२० माघ, काठमाडौं । युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडले धितोपत्र बोर्डबाट सर्वसाधरण लगानीकर्ताका लागि १७ लाख २५ हजार कित्ता साधरण सेयर(आइपीओ) जारी गर्ने अनुमति पाएको छ ।
कुश्माको मोदीखोलामा दुईवटा जलविद्युत् आयोजनाको प्रर्वद्धन गरेको कम्पनीले यसअघि नै आयोजना प्रभावित स्थानीय बासिन्दालाई सेयर वितरण गरिसकेको छ । दश प्रतिशत सेयर आयोजना प्रभावितलाई वितरण गरेको कम्पनीले चुक्ता पुँजीको १५ प्रतिशत सेयर सर्वसाधारणलाई बिक्री गर्ने भएको हो ।
कम्पनीले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरका १७ करोड २५ लाख रुपैयाँ बराबरको १७ लाख २५ हजार कित्ता साधारण सेयर निस्कासन गर्ने भएको हो ।
कम्पनीले सेयर निस्कासन तथा बिक्री प्रबर्द्वकमा एनआईबीएल क्यापिटल राखेको छ । कम्पनीको सेयरलाई इक्रा नेपालले ग्रेड ३ को रेटिङ दिएको छ । यो ग्रेडले कम्पनीको सबै पक्षहरू बलियो रहेको संकेत गर्छ ।
कम्पनीले पर्वत जिल्लाका आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि ११ करोड ५० लाख रुपैयाँ बराबरको ११ लाख ५० हजार कित्ता साधरण सेयर निष्कासन गरी बाँडफाँड समेत गरिसको छ । स्थानियलाई सेयर वितरण गरेपछि अब कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि सेयर निष्कासन गर्न लागेको हो ।
२०६९ मा निर्माण सम्पन्न भएको तल्लो मोदी ‘ए’ बाट १० मेगावाट जलविद्युत उत्पादन गरिरहेको कम्पनीले अर्को आयोजना तल्लो मोदी–२ पनि निर्माण गर्देछ । १०.५ मेगावाट विद्युत उत्पादन हुने यो आयोजनाको विद्युत खरिद विक्री संझौता (पिपिए) भइसकेको छ ।
पहिलो आयोजनाबाट ०६९ असोजदेखि उत्पादन सुरु गरेको युनाइटेड मोदीले सोही आयोजना नजिकै अर्को आयोजना सुरु गर्न लागेको हो । आयोजनाको ड्याम सदरमुकाम नजिकैको चुवा र पावर हाउस मोदीबेनीस्थित कालीगण्डकीको दोभानमा रहने छ ।