२०८३ साउन ९ शनिबार

कञ्चनपुर घटनामा भारतले माफी माग्नुपर्छ : अध्यक्ष ओली

ई आर्थिक    शनिबार, फाल्गुन २८ २०७३
2.8K
Shares
कञ्चनपुर घटनामा भारतले माफी माग्नुपर्छ : अध्यक्ष ओली

२८ फागुन, चितवन । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कञ्चनपुर घटनामा भारतले माफी माग्नुपर्ने बताउनुभएको छ ।

पार्टीको मेची–महाकाली राष्ट्रिय अभियानअन्तर्गत आज नारायणगढमा आयोजित आमसभालाई सम्बोधन गर्दै उहाँले स्थानीय तवरमा वार्ता नगरी केन्द्रीय तवरमा वार्ता गरेर मृतक परिवारलाई क्षतिपूर्ति भराउनुपर्ने पनि उहाँले बताउनुभयो ।

अध्यक्ष ओलीले भन्नुभयो–“अब यस्तो हुँदैन भनेर भारतलाई माफी मगाउनुपर्छ । भारतको बलियो छु, भन्ने घमण्ड हो । अर्काको सिमानामा पस्न पाइँदैन । अन्तर्राष्ट्रिय कानुन भारतले पनि मान्नुपर्छ ।”

खाली हात आफ्नो सिमाना रक्षा गर्दा गोविन्द गौतम देशको पछिल्लो सहिद भएको भन्दै उहाँले सच्चा नेपाली देशको रक्षार्थ ज्यानको बलिदानी दिन तयार रहेको बताउनुभयो ।

सप्तरी घटनाका सन्दर्भमा कडा टिप्पणी गर्दै उहाँले सरकारले हिंसालाई प्रश्रय दिने काम गरेको आरोप लगाउनुभयो । आपराधिक तत्वहरुलाई सरकारले हिंसा नगर भन्न नसकेको भन्दै उहाँले भन्नुभयो – “हामी हिंसामा जाँदैनौँ, तर शान्तिपूर्ण कार्यक्रम रोक्न खोज्यो भने त्यसको परिणाम चर्काे हुन्छ भन्न चाहन्छौँ ।”

उहाँले थप्नुभयो – “सबैले बुझे हुन्छ, एमाले आफ्नो अभियानमा दृढ छ । एमाले मर्न परे मरौँला तर यो देश बनाएर छाड्छौँ भनेर हिँडिरहेका छौँ ।” यो देशलाई कसैको उपनिवेश हुन एमालेले नदिने भन्दै उहाँले हाम्रा सन्तानलाई पराधीन देश होइन, स्वाधीन र समृद्धि देश जिम्मा लगाउँछौँ भन्नुभयो ।

सोही सभालाई सम्बोधन गर्दै एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले सप्तरीमा पार्टीको नेतृत्व पङ्क्ति एउटै चिहानमा समाप्त पार्ने कोसिस भएको भन्दै एमालेकै संयमताका कारणले थप दुर्घटना नभएको बताउनुभयो ।

एमालेको उद्देश्य विध्वंसकारी नभएर मधेसमा फैलाइएको भ्रम चिर्नेमात्रै भएको बताउनुभयो । सप्तरी घटना देश टुक्राउन चाहनेहरुले गरेको उहाँले बताउनुभयो । सो घटनाको छानबिन हुनुपर्ने पनि उहाँले बताउनुभयो ।

मधेसी, जनजाति, थारु, मुस्लिम, महिला, दलित, हिमाली, पहाडी तराई सबैलाई एमाले विरोधी रहेको भ्रम फैलाइएको भन्दै उहाँले त्यसैलाई चिर्नका लागि मेची महाकाली राष्ट्रिय अभियान सञ्चालन गरिएको बताउनुभयो ।

नेपालको स्वाधीनताको रक्षाका निम्ति नेकपा (एमाले) कहिल्यै पछि नपर्ने भन्दै उहाँले पार्टीको गतिविधिले जनतालाई छर्लङ्ग पारेको बताउनुभयो । उहाँले भन्नुभयो – “नेकपा (एमाले) त्यसको रक्षा गर्ने सवालमा अरुको मुख ताक्दैन, अग्रपङ्क्तिमा अगाडि बढ्छ ।”

निर्वाचन गर्न नसक्ने भए यो सरकारलाई कुर्चीमा बस्ने अधिकार नभएको बताउँदै उहाँले भन्नुभयो – “सरकारमा जाने रहर नेकपा (एमाले)लाई छैन । निर्वाचनपछि एमालेले बहुमत प्राप्त गरेर आफैँ जान्छ, तर निर्वाचन नसके सरकारलाई कुर्चीमा बस्ने अधिकार छैन ।”

संविधान कार्यान्वयन नभए प्रतिगमनले टाउको उठाउने भन्दै उहाँले अहिलेसम्मको उपलब्धिलाई खेर जान दिन नहुने बताउनुभयो ।

एमालेका उपाध्यक्ष वामदेव गौतमले अहिलेको संविधानले नेपाली जनतामात्रै मालिक बनाएको बताउनुभयो । उहाँले नीति र बजेट पेस गरेपछि सरकार गिराउने कार्य कुनै पनि देशमा नहुने भए पनि नेपालमा भएको भन्दै स्थायी सरकारले मात्र विकास गर्न सक्ने बताउनुभयो ।

कार्यक्रममा स्थायी समिति सदस्य सुरेन्द्र पाण्डे, केन्द्रीय अनुशासन आयोगका सदस्य लालमणि चौधरी, जिल्ला इन्चार्ज कृष्ण खनाल सचिव पार्वती रावललगायतले बोल्नुभएको थियो ।

सो अवसरमा नेकपा (एमाले)मा रहेर महत्वपूर्ण योगदान पु¥याउनुभएका र हाल अस्वस्थ रहनुभएका जागृतप्रसाद भेटवाललाई अभिनन्दन गरिएको थियो ।

अभियान आजै मकवानपुरबाट चितवन प्रवेश गरेको हो । चितवनको सीमा लोथरमा अभियानका सहभागीलाई स्वागत गरेर गाउँगाउँबाट राजमार्गमा आएका एमाले कार्यकर्ताहरु समावेश भई -याली कार्यक्रमस्थल पुगेको थियो । अभियान आजै नवलपरासीतर्फ प्रस्थान गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij