२०८३ साउन ९ शनिबार

काठमाडौंका विद्यालयमा विद्यार्थीको खडेरी, ८५ विद्यालयमा सयभन्दा कम विद्यार्थी

ई आर्थिक    आइतबार, फाल्गुन २९ २०७३
4.2K
Shares
काठमाडौंका विद्यालयमा विद्यार्थीको खडेरी, ८५ विद्यालयमा सयभन्दा कम विद्यार्थी

२९ फागुन, काठमाडौं । सबैभन्दा धेरै विद्यालय रहेको काठमाडौंमा सामुदायिक र निजी गरी सयौँ विद्यालयमा विद्यार्थी अभाव हुन थालेको छ । सामुदायिक विद्यालयमा देशभर विद्यार्थी संख्या घट्दै गए पनि काठमाडौंमा निजी विद्यालयमा समेत समस्या देखिएको हो ।

जिल्ला शिक्षा अधिकारी जयप्रसाद आचार्यका अनुसार काठमाडौंका २४ सामुदायिक विद्यालयमा २५ भन्दा कम विद्यार्थी छन् । सामुदायिकको भन्दा झन्डै तेब्बर ६२ निजी विद्यालयमा २५ भन्दा कम विद्यार्थी छन् । आचार्यले भने, ‘विद्यार्थी अभावले सामुदायिकभन्दा बढी निजी विद्यालय बन्द हुने अवस्थामा छन् ।’ आजको नयाँ पत्रिका दैनिकबाट

नियमअनुसार उपत्यका र तराईमा एक शिक्षकबरबर प्राथमिक तहमा ५० विद्यार्थी हुनुपर्छ । तर, कतिपय विद्यालयमा विद्यार्थीभन्दा शिक्षक धेरै छन् । माथिल्लो तहमा भने उपत्यकाका सामुदायिक विद्यालयमा चाप छ ।

सामुदायिकभन्दा निजीमा समस्या

काठमाडौंमा दुई सय ४५ सामुदायिक र आठ सय आठ निजी विद्यालय छन् । ८५ विद्यालयमा सय पनि विद्यार्थी छैनन् । काठमाडौंका आठ विद्यालयमा हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।

निजी विद्यालय सामुदायिकभन्दा बढी समस्याग्रस्त छन् । सयभन्दा कम विद्यार्थी हुने विद्यालय संख्या एक सय ८० छ । काठमाडौंका १९ निजी विद्यालयमा मात्र हजारभन्दा बढी विद्यार्थी रहेका छन् ।

सत्तल र गुठीमा चलेका विद्यालय समस्यामा

काठमाडौंमा पुराना पार्टी, सत्तल, गुठीमा सञ्चालित विद्यालय बढी समस्यामा छन् । जमिनमा विद्यालयको स्वामित्व नरहेका ती विद्यालय भूकम्पपछि झनै समस्यामा परेको जिशिअ जयप्रसाद आचार्यले बताए । विद्यार्थी संख्या कम भएका विद्यालय प्राथमिक तहका रहेको आचार्यको भनाइ छ । उपत्यकाका सहरी क्षेत्रका प्राथमिक तहका विद्यालयमा विद्यार्थी अभाव छ ।

सामुदायिक विद्यालयका प्राथमिक तहमा विद्यार्थी आकर्षण घटेको छ । प्राथमिक तहमा अंग्रेजी माध्यममा मोह बढेको तथा प्रतिष्ठाको विषयसमेत बनेकाले समस्या भएको हो । निजीमा तल्लो तहमा अंग्रेजीको आधार राम्रो बनाएर माथिल्लो तहमा सामुदायिकमा भर्ना हुने प्रवृत्तिसमेत छ । सामुदायिकमा शिक्षकले पठनपाठनमा मिहिनेत कम गर्नु, बालमैत्री वातावरण कम हुनु र भौतिक वातावरणसमेत नहुने भएकाले विद्यार्थी कम भएको काठमाडौंका जिशिअ जयप्रसाद आचार्यले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij