२०८३ भाद्र २७ शनिबार

कञ्चनपुर घटनाप्रति सरकारको विरोध, दलहरूकाे कडा अापति

ई आर्थिक    शुक्रबार, फाल्गुन २७ २०७३
12.1K
Shares
कञ्चनपुर घटनाप्रति सरकारको विरोध, दलहरूकाे कडा अापति

काठमाडौँ, २६ फागुन । सरकारले भारतीय सुरक्षाकर्मीले गोली प्रहार गर्दा निर्दोष नेपाली नागरिकको ज्यान गएको घटनाप्रति स्तब्ध भएको जनाएको छ ।

गृह मन्त्रालयले आज साँझ विज्ञप्तिमार्फत नेपाल भारतबीच सहज आवागमनका लागि पूर्व सहमतिअनुरुप निर्मित कल्भर्ट सरोकार भएकासँग कुनै छलफल संवाद नगरी भारतीय पक्षले एकपक्षीय रुपमा भत्काएपछि त्यसको विरोधमा उत्रिएका नेपालीलाई गोली प्रहार भएको घटना अत्यन्त दुःखदायी र निन्दनीय रहेको जनाएको छ ।

मन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थीका अनुसार भारतका सीमा रक्षकले आवेगमा प्रहार गरेको गोली लागेर घाइते भएका गोविन्द गौतमको उपचारका लागि धनगढी लैजाँदै गर्दा बाटामा नै निधन भएको थियो । मन्त्रालयले अनपेक्षित घटनाबाट ज्यान गुमाउनुभएका गौतमको आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ ।

स्थानीय जनसमुदायलाई संयमित बनी धैर्यधारण गर्न अनुरोध गर्दै मन्त्रालयले सो विषयमा कूटनीतिक तवरबाटै सबै समस्याको समाधान खोज्न सरकार प्रतिबद्ध रहेको जनाएको छ ।

पुनर्वास नगरपालिका–८ आनन्दनगर नजिक नेपाल–भारत सिमानामा दुई देशका स्थानीय अधिकारीबीच यही फागुन १० गते भएको सहमतिअनुसार नगरपालिकाले कच्ची कल्भर्ट बनाएको थियो । उक्त कल्भर्टलाई बुधबार भारतीय पक्षले भत्काएका विषयमा आज त्यसको स्वतःस्फुर्त विरोध भएको थियो । दुवै पक्षबीच भएको विवादमा भारतीय सशस्त्र सीमा सुरक्षा बलले एक्कासि फायर गरेको जनाइएको छ ।
यसैगरी परराष्ट्र मन्त्रालयले भारतीय सुरक्षाकर्मीको गोली प्रहारबाट नेपाली नागरिक गौतमको ज्यान गएकामा दुःख व्यक्त गर्दै घटनाको भत्र्सना गरेको छ । मन्त्रालयले विज्ञप्ति प्रकाशन गरी उक्त घटनाका सम्बन्धमा अत्यन्तै गम्भीरताका साथ कूटनीतिक पहलबाट समस्याको समाधान गर्न भारत सरकारसमक्ष आग्रह गरिएको जनाएको छ ।

मन्त्रालयले दोषीमाथि कारबाहीका लागि समेत आग्रह गरेको जानकारी गराउँदै सीमा क्षेत्रमा उत्पन्न परिस्थितिलाई सामान्य बनाउनसमेत अनुरोध गरेकोे छ ।

यसैगरी पाली काँगे्रसका सभापति शेरबहादुर देउवाले कञ्चनपुरको नेपाल–भारत सिमानामा भारतीय सुरक्षाकर्मीको गोली प्रहारबाट स्थानीय नागरिकको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ ।

पूर्वप्रधानमन्त्री देउवाले आज विज्ञप्तिमार्फत स्थानीय आनन्द बजारमा भारतीय पक्षले चलाएको गोली लागी गोविन्द गौतमको मृत्यु भएको घटनामा दुःख व्यक्त गर्दै भन्नुभएको छ, “नेपाल–भारत दुवै देशका स्थानीय अधिकारीबीच गत फागुन ७ गते भएको सहमतिअनुसार पुनर्वास नगरपालिकाले निर्माण गरेको कल्भर्ट भारतीय पक्षले भत्काएपछि उत्पन्न विवादमा गोली प्रहार हुनु अत्यन्त दुःखद, खेदजनक र दुर्भाग्यपूर्ण घटनाको रुपमा मैले लिएको छु ।”

