कुमार कसजु श्रेष्ठ अगुवा पुष्प व्यवसायी हुनुहुन्छ । उहाँ लामो समयदेखि पुष्प व्यवसायमा सक्रिय हुनुहुन्छ । पुष्प व्यवसायीहरुको छाता संगठन फ्लोरिकल्चर एसोसिएसन अफ नेपाल (फ्यान) को भर्खरै सम्पन्न साधारणसभाले उहाँलाई अध्यक्षमा निर्वाचित पनि गरेको छ । पुष्प व्यवसायका विविध विषयमा अध्यक्ष कसजुसँग गरेको कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।
कुमार कसजु श्रेष्ठ
अध्यक्ष
फ्लोरिकल्चर एसोसिएसन अफ नेपाल (फ्यान)
फ्लोरिकल्चर एसोसिएसन अफ नेपाल (फ्यान) स्थापनाको उद्देश्यहरु के–के छन् ?
फ्लोरिकल्चर एसोसिएसन अफ नेपाल (फ्यान) पुष्प व्यवसासीहरुको छाता संस्था हो । यसले देशभर छरिएर रहेका पुष्प व्यवसायीहरुलाई संगठित गर्ने, पुष्प तथा पुष्पजन्य वस्तुहरुको बजारीकरण, प्रबद्र्धन एवं प्रबद्र्धनात्मक गतिविधिहरु सञ्चालन गर्ने काम गर्दछ । त्यसैगरी फ्यानले यस क्षेत्रमा लागेका व्यवसायीको हक हित र अधिकारको लागि वकालत गर्ने, सरकारसँग नीतिगत बहस तथा पैरबी गर्ने काम फ्यानले गर्दै आएको छ । फ्यानका उद्देश्यहरु पनि तिनै हुन ।
देशभर हालसम्म कति पुष्प व्यवसायीहरु रहेका छन् ? फ्यानमा चाँही हालसम्म कति व्यवसायी सदस्यहरु रहेका छन् ?
देशभर १००० जति पुष्प व्यवसायीहरु रहेका छन् । त्यस मध्ये ७०० जति फ्यानमा संगठित रहेका छन् भने बाँकी ३०० व्यवसायीहरु संगठित हुन बाँकी रहेका छन् ।
पुष्प व्यवसायको वर्तमान अवस्था कस्तो देख्नुहुन्छ ?
पुष्प व्यवसायमा ५ अर्बको हाराहारीमा लगानी रहेको छ । यस व्यवसायमा ४१ हजार भन्दा बढी मानिसहरु प्रत्यक्ष र परोक्षरुपमा रहेका छन् । त्यसमध्ये ६० प्रतिशत भन्दा बढी त महिलाहरु संलग्न रहेका अनुमान छ । त्यसैगरी यो व्यवसायमा युवाहरुको पनि राम्रो आकर्षण रहेको छ । देशभरका व्यवसायीहरुद्वारा बार्षिक १.५ अर्ब बराबरको कारोबार रहेको छ । ३ करोड रुपैयाँ भन्दा बढीको निकासी गरिरहेका छन् । सौन्दर्यसहितको आनन्दको यो व्यवसायमा लाग्नेहरु सबैले रमाइलो महशुस गर्छन । पुष्प व्यवसायको समग्र अवस्था सन्तोषजनक रहेको छ ।
यो व्यवसायमा के कस्ता समस्याहरु रहेका छन् ?
यो व्यवसायमा लगानीको समस्या रहेको छ । बैंक तथा वित्तीय संस्थाहरुले लगानी गर्न त्यति चासो देखाउदैनन् । दक्ष जनशक्तिको अभाव, आपूर्ति सामाग्रीहरु आवश्यक समयमा बजारमा उपलब्ध नहुनु पनि यस व्यवसायका केही समस्या हुन । त्यसैगरी प्राविधिकयुक्त वातावरण नबन्नु, सहरी क्षेत्रमा जमिनको अभाव हुनु, सिचाईको उचित सुविधा नहुनुका साथै यो व्यवसायलाई अन्य उद्योग सरहको व्यवहार नगर्नु यस व्यवसायका समस्याहरु हुन ।
भारतको पुष्पसँग तपाईहरुले कसरी प्रतिस्पर्धा गरिरहनुभएको छ ? गुणस्तरिय हिसावमा नेपाल र भारतको पुष्पलाई कसरी तुलना गर्नुहुन्छ ?
भारतका पुष्प व्यवसायहरुलाई लगानीको ९० प्रतिशतसम्म सरकारको सहयोग रहन्छ । यसरी भारतमा उत्पादन लागत कम पर्छ । त्यसैगरी आवश्यक सामानहरु स्थानीय बजारमा सरल रुपमा पाउने भारतीय उत्पादन हाम्रो देशमा त्यस्तो सुविधा नहुँदा नहुँदै पनि गुणस्तरमा प्रतिस्पर्धा गर्न नेपाली पुष्प व्यवसाय सक्षम छन् । तथापी उत्पादन लागत केही बढी भएको हुनाले मूल्यमा प्रतिस्पर्धा गर्न नेपाली पुष्प व्यवसायी बाध्य छन् । बृहत उत्पादनमा लगानी गर्न नेपाली व्यवसायीहरु इच्छुक छैनन् । यसो हुँदा आवश्यकता अनुसार उत्पादन नहुँदा नेपाली बजारमा नेपालीका साथै भारतीय उत्पादनले बजार पाएको अवस्था छ ।
सरकार तथा अन्य वस्तुगत छाता संगठनमार्फत फ्यानले कसरी सहकार्य गरिरहेको छ ?
२०६२ सालदेखि पुष्प नीतिको आवश्यकता माथि सरकारको सम्बन्धित निकायसँग नियमित बहस भइरहेको छ । २०६३ मा पुष्प नीतिको मस्यौदा तयार पारी कृषि मन्त्रालयमा प्रस्ताब गरिएको छ । नियमित छलफल तथा बहस सँगसँगै २०६९ मा सरकारको क्याविनेटबाट पुष्प प्रबद्र्धन नीति पारित भएको छ । आब २०७१÷०७२ बाट पुष्प प्रबद्र्धन नीति कार्यन्वयन भएको, पञ्चवर्षिय पुष्प प्रबद्र्धन कार्यक्रम कार्यान्वयन, कार्य विधि निर्माण भएको छ । त्यस्तै कृषि विकास मन्त्रालय र फ्यानको सहकार्यमा साझेदारी कार्यक्रम सञ्चालनमा रहेको र त्यसको परिणाम सकारात्मक र आशा लाग्दो रहेको छ । त्यसैगरी उत्पादित पुष्पजन्य बस्तुहरुको प्रबद्र्धनको लागि क्षेत्रीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मेला तथा प्रदर्शनीहरु आयोजना गरिरहेको छ । व्यवसायीहरुको क्षमता अभिबृद्धिको लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुष्प विज्ञहरुबाट प्रशिक्षण कार्यक्रमहरु सञ्चालनमा रहेको छ ।
एउटा व्यवसायमा गर्न कति लगानी आवश्यक पर्छ ? आर्थिक आर्जनको दृष्टिकोणमा पुष्प व्यवसाय कत्तिको संभावना भएको व्यवसाय हो ?
न्यूनतम् ५ लाख देखि यो व्यवसाय सुरु गर्न सकिन्छ । आर्थिक आर्जनको दृष्टिकोणले यो व्यवसाय राम्रो व्यवसायको रुपमा लिन सकिन्छ । नियमित र दीर्घकालिन आम्दानी स्रोत भएको व्यवसायको रुपमा यो व्यवसाय स्थापित छ । पर्यावरणीय तथा सहर सौन्दर्यको हिसावले यो व्यवसाय रमाइलो र उत्कृष्ट व्यवसाय भएको मैले बुझेको छु ।
राज्य र राजश्वमा यसको योगदान कस्तो रहेको छ ? राज्यका तर्फबाट तपाईहरुलाई कस्तो सहयोग रहेको छ ?
यस क्षेत्रमा लागेका व्यवसायीहरुले सरकारको नियम अनुसार सम्बन्धित निकायमा दर्ता गरी व्यवसाय सञ्चालन गर्दै आएकाले राजश्वमा समेत उपस्थिति जनाएको छ । राज्यका तर्फबाट पछिल्लो समयमा पुष्प व्यवसायिको क्षमता अभिबृद्धिको लागि परम्परागत प्रविधिहरु प्रतिस्थापन गर्दै आधुनिक प्रविधिमा प्रवेश गर्नका लागि उल्लेख्य सहयोग रहेको छ ।
यो व्यवसायको लागि जग्गाको अभाव हुन थालेको छ भनिन्छ ? त्यसलाई तपाईहरुले कसरी व्यवस्थापन गरिरहनुभएको छ ?
यो व्यवसाय सहर केन्द्रित व्यवसाय भएकाले सहर भित्र नै हुनु आवश्यक छ । तर सहर भित्र जनघनत्व बढ्नु, भएका जमिनहरु खण्डिकृत हुदै स–साना टुक्रामा बाडिनु यस व्यवसायका लागि ठूलो चुनौति रहेको छ ।
कट फ्लावर उत्पादनलाई ग्रामीण क्षेत्रमा पु¥याउने र उचित वातावरण तयार गर्ने, ढुवानीको साधान सञ्चालन हुन सक्ने क्षेत्रहरुको पहिचान गर्ने, सिचाईको प्रयाप्त सुविधा भएको सहरी विकास भएका जिल्लाहरुको नजिकका भुक्षयहरुलाई उपयोग गरी व्यवसायीहरुलाई त्यस क्षेत्रमा व्यवसाय सञ्चालनका लागि उचित वातावरण निर्माण, नर्सरी व्यवसायीहरुलाई उत्पादन क्षेत्र सहरवाहिर गर्ने र उत्पादित वस्तु सहरमा प्रदर्शनी कक्षको रुपमा राखी आफ्नो उत्पादनलाई उपभोक्ता सामु प्रस्तुत गर्न अभिप्रेरित गरिरहेका छौं । त्यस्तै आपूर्ति सामाग्रीहरु उत्पादन क्षेत्रमै उपलब्ध गराउन आपूर्तिकर्ताहरुसँग सहकार्य र समन्वय गरिरहेको, उत्पादित वस्तुहरुको सुरक्षित प्याकेजिङ्ग र ढुवानीको लागि व्यवसायिहरुलाई आवश्यकताहरु सुसुचित गर्ने र क्षति न्यूनिकरणमा आवश्यक र सतर्कताको लागि चेतनामुलक कार्यक्रम सञ्चालन गर्ने कार्यमा फ्यानले समेत पहल र भूमिका निर्वाह गरिरहेको छ ।
यो व्यवसायमा व्यवसायीको भविष्य कस्तो देख्नु हुन्छ ?
विश्व बजारमा पुष्प तथा पुष्जन्य बस्तुहरुको प्रतिबर्ष २० प्रतिशतका दरले माग बृद्धि भइरहेको छ । साथै सहरी क्षेत्रमा सहरी तथा सडक सौन्दर्यको लागि सरकारले नीतिगत व्यवस्था लागू गरेको हुँदा यस व्यवसायको भविष्य उज्वल देखिएको छ ।