काठमाडौँ
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले दलबीच चाँडै सहमति हुने बताउनुभएको छ ।
नेपाल खड्गी सेवा समितिले यहाँ आयोजना गरेको ‘व्यावसायिक भेला’मा उहाँले दलबीच चाँडै सहमति गरेर मुलुकलाई निकास दिन आफू लागिपरेको बताउनुभयो ।
“दलबीच चाँडो सहमति जुटाएर तीन तहको निर्वाचनमा गराउनुपर्छ” सभापति देउवाले भन्नुभयो, संविधान कार्यान्वयन गरेर मुलुकलाई आर्थिक बाटोमा लैजानु अहिलेको प्रमुख आवश्यकता हो ।
उहाँले खड्गी समुदायको परापूर्वकालदेखिको पेसा मासुु व्यवसाय भएको भन्दै बधशाला निर्माणका लागि सरकार र नेपाली काँग्रेसले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
नेपाली काँग्रेसका सांसद भीमसेनदास प्रधानले मुलुकका हरेक परिवर्तनको वाहक नेपाली काँग्रेस भएकाले संविधान कार्यान्वयनमा पनि काँग्रेस गम्भीर रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “नेकपा (एमाले) मुलुक र जनताप्रति गम्भीर छैन ।”
राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता राजाराम श्रेष्ठले राज्य र जनताप्रति राजनीतिक दल गम्भीर नहुँदा देशमा सङ्कट उत्पन्न हुने खतरा बढेको चर्चागर्दै “अहिलेकै अवस्थामा मुलुक गए बिखण्डनको बाटोमा अगाडि बढ्न सक्छ, त्यसैले यसप्रति दल सचेत बन्नुपर्छ भन्नुभयो ।”
समितिका अध्यक्ष मनोज नेवा खड्गी, पूर्वराज्यमन्त्री तीर्थमान डङ्गोल लगायतले आम नागरिकको स्वास्थ्यसंग प्रत्यक्ष सरोकार राख्ने मासुलाई गुणस्तरीय र व्यवस्थित तरिकाले बिक्री वितरण गर्न छुट्टै औद्योगिक क्षेत्र खोल्नुपर्दछ भन्नुभयो ।