४ माघ, काठमाडौँ । बजारमा नगदको अभाव देखिएपछी नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई लगानी गर्नसमेत मिल्ने गरी तरलता उपलब्ध गराउने भएको छ। बोलकबोलबाट ब्याजदर निर्धारण गरी ४० अर्ब रुपैयाँ उपलब्ध गराउन लागेको हो। धेरै ब्याजदर कबोल्ने बैंक तथा वित्तीय संस्थाले रकम पाउने छन् । यसका लागि राष्ट्र बैंकले आज बोलकबोल गर्दै छ ।
यसरी प्रबाह गरिने नगदको अबधि लामो हुने छ । यसरी लिएको रकम बैंक तथा वित्तीय संस्थाले ऋण लगानी गर्न सक्ने छन् । यसअघि राष्ट्र बैंकले दुई पटक २० अर्ब र १० अर्ब रुपैयाँको रिपो जारी गरेको थियो । जम्मा १४ दिनको लागि मात्र जारी भएको रिपो लिन बैंक तथा वित्तीय संस्थाहरुले त्यति रुची देखाएको थिएनन् ।
यस पटक बैंक तथा वित्तीय संस्थाहरुले किनेको ४९ अर्ब ९ करोड रुपैयाँको ख्णपत्र धितो राखेर राष्ट्र बैंकले ४० अर्ब रुपैयाँ बजारमा पठाउन लागेको हो । यसको समय तोकिएको छैन । त्यसैले बैंकहरुले रकम लिने अपेक्षा छ । बजारमा रकमको चरम अभाव भएपछि बैंक तथा वित्तीय संस्थाले निक्षेपको ब्याजदर बढाएका छन् । निक्षेपको ब्याज बढेसँगै कर्जाको ब्याजसमेत अकासिएको छ । तरलता अभावले कतिपय बैंक तथा वित्तीय संस्थाले ऋण लगानी गर्नै छाडेका छन् ।
पछिल्लो पटक बजारमा पठाउन लागिएको ४० अर्ब रुपैयाँको अवधि नतोकिएकाले यसपटक भने बैंक तथा वित्तीय संस्थाहरुले ऋणपत्र बिक्री गर्न चासो दिने अपेक्षा गरिएको छ । यसबाट उनीहरुले दिर्घकालिन कर्जा प्रवाह गर्न सक्नेछन भने कर्जाको ब्याजदरमा समेत गिरावट आउने अनुमान गरिएको छ। तरलता अभाव भएपछि अहिले बैकहरुले संस्थागत निक्षेपकर्ताहरुलाई साढे १२ प्रतिशतसम्म ब्याज दिन थालेका छन् ।