२०८३ साउन ९ शनिबार

तराईमा आज होली मनाइँदै

ई आर्थिक    सोमबार, फाल्गुन ३० २०७३
3.5K
Shares
तराईमा आज होली मनाइँदै

३० फागुन, विराटनगर । हिन्दू धर्मालम्बीहरुको महान् पर्व होली आज बिहानैदेखि तराईका पूर्वी क्षेत्रमा उत्साहका साथ मनाइँदैछ ।

सामाजिक सद्भाव अभिवृद्धि गर्नु, सबै खुसियालीपूर्वक होली मनाउनु, विगतका वैमनस्यतालाई बिर्सेर नयाँ सम्बन्ध बनाउनु नै यस पर्वको मुख्य उद्देश्य रहेको छ ।

आज बिहानैदेखि मोरङको ग्रामीण क्षेत्रका साथै विराटनगर बजारमा धुमधामका साथ विभिन्न रङका साथ पर्व मनाइएको छ ।

विराटनगरबजारका मुख्य तथा सहायक सडकहरु युवायुवतीका साथै सर्वसाधारण आ–आफ्ना चिरपरिचितसँग एकापसमा अबिर दलेर होली खेलिरहेका छन् ।

छठ पर्वमा ठेकुवाको महत्व हुन्छ भने होली पर्वमा मालपुवा र दालपुरीको विशेष महत्व हुन्छ । होली पर्व मनाउनेहरु अनिवार्य रुपमा मालपुवा पकाएर घरको देउतालाई चढाउने गर्छन् ।

यस पर्वमा अधिकांश व्यक्तिहरु मासु पकाएर खाने गर्छन् । सो कारणले विराटनगर विभिन्न टोलका साथै चोकचोकका मासुपसलमा उपभोक्ताको भिड लागेको छ ।

पहाडी जिल्लामा फागुपूर्णिमाका दिन अर्थात् हिजो होली खेलेर होलीका दहन गरी पर्व सम्पन्न गर्छन् भने तराईका जिल्लामा फागुपूर्णिमाका दिन अर्थात् बेलुकीको समयमा होलीका दहन गरी बिहान होली पर्व मनाउने गरिएकाले आज यो पर्व मनाइएको हो ।

यस पर्वका अवसरमा अप्रिय घटना हुन नदिन व्यापक रुपमा प्रहरी परिचालन गर्नुका साथै सादा पोसाकमा पनि प्रहरी खटाइएको मोरङका प्रहरी उपरीक्षक सन्दीप भण्डारीले जानकारी दिनुभयो ।

मोरङमा अहिले मध्याह्नसम्म कुनै अप्रिय घटना नभएको जिल्ला प्रहरी कार्यालय, मोरङले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij