काठमाडाैं, २६ फागुन । नेपालमा यतिखेर थरिथरिका माैसम देखिएकाे छ । राजधानीमा विहान छिटफुट पानी परर्याे भने तरार्इमा चर्काे गर्मी रहेकाे छ ।
उता पहाडी जिल्ला साेलुखुम्बुको खुम्बु क्षेत्रमा पर्ने नाम्चे, खुम्जुङ र चौँरीखर्क गाविसमा हिमपात भएको भइरहेकाे छ । प्रायः हिउँ कम पर्ने फागुनको अन्तिम साता आज दिउँसोदेखि हिमपात भइरहेको स्थानीयवासी छोटी शेर्पाले जानकारी दिनुभयो । हिउँले नाम्चे, खुम्जुङ र चौँरीखर्क गाविसका बस्ती सेताम्मे भएका छन् । हिउँ परेपछि खुम्बुमा रहेका पर्यटक पनि हिउँ खेलेर रमाइरहेका छन् ।
हिमाल आरोहणको तथा दृश्यावलोकनका लागि खुम्बुमा पर्यटक आउने मौसम सुरु भएकाले अहिले त्यस क्षेत्रमा पर्यटकको उपस्थिति बाक्लिन थालेको छ । गर्मी बढिसकेका बेला हिउँ पर्दा बस्तीसँगै आसपासका डाँडापाखासमेत सेताम्मे भएका छन् । हिउँ परेपनि चिसो भने छैन ।
त्यसैगरी मनाङमा पनि अहिले हिमपात भइरहेको छ । नेपालकै महत्वपूर्ण पर्यटक मार्ग अन्नपूर्ण पदमार्गमा पर्ने मनाङ जिल्लामा अझै चिसो र जीवन कष्टकर बनेको छ ।
मनाङ जिल्लाको मनाङ गाउँ यतिखेर पूरै हिउँले सेताम्मे भएको छ । वसन्त ऋतु विस्तारै बढ्दै गइरहे पनि मङ्गलबारदेखि परेको हिउँले यहाँको जनजीवनमा असर परेको छ । हिमपातसँगै पानी पर्ने सम्भावनासमेत बढेको छ । हिमपातसँगै परेको पानीले झन् मनाङवासीका साथै अन्नपूर्ण पदमार्गमा बढी असर गरेको छ ।
बाजुरामा बुधबार रातिको मौसम बदलिएसँगै चिसो बढेकाले यहाँको एघार गाविसमा हिमपात भएको छ । मौसम परिवर्तन र वर्षात् सुरु भएपछि जिल्लाको उत्तरी भेगमा हिमपात सुरु भएको विकट गाविस बिच्छ्याका धनलाल सुनारले बताउनुभयो ।
उहाँका अनुसार हिमपातका कारण उत्तरी भेगका विद्यालयसमेत बन्द भएको र स्थानीय बासिन्दालाई आवतजावत गर्न पनि समस्या भएको छ । मार्तडी–कोल्टी सडकखण्डमा भारी हिमपातसंगै वर्षा भएकाले कोल्टीसम्म चल्ने सवारी साधनसमेत ठप्प भएका छन् ।
हिमपात र पानी परेकाले स्थानीयवासीलाई दैनिक कामकाजमा समस्या भएको छ । जिल्लाका बिच्छ्या, रुगिन, गोत्री, साप्पाटालगायतका दहकोट मानाकोट आटिचौर गाविसमासमेत प्रभावित भएको त्यहाँका बासिन्दाले बताएका छन् ।
हिमपातका कारण जिल्लाका बडिमालिका, बूढीनन्दा, कालाजग्रालगायतका पर्यटकीय सम्भावना बोकेका डाँडाहरु सेताम्मे भएका छन् ।