
नगरपालिका हाँक्न तयार
कान्तिका, सीमा र चन्द्रा
मेयरमा खाता खोल्ने पहिलो महिलामा नाम लेखाइन्, जुम्लाकी कान्तिका सेजुवालले । कांग्रेसबाट उम्मेदवारी दिएकी उनी चन्दननाथ नगरपालिकाकी मेयर भइन् । दुई हजार सात सय ७७ मत ल्याएर एमालेका पुरुष उम्मेदवार शान्तिलाल महतलाई मेयरको कुर्सीमा उक्लिन रोकेकी सेजुवालको राजनीतिक यात्रा छोटो छैन । उनको सक्रियता शिक्षण पेसामा नै बढी रह्यो ।
दुई वर्षअघि श्रीमान् मानव सेजुवालको विमान दुर्घटनामा मृत्यु भएपछि उनी माध्यमिक विद्यालयको हेडमास्टरको जागिर छाडेर पूरा जीवन राजनीतिमा होमिन् । मानव पार्टीका पूर्वजिल्ला सभापति थिए । ‘विद्यालय पढ्दादेखि नै राजनीतिमा संलग्न थिएँ, ०४६ सालको आन्दोलनमा पनि होमिएँ,’ मेयर सेजुवालले विगत सुनाइन्, ‘चुनाव लडेर जुम्ला बहुमुखी क्याम्पसमा स्ववियु सभापति पनि जितेँ ।’
त्यसो त पार्टी जिल्ला कार्यसमितिले नगर प्रमुखमा राजुसिंह कठायतलाई सिफारिस गरेको थियो । तर, केन्द्रीय कार्यालयले सीधै सेजुवाललाई टिकट दियो । उनको उम्मेदवारीविरुद्ध जुम्लामा विरोध पनि भयो । मेयरमा जितेर उनले विरोधीका मुख थुनिदिएकी मात्रै छैनन्, कार्यकारी पदमा बसेर विकट कर्णालीको एउटा नगरलाई परिवर्तन गर्ने मौका चुमेकी छिन् । हिजोका दिनमा विभिन्न सामाजिक संस्थामा जोडिएर पनि महिला सशक्तीकरणको आवाज उठाएकी उनी वडामा जित्ने अन्य पार्टीका प्रतिनिधिसँग समन्वय गरेर काम गर्ने बताउँछिन् ।
‘जुम्लामा काम गर्न सहज छैन, तर चन्दननाथ नगरपालिकालाई स्मार्ट सिटी बनाउने योजना छ,’ उनले योजना सुनाइन्, ‘कर्णाली विद्यालयको प्रधानाध्यापक भएपछि जिल्लाकै नमुना बनाएँ, अब नगर नमुना बनाउँछु । सडक सञ्जालले नजोडेका नगरका वडामा सडक पुर्याउँछु र उज्यालो जुम्ला बनाउन पहल गर्छु ।’
०००
प्रदेश ६ बाट सेजुवाल मेयर विजयी भएको घोषणाको केही घन्टामै प्रदेश ४ बाट अर्की महिलाले नगरपालिका हाँक्ने जिम्मा पाएको खबर आयो । स्याङ्जा पुतलीबजार नगरपालिकाको मेयरमा निर्वाचित भइन्, सीमा क्षत्री । कांग्रेसका तुलसी रेग्मीलाई १२२० मत अन्तरले पछि पार्दै उनले विजयको माला लगाइन् ।
क्षत्रीको जुझारु उमेर पनि राजनीतिबाटै खारिएको देखिन्छ । अनेरास्ववियुको जिल्ला कमिटी कोषाध्यक्षसमेत भएर काम गरेको अनुभव उनीसँग छ । तर, पछि राजनीतिबाट विश्राम लिएर शिक्षण पेसामा यात्रा थालिन् । पछि फेरि शिक्षण जागिर त्यागेर राजनीतिमै फर्किइन्, सायद मेयर बन्ने कर्म रहेछ ।
‘०४२ सालदेखि शिक्षण पेसा सुरु गरेँ । पूर्णकालीन राजनीतिबाट टाढा रहेँ । २७ वर्ष लामो यो पेसामा प्रधानाध्यापकसम्म भएँ । पेसागत संगठनमा त सक्रिय नै थिएँ,’ क्षत्रीले कहानी भनिन्, ‘०६९ मा शिक्षण पेसाबाट राजीनामा दिएपछि पूर्ण रूपमा राजनीतिमै सक्रिय रहँदै आएँ।’
उनलाई पार्टीले विनाविवाद उम्मेदवार बनाएको थियो, नगरक्षेत्रमा प्रभावशाली नै ठानेर । पार्टीको मूल्यांकनलाई उनले सहीसावित गरेर देखाइन् । अब उनी नागरिकमाझ बोलेको वचन पूरा गर्नुपर्ने परीक्षामा प्रवेश गरेकी छिन् । ‘मैले नागरिकलाई ठूलो सपना बाँडेकी छैन । तर, समृद्ध पुतलीबजार निर्माणसँगै युवा र महिलाकेन्द्रित योजना अघि सार्ने सोच छ,’ क्षत्रीले भनिन्, ‘हरेक वडामा युवा परिषद् निर्माण गर्ने र टोलटोलमा महिला सञ्जाल निर्माण गर्नेछु । पुतलीबजारमा पर्यटन विकासको ढोका उघार्नेछु । एक रुपैयाँ भ्रष्टाचार गर्दिनँ ।
०००
प्रदेश ४ ले सीमा क्षत्रीसँगै अर्की मेयर पनि पायो, चन्द्रा पुन । नवलपरासीको कावासोती नगरपालिकामा मेयरको कुर्सी कब्जा गर्ने हिम्मत राखिन् पुनले । पुनले पनि एमालेकै उम्मेदवारीमा मेयर पद जितेकी हुन् । लामो समय एमाले राजनीतिमा दौडिएर एक दशकदेखि लगभग विश्राम लिएकी उनलाई स्थानीय चुनावले उचालिदियो । र, पार्टीको निर्णयमा मेयर लड्ने मौका मिल्यो ।
पुन अविवाहित महिला हुन् । मधेसी, थारू र पहाडेको मिश्रित बसोवास रहेको नगरमा उनले नागरिकको मन जितिन् । उनले पनि कांग्रेसका पुरुष उम्मेदवार महेन्द्र पोखरेललाई हार चखाएकी हुन् ।
‘०३८ मा मालेबाट राजनीति सुरु गरेँ । एक वर्षपछि एमाले प्रवेश गरेँ,’ राजनीतिक यात्राबारे भनिन्, ‘गाउँ, इलाका, जिल्ला, क्षेत्र र प्रदेश कमिटीमा पार्टीले दिएका जिम्मेवारी पूरा गर्दै आएँ ।’ अखिल नेपाल महिला संघ (अनेम संघ) नवलपरासीकी संस्थापक हुन्, पुन । ०४८ मा अनेम संघकी अध्यक्ष बनेर दुईवर्षे कार्यकाल नै सम्हालिन् ।
पछिल्लो समय राजनीतिमा किन निष्क्रिय रहनुभयो त ? प्रश्नमा उनको जवाफ थियो, ‘पार्टीभित्र युवा पुस्ताको उपस्थिती बलियो देखेर नै निष्क्रिय भएकी हुँ । अहिले भने विगतको त्यागको मूल्यांकन होस् भन्दै स्थानीय निर्वाचनमा ठाउँ मागेँ । तर, केही बाधा र विरोध पनि भए ।’
कावासोती नगरपालिकालाई महिला र अपांगमैत्री नगर बनाउने उनको पहिलो र मुख्य योजना छ । त्यसपछि फोहोर व्यवस्थापन तथा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार ल्याउन पहल गर्ने उनले बताइन् । त्यसो त उनले किसानको समस्या पनि नियालिरहेकी छिन् । भन्छिन्, ‘किसानको हकहितका लागि लड्छु, सहुलियत दिन्छु र कृषि क्रान्तिमा जोड गर्छु ।’
गाउँपालिका प्रमुखमा बाजी मार्नेहरू

चितवनको भरतपुर महानगरमा माओवादीबाट उम्मेदवारी दिएकी रेणुको हारजित निश्चित छैन । तर, चितवनकै इच्छाकामना गाउँपालिकामा गीता गुरुङले प्रमुख पद जितेकी छिन् । कांग्रेसको उम्मेदवारीमा जित चुमेकी गुरुङ पहिल्यैदेखि पार्टीमा सक्रिय थिइन् । महासमिति सदस्यसमेत रहेकी उनी एकल महिला हुन् । गुरुङले पनि पुरुष उम्मेदवार एमालेका नारायणप्रसाद अधिकारीलाई नै पछि पारेर स्थान कब्जा गरेकी हुन् ।
चितवनका दारेचोक, चण्डिभन्ज्याङ, दाहाखानी र काउलेजस्ता विकट बस्ती रहेको यो गाउँपालिकामा सडक, पानी, बिजुली, शिक्षाजस्ता नागरिकका आधारभूत आवश्यकता पूरा गर्नु नै गुरुङका लागि प्रमुख चुनौती हुन् । यिनै चुतौतीसँग लड्ने वचन विजयी भएसँगै दिएकी छिन् उनले ।
०००
प्रदेश ३ को एक जिल्ला सिन्धुलीमा कुल नौवटा स्थानीय तह थिए । यीमध्ये एउटामा मात्रै महिलाको नेतृत्व प्राप्त भएको छ । सुनकोसी गाउँपालिकामा माओवादी केन्द्रकी उम्मेदवार दीपा बोहरा (दाहाल)ले प्रतिद्वन्द्वी कांग्रेसकी कपिला कोइरालालाई पछि पारेकी हुन् ।
त्यसो त कमलामाई नगरपालिकामा माओवादी र दुधौली नगरपालिकामा कांग्रेसले महिलालाई नै मेयरको लडाइँमा उतारेका थिए । तर, दुवैको लडाइँ निरर्थक भयो ।
गाउँपालिका हाँक्न तम्तयार बोहरा छापामार युद्ध गरेकी महिला हुन् । रोल्पामा जन्मेकी उनी १४ वर्षको उमेरमै युद्धमा होमिइन् । पछि सिन्धुलीको पुरानो झाँगाझोलीका राजन दाहालस“ग बिहे गरिन् र त्यहीँकी नागरिक बनिन् ।
बोहराको प्रतिबद्धता अलि कडा खालको छ, सायद युद्धमा खारिएकी महिला भएर होला । अब के गर्नुहुन्छ भन्ने प्रश्नमा उनको जवाफ आयो, ‘भोलिका दिनमा भोट माग्न आउने उम्मेदवारले तेरो गाउँमा यो विकास गरिदिन्छु भनेर भन्ने अवस्थाको अन्त्य गरिदिन्छु ।’
०००
हिमाली जिल्ला रसुवामा पनि एउटा गाउँपालिकाको नेतृत्व महिलाको हातमा आएको छ । एमालेकी सीताकुमारी पौडेलले कालिका गाउँपालिकामा बाजी मारिन्, कांग्रेसका साधुराम पौडेललाई पछि पारेर ।
पौडेलको राजनीतिक यात्रा गज्जबको छ । उनी लामो समय कांग्रेसकै राजनीतिमा खेल्दै आएकी हुन् । तर, निर्वाचनको तयार चल्दै गर्दा केही महिनाअघि एकाएक एमालेमा हाम फालिन् । ‘०५० मा शिक्षक संघमा थिएँ, त्यसपछि महिला संघ रसुवाको सचिवको जिम्मेवारीमा पुगेँ भने ०६५-६६ मा पार्टीको जिल्ला कार्यसमिति सदस्य रहेर काम गरेँ,’ उनले राजनीतिक खुड्किलाबारे सुनाइन्, ‘कांग्रेसभित्रको गुटबन्दी मन नपरेपछि एमाले रोजेँ । केपी ओलीको राष्ट्रियताको मुद्दा पनि सही लाग्यो ।’
उमेरले ४५ मा हिँडिरहेकी पौडेलले तत्काल गाउँमा खानेपानीको व्यवस्था गर्ने बताएकी छिन् । सडक र अस्पताल निर्माण पनि उनका योजनाभित्र छन् । ‘जनतासँगको समन्वयमा, आवश्यकताअनुसार कामलाई प्राथमिकतामा राख्छु,’ उनले नयाँ पत्रिकासँग भनिन् ।
०००
रसुवामा पौडेलले बाजी मार्दा लमजुङको दूधपोखरी गाउँपालिकामा छुपीमाया गुरुङ प्रमुखमा चुनिइन् । माओवादीकी महिला उम्मेदवार सतीमाया तामाङलाई उनले हराइन् । गुरुङ कांग्रेसको तर्फबाट चुनाव लडेकी थिइन् ।
२० वर्षको उमेरदेखि नै कांग्रेस राजनीतिमा सक्रिय उनी जिल्लामा धेरै परिचित छिन् । उनी होटेल व्यवसायी पनि हुन् । पार्टीमा कोल्की गाविसको दुई कार्यकाल सभापति भएकी उनी महिला संघको जिल्ला सदस्य, पार्टी महाधिवेशन प्रतिनिधि, जिल्ला कार्यसमिति सदस्य हुँदै क्षेत्र नं. २ को महासमिति सदस्य भइसकेकी छिन् ।
माओवादी युद्धमा कोल्कीबाट विस्थापित गुरुङले सदमुकाममा १३ वर्ष होटेल चलाइन् । र, अहिले आफ्नै गाउँ फर्किएर फेरि माओवादीमाथि जित हासिल गरिन्, चुनाव लडेर । आफ्नो गाउँपालिकामा उनका योजना धेरै छन् । ‘दूधपोखरीका महिला, दलित, पिछडिएका जनजातिलाई व्यावसायिक बनाउने, पाँच वर्षसम्म कच्ची सडक ग्राभेल गराउने, पर्यटनको सम्भाव्यतालाई अध्ययन गरी उजागर गर्ने, कृषि प्रणालीलाई आधुनिकीकरणतर्फ विकास गर्ने, जनताको सेवामा समर्पित भएर काम गर्ने प्रतिबद्धता जनाउँछु,’ ५२ वर्षीय अविवाहित गुरुङको वचन छ, ‘आधा जिन्दगी राजनीतिमा गयो, अब आधा जिन्दगी जनताको सेवामा बिताउँछु ।’
०००
म्याग्दीमा पनि एउटा गाउँपालिकाले महिलाको नेतृत्व पायो । धवलागिरि गाउँपालिका प्रमुखमा थम्सरा पुन विजयी भइन् । उनलाई एमालेले उम्मेदवारी दिएको थियो । उनी पनि शिक्षक थिइन् । तर, निर्वाचनमा भिड्न शिक्षक पेसा नै त्यागिदिइन् ।
त्यसो त पुन पनि राजनीतिमा पुरानै पात्र हुन् । शिक्षणसँगै सांगठनिक राजनीतिलाई पनि अगाडि बढाइरहिन् उनले । ‘९ कक्षामा पढ्दा नै मुदी गाविस–७ को महिला सदस्य भएर राजनीति सुरु गरेकी हुँ । ०६३ बाट राहत कोटामा अध्यापन पनि सुरु गरेँ । यसबीचमा राष्ट्रिय शिक्षक संगठनको ११ नम्बर इलाका इन्चार्जको जिम्मेवारी पनि सम्हालेँ,’ पुनले बयान लगाइन् ।
धवलागिरि गाउँपालिका सदरमुकामबाट धेरै टाढा छ । विगट गाउँपालिका हो यो । अब शिक्षा, स्वास्थ्य, यातायात, खानेपानी, पर्यटनलगायत पाटोमा योजना नै बनाएर विकास गर्ने बताउँछिन् उनी ।

प्रदेश ६ मा जुम्लाबाट सेजुवाल एक्ली मेयर भइन् भने सल्यानबाट दिलमाया बुढामगर एक्ली गाउँपालिका प्रमुख । कुमाखमालिका गाउँपालिकामा माओवादी केन्द्रबाट उम्मेदवारी दिएकी उनले जित चुमेरै छाडिन् । उनले पनि एमालेका पुरुष उम्मेदवार भैरवबहादुर शाहलाई १५ सय बढीको फराकिलो अन्तरले हराइन् । सल्यानमा ३ नगरपालिका र ७ गाउँपालिका छन् । बुढामगर सहिद परिवारकी सदस्य हुन् ।
उनको राजनीतिक उतार–चढाव उराठलाग्दो छ । युद्धकालमा गठित कालागाउँ गाउँ जनसरकार प्रमुख भएकी उनी जिल्ला जनसरकार उपप्रमुख पनि भइन् । माओवादी युद्धमा बुढाले श्रीमान् पनि गुमाउनुपर्यो ।
बुलेटबाट ब्यालेटसम्म आउँदा जनताबाट गाउँपालिका प्रमुखमा चुनिएकी बुढाले यो जितलाई ठूलो चुनौतीका रूपमा हेरेकी छिन् । भन्छिन्, ‘जनताको अपेक्षामा कहिल्यै खेलबाड गर्नेछैन ।’
०००
नवलपरासीको कावासोती नगरपालिकामा सीमा क्षत्री मेयर चुनिँदा जिल्लाकै हुप्सेकोट गाउँपालिकामा लक्ष्मी पाण्डे प्रमुख भइन् । नवलपरासीले दुईजना कार्यकारी प्रमुख पायो, पहिलो चरणको निर्वाचनमा । पाण्डेले कांग्रेसबाट टिकट पाएकी थिइन् । प्रतिद्वन्द्वी एमालेका मेघबहादुर पुलामीलाई उनले पछि पारिन् र कार्यकारी प्रमुखको पदमा पुगिन् ।
कांग्रेस महासमिति सदस्यको पदसम्म पुगेकी उनी १३ वर्षसम्म शिक्षण पेसामा थिइन् । जागिर छाडेर चुनाव लडेकी पाण्डेले हार व्यहोर्नुपरेन । विजयी भएसँगै उनले भनेकी छिन्, ‘हुप्सेकोटलाई देशकै नमुना बनाउँछु ।’ नयाँ पत्रिकाबाट