना बसे । क्यानडामा सम्पन्न टुरिजम फेयरमा मैले नेपाल प्रति बिदेशीको माया आथाहा रहेको पाएको छु । १५ बर्ष अगाडि नेपाल घुमेर गएका एक बिदेशीले त बृद्धा अवस्थाको कारण अब नेपाल जान नसक्ने भन्दै डाँकै छोडेर रुइन । त्यसैले धेरै यस्ता बिदेशीहरु छन् जसले नेपाललाई धेरै माया गर्छन् ।

नेपालको पर्यटनलाई अन्तर्राष्ट्रिय बजारमा पु-याउन नेपाल पर्यटन बोर्डले चर्चित अन्तर्राष्ट्रियस्तरका सञ्चार माध्यमसँग साझेदारी अघि बढाएको छ । नेपालमा विदेशी पर्यटक भित्र्याउन यो कत्तिको सहयोगी होला ?
अवश्य पनि यसले ठूलै संख्यामा बिदेशी पर्यटक नेपाल भित्रिनेमा म विश्वस्त छु । मैले पहिले देखि नै बिभिन्न कार्यक्रम तथा फोरमहरुमा यस बिषयमा चर्चा गर्दै आएको थिए जुन अहिले आएर पुरा भएको छ । बिबिसी, रोयटर्स, ट्रिप एडभाइजर लगायतका अन्तर्राष्ट्रियस्तरका सञ्चारमा यसरी प्रचार प्रसारको शुरुवात गर्नु ठूलो कुरा हो ।उहाँहरुले इण्डियाको आजतक र चाइनाको सिएनएन च्यानलमा पनि प्रचार गर्न काम अघी सारेको जानकारी दिनु भएको थियो । सिएनएन जस्तो अन्तर्राष्ट्रियस्तरका सञ्चारबाट नेपाल बुद्ध जन्मेको ठाउँ र सगरमाथाको देश भनेर प्रचार अघी बढाउन सकेको अवस्थामा नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन ठुलो सहयोग पुग्छ । निजी ब्यबसायले मात्रै ब्यक्तिगत प्रचार प्रसार गर्दा यतिसम्म पर्यटकहरु आए भने नेपाल पर्यटन बोर्डले यो कदम चाल्नुले अझ बढी पर्यटक भित्रिने छ । यसले पर्यटक व्यवसायीका साथै राज्यलाई नै फाइदा पुग्नेछ ।
केही वर्षयता नेपाल आएर विदेशीले गर्ने खर्चको तुलनामा नेपाली पर्यटकले विदेश भ्रमण (आउटबाउन्ड टुरिजम्) मा गर्ने खर्च ठूलो अन्तरले बढिरहेको तथ्यांक बाहिरिएको छ नि ?
यसलाई साकारात्मक नै बुझ्नु पर्छ । किनभने यो १०/१५ बर्षमा धेरै नेपालीहरुले बिदेश बसेर घुमेर आएका छन् । यसले गर्दा पनि उनीहरुलाई थाहा हुन्छ कि नेपाल र बिदेश कुन अवस्थामा छ भन्ने थाहा भएको छ । नेपालमा कुन प्रकारको नयाँ प्रविधि र व्यवसायको खाँचो छ भन्ने उनीहरुले विदेशबाटै बुझेका हुन्छन् । र त्यसलाई भित्र्याएका पनि प्रसस्तै उदाहरणहरु भेटिन्छन् । यसरी नै नयाँ सोच र सिर्जना जन्मिने हो र परिवर्तन पनि त्यसैले नै ल्याउँछ ।
यसले गर्दा नेपाली पैसा विदेश गयो ? यसरी तुलना गर्दा नेपाललाई नै घाटा भईराखेको छ हैन र ?
हैन अर्थतन्त्र भनेको चलायमान हुनुपर्छ । अर्थलाई फ्रिज बनाएर राख्दा त्यस्ले रिटर्न दिदैइन । बिदेश घुम्न जान सबैलाई स्वतन्त्र छ । तर यसले नेपाली पैसा धेरै नै हदसम्म बहिरीदै छ भने त्यसमा सरकारले बिचार पु¥याउनु पर्छ । नेपाल मै त्यस किसिमको पर्यटन बिकास गर्नुपर्यो । यसले नेपालको रकम विदेश जानबाट रोक्छ ।
अबको सिजनप्रति यहाँको अपेक्षा कस्तो रहेको छ ?
अन्य गन्तब्यहरु भन्दा बिदेशी पर्यटकहरुका लागी नेपाल निकै नै सस्तो गन्तब्य हो । यो कारणले गर्दा पनि अबको प्रचार-प्रसारले यो सिजन पहिलेको तुलनामा धेरै राम्रो हुने अपेक्षा छ ।