एक स्वतन्त्र र सार्वभौमसत्तासम्पन्न मुलुक नेपालको नागरिक भारतीय पक्षको गोली प्रहारबाट मारिनु अत्यन्त गम्भीर घटना भएको उहाँको भनाइ छ । सो घटनाका सम्बन्धमा भारतको उच्च कूटनीतिक तहमा पहल गरेर घटनाको यथार्थ छानबिन गरी दोषीमाथि कारबाही अगाडि बढाउन, मृतकको परिवारलाई क्षतिपूर्ति दिन, घाइतेको तत्काल निःशुल्क उपचारको व्यवस्था गर्नाका साथै नागरिकको जिउधनको सुरक्षा गर्नेलगायत सबै दायित्व पूरा गर्न उहाँले सरकारसँग माग गर्नुभएको छ ।

यस्तै नेकपा (माओवादी केन्द्र)का प्रदेश नं ७ का इन्चार्ज लेखराज भट्टले अन्तर्राष्ट्रिय सीमामा रहेका स्तम्भका विषयमा दुई देशका उच्च अधिकारीबीच छलफलका माध्यमबाट समाधान खोज्न सकिने अवस्थामा सीमा क्षेत्रभन्दा आठ सय मिभित्र छिरेर भारतीय सीमा सुरक्षा बलले गोली प्रहार गरी नेपालीको ज्यान लिने कार्य अन्तर्राष्ट्रिय कानुन विपरीत रहेको बताउनुभएको छ ।

“नेकपा (माओवादी) केन्द्रका एरिया समिति सदस्यसमेत रहनु भएका गौतमको मृत्युप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ”,माओवादी केन्द्र प्रदेश नं ७ ले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “विवादित सीमा क्षेत्रमा ह्युमपाइप राखी अस्थायी समाधान खोज्ने दुई देशका अधिकारीबीच यसअघि सहमति भइसकेको अवस्थामा भारतीय पक्षबाट भएको दमनले दुई देशको सम्बन्धमा समेत नकारात्मक असर परेको छ ।”

“घटनामा ज्यान गुमाएका गौतमलाई सहिद घोषणा गरी परिवारजनलाई आवश्यक क्षतिपूर्तिसहित आश्रित बालबालिकाको अध्ययन अध्ययापनका लागि सरकारसँग माग गर्दछौँ” विज्ञप्तिमा भनिएको छ । घटनाको सत्यतथ्य पत्ता लगाई दोषीमाथि कारबाही तथा सीमा स्तम्भ यकिन गर्न दुवै देशका प्रतिनिधि रहने गरी यथाशीघ्र छानबिन समिति गठन गर्नसमेत माओवादी केन्द्रले माग गरेको छ ।

कञ्चनपुरको आनन्द बजारमा भारतीय सीमा सुरक्षा बलले नेपाली नागरिकको हत्या गरेको जनाउँदै नेकपा (माओवादी केन्द्र) को सहायक सङ्गठन वाइसिएलले विरोध गरेको छ ।

वाइसिएलका अध्यक्ष नेपबहादुर कँुवरले आज साँझ विज्ञप्ति प्रकाशन गरी नेपाली भूमिमा नै प्रवेश गरेर नेपाली नागरिकको हत्या गर्नु जघन्य अपराध भएको उल्लेख गर्नुभएको छ । वाइसिएलले मृतकको परिवारप्रति समवेदना प्रकट गर्दै कूटनीतिक पहलमार्फत दोषीलाई कारबाही गर्न र नेपाली सुरक्षाकर्मीमार्फत स्थानीय नागरिक तथा नेपाली भूभागको सुरक्षा गर्न सरकारसँग माग गरेको छ ।

त्यस्तै नयाँ शक्ति पार्टीका प्रवक्ता खिमलाल देवकोटा र अनेरास्ववियु (क्रान्तिकारी) का अध्यक्ष नरेन्द्र न्यौपानेले विज्ञप्तिमार्फत सीमा क्षेत्रमा भएको उक्त घटनाको सत्यतथ्य सार्वजनिक गर्न र दोषीमाथि कारबाही गर्न माग गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij