३ चैत, काठमाडौँ । कास्कीको हेम्जामा प्रधान कार्यालय रहेको एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड पाँचौं वर्षमा प्रवेश गरेको छ । सो अवसरमा वित्तीय संस्थाको केन्द्रीय कार्यालय र हाल सञ्चालनमा रहेका ५० वटा शाखा कार्यालयहरूमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न सहयोग गरी वार्षिकोत्सव मनाएको छ ।
सामुदायिक विद्यालयमा स्टेसनरी वितरण, वृद्धाश्रममा वृद्ध–वृद्धाहरूलाई फलफूल तथा खाद्यन्न वितरण, मठ मन्दिर सरसफाइ, अन्तरविद्यालय हाजिरी जवाफ प्रतियोगिता, फुटबल प्रतियोगिता, जलपान समारोहलगायतका कार्यक्रम गरी चौथो वार्षिक उत्सव मनाएको संस्थाका प्रमुख कार्यकारी अधिकृत तीर्थरत्न कोनाजोले बताउनुभयो ।

वार्षिक उत्सव मनाउने क्रममा वित्तीय संस्थाले विहान पोखराको लेकसाइडस्थित केदारेश्वर मन्दिर परिसरमा सरसफाइ गरी कार्यक्रमको सुरुवात गरेको थियो । मन्दिर सरसफाइपश्चात् प्रभातफेरी गरी पोखराको सीतापाइलास्थित वृद्धाश्रममा एक कार्यक्रमको आयोजना गरी ७२ जना वृद्धालाई फलफूल तथा जुस वितरण गरेको बताइएको छ ।
त्यस्तै हेमजास्थित गौरीशंकर प्राथमिक विद्यालयका ५० जना विद्यार्थीलाई एक कार्यक्रमको आयोजना गरी कापी कलम वितरण गरेको थियो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक रामबहादुर कार्कीले वित्तीय संस्थाले वितरण गरेको शैक्षिक सामग्रीले विद्यार्थीहरूलाई अध्ययनका लागि सहज भएको बताउनुभयो ।

०६९ चैत महिनाबाट विधिवत् सुरुवात गरेको वित्तीय संस्थाले स्थापनाको चौथो वर्षको अवधिमा देशका २५ वटा हिमाली तथा पहाडी जिल्लाहरूमा ५० वटा शाखा कार्यालय स्थापना गरी ५२ हजार सदस्यमा १ अर्ब ४६ करोड कर्जा लगानी गरेको छ भने ३१ करोड बचत संकलन गरेको छ ।
निकट भविष्यमै राष्ट्रियस्तरको लघुवित्त संस्थामा स्तरोन्नति भई देशका सबै ७५ जिल्लामा लघुवित्त बैंकिङ कार्यक्रम पुर्याउने वित्तीय संस्थाको योजना रहेको बताइएको छ ।