२०८३ साउन २२ शुक्रबार

काठमाडौँ महानगरको २०८०/८१ को बजेट नगर सभाबाट सर्वसम्मत पारित

ई आर्थिक    शनिबार, असार ३० २०८०
6.9K
Shares
काठमाडौँ महानगरको २०८०/८१ को बजेट नगर सभाबाट सर्वसम्मत पारित

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको बजेट सर्वसम्मत पारित भएको छ। हिजाे शुक्रबार राष्ट्रिय सभा गृहमा बसेको १३ औं नगर सभाको पाँचौँ बैठकले आर्थिक वर्ष २०८०/८१ को बजेट सर्वसम्मत पारित गरेको हो। गत असार १० गते महानगरकी उपप्रमुख सुनिता डङ्गोलले २५ अर्ब ५४ करोड रुपैयाँको बजेट पेस गरेकी थिइन्।

बैठकमा नगरसभा सदस्यहरूले फुटपाथ व्यापार निषेध मात्र नगरी त्यसको उचित व्यवस्थापन गर्न अनुरोध गरेका छन्। यस्तै २३ का वडाध्यक्ष मच्चाराजा महर्जनले महानगरबाट हनुमान ढोकामा सावरी साधन निषेध गर्न निर्देशन दिएको विषयमा असन्तुष्टि व्यक्त गरेका थिए।

‘महानगरबाट भोलिदेखि हनुमान ढोका परिसरमा ताला मार्न निर्देशन दिएको रहेछ,’ उनले नगरसभा बैठकमा भने, ‘हामी चार वटा वडा र त्यहाँका स्थानीयहरू बसेर समितिमा छलफल गरिरहेका छौँ। समितिहरूसँग छलफल गरेर ३१ गतेसम्म निष्कर्ष निकाल्ने गरी काम गरिरहेका छौँ।’

‘हामीले वडाबाटै काम गर्दा पनि च्यालेन्ज गरिएको हो’, उनले प्रश्न गरे, ‘हामी छलफल गरेर काम गरिरहेका छौँ। त्यस्तो काम नगर्नुस्। कसले (महानगरका मेयर बालेन शाह वा नगर प्रमुख राजुनाथ पाण्डे) निर्देशन दिएको हो जवाफ चाहियो।’

महानगरले दश वटा महानगर गौरवको योजनाका लागि ३ अर्ब ८० करोड रुपैयाँ विनियोजन गरेको छ। त्यस्तै, २५ वटा महानगर स्वर्णिम योजनाका लागि २ अर्ब रुपैयाँ विनियोजन गरेको छ।

महानगरले आर्थिक वर्ष २०८०/८१ मा सबैभन्दा धेरै बजेट शिक्षा क्षेत्रमा छुट्याएको छ। शिक्षाका लागि महानगरले ७ अर्ब ३४ करोड रुपैयाँ विनियोजन गरेको छ। २०७९/८० मा २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजार रुपैयाँ बजेट विनियोजन भएको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij