११ फागुन, काठमाडौं । मध्यपुर थिमी नगरपालिका वडा नं. १५ स्थित कौशलटारको आकाशेपुल आगामी एक महिनाभित्र निर्माण हुने भएको छ।
२०७२ वैशाखमा गएको भूकम्पले उक्त आकाशेपुल आवतजावत गर्न नसकिने गरी क्षति गरेपछि सडक विभाग अन्तर्गत सूर्यविनायक धुलिखेल सिन्धुली बर्दिबास सडक योजनाले पुल निर्माण अगाडि बढाएको हो। आयोजनाले पुलको उत्तरतर्फको संरचना मात्र पुनःनिर्माण गर्न लागिएको अन्य संरचना भूकम्पले क्षति नपुर्याएकाले यथावत राखिने जानकारी दिएकाे छ।
पुल निर्माणका लागि प्राविधिक काममा ढिलाई भएकाले निर्माण कार्यमा ढिलो भएको आयोजनका प्रमुख भरतकाजी देबजुले जानकारी दिनुभयो। उहाँका अनुसार अहिले प्राविधिक काम सकिएको पुलको उत्तरतर्फको पिलरको जग खनेर ढलान गरिएको र दक्षिणतर्फको बिमलाई तानेर सिधा पारिएको छ। पुरानै बिमलाई प्रयोग गरी अब दुई साताभित्र उत्तरतर्फ बिम राख्ने र त्यसको सातदिनभित्र पुलमा स्यालब राखेसँगै भूकम्पले क्षति पुर्याएको वाल निर्माण गरिने योजना छ ।
पुलको सबै पुनर्निर्माण गर्न करिब चार करोड रुपियाँ लाग्ने तर आयोजनाले सम्भव भएसम्मका पुरानै बिम, स्याल्याब प्रयोग गरेकाले करिब ३० लाख लागतमा पुल निर्माण गर्ने योजना रहेको उहाँले बताउनुयभयो।
कौशलटार क्षेत्रको जमिनको माटो नरम भएकाले भूकम्पले उक्त पुललाई क्षति पुर्याएको थियो। आयोजनाले जडिवुटीदेखि सूर्यविनायकसम्म २०६९ सालमा ११ वटा आकाशेपुल निर्माण गरेको थियो।