२०८३ साउन ९ शनिबार

आज पनि सप्तरी बन्द, जनजीवन प्रभावित

ई आर्थिक    बुधबार, फाल्गुन २५ २०७३
3.6K
Shares
आज पनि सप्तरी बन्द, जनजीवन प्रभावित

२४ फागुन, राजविराज (सप्तरी) । प्रहरीको गोली लागेर मधेसी मोर्चा कार्यकर्ताको मृत्यु भएको विरोधमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सप्तरीले अनिश्चितकालीन आह्वान गरेको बन्द कार्यक्रमअन्तर्गत सप्तरीको जनजीवन आज पनि प्रभावित रहेको छ ।

बन्दका कारण सप्तरीमा यातायात, कलकारखाना, उद्योग, शैक्षिक संस्था पनि बन्द भएको छ । बन्द सफल गराउन आक्रोशित मधेसी मोर्चा कार्यकर्ता आज बिहानैदेखि सप्तरी सदरमुकाम राजविराजलगायत पूर्व–पश्चिम राजमार्गको भारदह, कञ्चनपुर, रुपनी, कल्याणपुर लगायतका बजार क्षेत्रमा बन्द गराएका छन् ।

नेकपा (एमाले)को मेची–महाकाली अभियानअन्तर्गत सप्तरीको राजविराजस्थित औद्योगिक क्षेत्रमा आयोजना गरिएको जनसभालाई बिथोल्न पुगेका मधेसी मोर्चाका कार्यकर्तामाथि प्रहरीले गोली चलाउँदा सोमबार तीनजना मोर्चा कार्यकर्ताको मृत्यु भएको थियो भने २४ जना कार्यकर्ता घाइते भएका थिए ।

उनीहरुको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ भने अन्यको राजविराजस्थित गजेन्द्रनारायण सिँह सगरमाथा अञ्चल अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

यसैबीच, नेपाली काँग्रेसका सांसद सकलदेव सुतिहार र सांसद रञ्जितकुमार कर्णले आज छुट्टाछुट्टै प्रेस विज्ञप्ति जारी गरी घटनाको कडा शब्दमा निन्दा गर्नुभएको छ । एमालेको राष्ट्रिय अभियानका नाममा स्वाधीनतामाथि नै खलल पु¥याउने काम भएको भन्दै एमालेलाई कुनै पनि जिल्लामा अराजक गतिविधि एवम् कार्यक्रम नगर्न आग्रह गर्दै सांसदद्वयले घटनाको छानबिन गरी दोषीउपर कार्वाहीको माग गरेको विज्ञप्तिमा उल्लेख छ ।

यस्तै, नेकपा (माओवादी केन्द्र)का नेता एवम् सप्तरी क्षेत्र नं १ का सांसद मानपुर चौधरीले घटनाको भत्र्सना गर्दै दोषीमाथि कडा कार्वाही गर्न माग गर्नुभएको छ ।

यसैगरी, नेपाल पिछडावर्ग महासङ्घका केन्द्रीय प्रवक्ता उपेन्द्रप्रसाद साह र गैरसरकारी संस्था महासङ्घ सप्तरीका अध्यक्ष शम्भुनन्द चौधरी, मानव अधिकार तथा सामुदायिक विकास प्रतिष्ठान (हुकोडन)का अध्यक्ष सुरेन्द्रप्रसाद यादव, मानवअधिकार तथा जनवकालत केन्द्र (हुपेक)का अध्यक्ष धर्मेन्द्रप्रसाद यादव र डब्लुएचआर सप्तरीकी अध्यक्ष अनिता देवकोटाले संयुक्त प्रेस विज्ञप्तिमार्फत घटनामा मानवअधिकारको घोर उल्लङ्घन भएको भन्दै दोषीको पहिचान गरी कार्वाही गर्न माग गर्नुभएको छ ।

साथै, मानवअधिकार तथा सामाजिक रुपान्तरण अभियान नेपाल, शाखा सप्तरीका अध्यक्ष पुण्यप्रसाद यादवले एक प्रेस विज्ञप्ति जारी गर्दै उच्चस्तरीय छानबिन आयोगद्वारा छानबिन गरी गोली हान्न आदेश दिने, ज्यान लिने दोषी प्रहरीमाथि अविलम्ब कडा कार्वाही गर्न जोड्दार माग गरेको छ ।

जिल्ला मतदाता अधिकार मञ्च सप्तरीका संयोजक पार्थो सरकार र नेपाल तरुण दल सप्तरीका सभापति सीताप्रसाद यादवले पनि संयुक्त प्रेस विज्ञप्तिमार्फत घटनाको भत्र्सना गर्दै दोषीमाथि कार्वाहीको माग गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij