२०८३ साउन ९ शनिबार

भाडा वृद्धिको विरोधमा यान्त्रिकपुलमा तालाबन्दी

ई आर्थिक    शनिबार, चैत्र ५ २०७३
3.2K
Shares
भाडा वृद्धिको विरोधमा यान्त्रिकपुलमा तालाबन्दी

५ चैत, फलेवास (पर्वत) । पर्वतको कुस्मादेखि बागलुङको बलेवा जोड्ने केबलकार मोडलको यान्त्रिक पुलको भाडा वृद्धि गरिएको विरोधमा स्थानीयले तालाबन्दी गरेपछि एक सातादेखि आवतजावत ठप्प बनेको छ ।

कम्पनीले स्थानीयवासीसँग समन्वय नै नगरी मनोमानी ढङ्गले भाडा वृद्धि गरेको भन्दै बलेवावासीले गत चैत १ गते तालाबन्दी गरेका हुन् । बलेवातर्फको भागमा रहेको कार्यालयमा तालाबन्दी गरेपछि सेवा ठप्प भएको यान्त्रिक पुल लिमिटेडले जनाएको छ ।

यान्त्रिक पुलको भाडादर अस्वभाविक र अवैज्ञानिक रुपले बढाएको भन्दै स्थानीय महिला समूहका सदस्यले तालाबन्दी गरेका हुन् । विगत पाँच वर्षदेखि सञ्चालित यान्त्रिक पुलले एकैपटक ३३ प्रतिशतभन्दा बढी भाडा बढाएको थियो ।

स्थानीयका लागि साविकका रु ७५ रहेको रु १०० र अन्यत्रका लागि रु १०० रहेकामा रु १२५ लिने गरी भाडावृद्धि गरेको थियो । व्यवस्थापन समितिले पुरानै भाडादर कायम गर्नुपर्ने महिला संजाल बलेवाका अध्यक्ष जमुना श्रेष्ठले बताउनुभयो । मूल्य समायोजन गरी पुरानै भाडादर कायम नगरेसम्म ताला नखोल्ने उहाँले जानकारी दिनुभयो ।

यसैगरी मासिक रुपमा आउने व्यक्तिका लागि रु दुई हजार भाडा रहेकामा अहिले बढाएर रु दुई हजार ५०० पु¥याइएको छ । भने रु एक हजार ८०० मासिक तिरेर यात्रा गर्ने विद्यार्थीहरुको भाडा बढाएर अहिले रु २ हजार पु¥याइएको यान्त्रिक पुलका कार्यालय प्रमुख चिरञ्जीवी शर्माले बताउनुभयो ।

पुल व्यवस्थापन समितिका अध्यक्ष होमनारायण श्रेष्ठका अनुसार सेयर सदस्यले १० प्रतिशतभन्दा लाभांश माग गरेपछि भाडा बढाइएको हो । कर्मचारीको तलब वृद्धि तथा समय समयमा गर्नुपर्ने मर्मतमा धेरै खर्च हुन थालेपछि भाडा बढाउनुपरेको श्रेष्ठले जानकारी दिनुभयो ।

यान्त्रिक पुल बन्द हुँदा दक्षिणी पर्वतका डेढ दर्जन गाविसका बासिन्दाहरु सास्ती खेप्न बाध्य भएका छन् । उनीहरुले पाँच मिनेटको दूरीमा आइने कुश्माबजार दैनिक डेढ घण्टा घुमेर पैदल यात्रा गरी आउजाउ गर्न बाध्य भएको गुनासो गरेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij