रोल्पा
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश नं ५ का पहाडी जिल्लालाई काँगे्रस, एमालेले पहिलोे संविधानसभामा अलग्गै प्रदेश बनाउने भनेकै बेला माओवादीले नमानेर त्रुटि गरेको बताउनुभएको छ ।
प्रधानमन्त्री दाहालले भन्नुभयो– “संशोधन विधेयकले मगर ‘क्लस्टर’ मिल्न गएको छ । माओवादीले त पहिलेदेखि नै मगरात र तमुवानलाई जोड्ने भन्ने नै थियो ।”
नेकपा (माओवादी केन्द्र)का अध्यक्षसमेत रहनुभएका दाहालले पत्रकारसँग नेकपा (एमाले)का अध्यक्ष केपी ओली र नेपाली काँग्रेसका तत्कालीन सभापति सुशील कोइरालाले गर्नुभएको प्रस्ताव भएकै क्लस्टरअनुरुप सीमाङ्कन हेरफेर गर्ने गरी विधेयक ल्याइएको छ भन्नुभयो ।
क्रान्तिको आधारभूमि र परिवर्तनको पक्षमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भूगोललाई आफूले सधैँ माया गरेको बताउँदै भन्नुभयो ‘‘मलाई क्रान्तिको विकास गर्न सहयोग गरेको रोल्पा, रुकुम प्यूठानलगायतका जिल्लालाई म कहिले पनि अन्याय गर्दिन ।’’
राष्ट्रिय सहमति गर्नका लागि सबै समुदायलाई संविधान कार्यान्वयनमा सहभागी बनाउन र आगामी २०७४ माघसम्ममा तीन तहको निर्वाचन सम्पन्न गर्नका लागि संशोधन प्रस्ताव दर्ता गरिएको बताउनुभयो ।
जनयुद्धकालमा जनताद्वारा निर्माण गरिएको घोराही, होलेरी, टिला हुँदै घर्तीगाउँ थबाङसम्मको सहिद मार्ग अनुगमन तथा निरीक्षण गर्नका लागि उहाँ रोल्पा र रुकुममा आउनुभएको होे ।
टोलीमा नेकपा (माओवादी केन्द्र) का वरिष्ठ नेता रामबहादुर थापा, नारायणकाजी श्रेष्ठ, कार्यालय सदस्य टोपबहादुर रायमाझी, प्रधानमन्त्रीका स्वकीय सचिव जोखबहादुर महरालगायतको टोली रोल्पा आएको थियो ।