२०८३ साउन ९ शनिबार

शिक्षण संस्था अपाङ्गतामैत्री नहुँदा विद्यार्थी मर्कामा

ई आर्थिक    सोमबार, पौस ११ २०७३
8.3K
Shares
शिक्षण संस्था अपाङ्गतामैत्री नहुँदा विद्यार्थी मर्कामा

(सन्चिता घिमिरे)

ललितपुर

अपाङ्गता भएकै कारण गुल्मीकी लक्ष्मी कुँवरले कलेज भर्ना हुनका लागि धेरै ठाउँमा चहार्नुप¥यो । प्रवेशिका पछि उच्च शिक्षाका लागि ३÷४ वटा कलेज पुग्दा समेत तीनले भर्ना लिन मानेनन् ।

कलेजका कक्षामा ह्विलचेयर जान नसक्ने भएपछि उहाँ ती कलेजबाट उसै फर्कन परेको हो । कलेज सञ्चालकले आफ्नो पनि व्यवसाय भएको भन्दै तल्लो तलामा मात्रै कक्षा राख्दा अरु विद्यार्थी पढ्न नचाहने बताएको उहाँले गुनासो गर्नुभयो ।

लक्ष्मी जस्तै बर्से्नि धेरै अपाङ्गता भएका विद्यार्थी अपाङ्तामैत्री संरचना नहुँदा आफूले चाहेको शिक्षण संस्थामा भर्ना हुन पाइरहेका छैनन् । निजी मात्रै होइन सामुदायिक विद्यालय र कलेजमा समेत विद्यार्थीले भौतिक पूर्वाधारका कारण भर्ना हुन सकेका छैनन् । अपाङ्गता भएका विद्यार्थी कलेजका तल्ला तलामा जुन सङ्कायको पढाइ हुन्छ त्यही सङ्कायमा नचाहेर पनि पढ्न बाध्य छन् ।

कुँवर डिल्लीबजारस्थित पद्मकन्या क्याम्पसमा स्नातकका लागि पुग्दा त्यहाँ समेत अपाङ्गतामैत्री संरचना थिएन । तल्लो तलामा एउटा मात्रै कक्षा सञ्चालन हुन्थ्यो । एक वर्ष पढेपछि विद्यार्थी घरमा नै बसेर पढ्न बाध्य थिए ।

अपाङ्गता भएका विद्यार्थीकै दबाबमा अहिले कलेजले तल्लो तला अपाङ्तामैत्री बनेको छ । आफ्ना धेरै साथीले अपाङ्गता भएकै कारण नचाहेको सङ्कायमा भर्ना भएको उहाँले बताउनुभयो । उहाँ भन्नुहुन्छ, “हामीले चाहेको विषय नभए पनि कलेजमा भर्ना हुन पाउँदा नै खुसी हुनुपर्ने अवस्था छ ।” कक्षाकोठा मात्रै नभएर शौचालयमा ह्विलचेयर सहज जान नसक्ने उहाँ बताउनुहुन्छ ।

अपाङ्गता भएकै कारण रघुनाथ बस्नेतले कलेजमा भर्ना भएपनि घरमै बसेर पढ्नु परेको छ । पाटन कलेजमा अध्ययनरत उहाँ कक्षा, शौचालय जतासुकै जान अरुको सहयोग लिनुपर्ने बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ, “म जस्तै धेरै साथीले कलेजमा भर्ना भए पनि घरमा नै पढेर परीक्षा दिइरहेका छन् ।” कलेजका कक्षा माथिल्लो तलामा हुने, शौचालयमा जान सिँढी उक्लनुपर्ने हुँदा ह्विलचेयर प्रयोग गर्ने विद्यार्थी कलेज जान नसकेको उहाँले बताउनुभयो ।

नेपाल अपाङ्ग महासङ्घकी उपाध्यक्ष टीका दाहाल शिक्षण संस्थाका भवन अपाङ्गतामैत्री नहुँदा विद्यार्थीले पढाइबीचमा छाड्न परिरहेको बताउनुहुन्छ । सरकारी विद्यालय र कलेजमा भन्दा यो समस्या निजीमा बढी छ । उहाँ भन्नुहुन्छ, “सरकारी कलेज वा विद्यालयका केही कक्षा बरु तल्ला तलामा होलान् तर निजीमा त्यो समेत छैन ।”

प्रवेशिका परीक्षा सकेर उच्च शिक्षाका लागि जाँदा अपाङ्गता भएका विद्यार्थी भर्ना समेत हुन पाउँदैनन् । उहाँ भन्नुहुन्छ, “कक्षा तल्लो तलामा भए पनि विज्ञान वा प्राविधिक विषयका प्रयोगशाला माथिल्लो तलामा हुँदा कलेजले भर्ना समेत लिँदैनन् ।”

निजी शिक्षण संस्थाले आफू नाफाका लागि सञ्चालन भएको हो भन्दै भर्ना समेत नलिएको गुनासो गर्दै उहाँ बताउनुहुन्छ । शौचालयका समस्याले गर्दा छात्रा बढी पीडित छन् । महासङ्घले अपाङ्गतामैत्री संरचना निर्माणका लागि नीति बनाउन र कार्यान्वयनमा पहल गरिरहेको उहाँले जानकारी दिनुभयो ।

भवन निर्माण सहिंता, २०६० र भौतिक संरचना तथा सञ्चार निर्दे्शिका, २०६९ ले अरु सार्वजनिक कार्यालयसँगै शिक्षण संस्था अपाङ्गतामैत्री भवन हुनैपर्ने व्यवस्था गरेपनि त्यसको पालना भएको पाइँदैन । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij