ई–आर्थिक, काठमाडौं : पोखरा इको रेड ब्रिक्स प्रालिले हलो ब्रिक (प्वाल भएको इँटा) को उत्पादन थालेको छ । इटाभट्टाबाट वातावरण प्रदूषण वढेको भन्दै चर्काे आलोचना हुँंदै आएपछि जर्मन प्रविधिमा आधारित हफ म्यान क्लिनबाट चाइनिज इँटा उत्पादन थालेको कम्पनीले कास्कीको पोखरास्थित पोल्याङबाटै प्वाल भएको (हलो व्रिक) को उत्पादन थालेको हो ।
पोखरा इको रेड ब्रिक्स प्रालिका अध्यक्ष इन्जिनियर कृष्णभक्त दुवालले भवन तथा अन्य पूर्वाधार निर्माणमा प्रयोग हुने सामान्य इँटाको सट्टा हलो ब्रिक आर्थिक हिसाबले सस्तो, वातावरणमैत्री र प्रयोग गर्न सजिलो हुने भएकाले यसको प्रयोगमा जोड दिँदै उत्पादन थालेको बताए । ‘बलियो र सस्तो घर निर्माण गर्नका लागि हलो ब्रिक प्रविधि निकै उपयोगी हुन्छ’, इन्जिनियर दुवालले भने, ‘यसले ऊर्जा किफायतीमा पनि सहयोग पनि पुग्छ ।’ सो भएकाले यस प्रविधिको विकास र विस्तारमा जोड दिनुपर्ने धारणा उनको छ ।
इन्जिनियर दुवालले देशैभरी १५ प्रतिशतको हलो ब्रिक्सको प्रयोगले कोइला खपतमा मात्र वार्षिक पाँच अर्ब बचत हुने तथ्यांक पेश गरेका छन् । हाल नेपालमा एक हजार तीन सय ५० वटा इँटा उद्योगबाट कोइला खरिदका लागि वार्षिक २५ अर्ब रुपैयाँ विदेशिएको तथ्यांक छ । दुवालका अनुसार यस्तो इँटामा इन्सुलेशन हुने हुँदा घर बाहिरको तापक्रम धेरै हुँदा पनि भित्र चिसो राख्न र बाहिर चिसो हुँदा घरभित्रको तापक्रम सन्तुलित हुन्छ ।
साथै, यसको तौल हल्का हुँदा घरको भार कम हुन्छ । यसमा फलामे डण्डीको प्रयोग धेरै नहुने हुँदा घर निर्माण गर्दा लाग्ने लागत पनि कम हुनुको साथै यसमा माटोको प्रयोग कम हुँदा कोइलाको खपत पनि स्वतः कम हुँदा इँटाभट्टाबाट हुने प्रदूषण पनि कम हुने उनको भनाइ छ । उद्योग पोखरा र दमौलीबाट करिव २० किलोमिटरको दुरीमा आफ्नै एक सय रोपनीको क्षेत्रफलमा उद्योग राखी इँटाको उत्पादन थालेको हो ।