२०८३ साउन १७ आइतबार

४३ ब्रोकर कम्पनीलाई आशयपत्र प्राप्त, लाइसेन्स रोक्न स्टक ब्रोकर एसोसिएसन अफ नेपालको माग

ई आर्थिक    आइतबार, बैशाख ३१ २०८०
12.1K
Shares
४३ ब्रोकर कम्पनीलाई आशयपत्र प्राप्त, लाइसेन्स रोक्न स्टक ब्रोकर एसोसिएसन अफ नेपालको माग

ई–आर्थिक, काठमाडौं । अहिलेसम्म नयाँ ब्रोकरको लाइसेन्सका लागि निवेदन दिएकामध्ये ४३ कम्पनीले ब्रोकरका रूपमा काम गर्न आशयपत्र प्राप्त गरेका छन् । आशयपत्र प्राप्त गर्ने ४३ मध्ये १२ वटा वाणिज्य बैङ्कका सहायक कम्पनी छन् ।

नेपाल धितोपत्र बोर्डले शुक्रबार बेलुका फेरि थप १४ कम्पनीलाई ब्रोकरका रूपमा काम गर्न आशयपत्र प्रदान गरेको हो । बोर्डले यसअघि २९ कम्पनीलाई ब्रोकरका रूपमा काम गर्न आशयपत्र प्रदान गरिसकेको छ ।

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूमा माछापुच्छे« सेक्युरिटिज लिमिटेड, प्रभु स्टक मार्केट, पाही इन्भेस्टमेन्ट प्रालि, बेनी सेक्युरिटिज प्रालि, ट्रेडमो सेक्युरिटिज प्रालि, इन्दिरा सेक्युरिटिज प्रालि, हातेमालो फाइनान्सियल सर्भिसेस प्रालि, रोडसो सेक्युरिटिज लि।, सजिलो ब्रोकर पब्लिक लि।, एप्पल सेक्युरिटिज प्रालि, म्याग्नेट सेक्युरिटिज एन्ड इन्भेस्टमेन्ट कम्पनी प्रालि, हिमालयन सेक्युरिटिज, सनी सेक्युरिटिज कम्पनी, सिजी इन्भेस्टमेन्ट एन्ड सेक्युरिटिज प्रालिसमेत गरी १४ वटा कम्पनी रहेका छन् । हिमालयन सेक्युरिटिज, सनी सेक्युरिटिज कम्पनीले पूर्ण कार्य गर्ने धितोपत्र दलाल व्यवसायीका रूपमा काम गर्ने आशयपत्र पाएका छन् भने अरू बाँकी १२ वटा कम्पनीले सीमित कार्य गर्ने धितोपत्र दलाल व्यवसायीका रूपमा काम गर्ने आशयपत्र पाएका छन् ।

नयाँ ब्रोकरको लाइसेन्सका लागि निवेदन दिएकामध्ये यसअघि १३ ब्रोकर कम्पनीले पनि आशयपत्र (एलओआई) पाएका थिए भने पहिलो चरणमा १६ ब्रोकर कम्पनीले आशयपत्र (एलओआई) पाइसकेका थिए ।

बोर्डका अनुसार एलओआई दिएको छ महिनाभित्र सम्बन्धित कम्पनीले पूर्वाधार निर्माण गरिसक्नु पर्ने छ । बोर्डले पूर्वाधार निरीक्षण गरेर योग्य ठहराएपछि अन्तिम लाइसेन्स दिइने बोर्डले जनाएको छ । आगामी दिनमा अन्य आवेदकका पनि आवेदन अध्ययन गरेर पूर्वाधार निर्माणको आशयपत्र दिइने बोर्डले जनाएको छ ।

हाल बजारमा ५० ब्रोकर कम्पनी सञ्चालनमा छन् । धितोपत्र व्यापारीका लागि एक अर्ब ५० करोड, पूर्ण कार्य गर्ने धितोपत्र दलालका लागि ६० करोड र सीमित कार्य गर्ने दलालका लागि २० करोड रुपियाँ चुक्ता पुँजी तोकिएको छ ।

आशयपत्र पाएको छ महिनाभित्रमा यी कम्पनीले पूर्वाधार तयार गरी धितोपत्र बोर्डलाई जानकारी दिनुपर्ने व्यवस्था छ । बोर्डले ३० दिनभित्र स्थलगत निरीक्षण र जाँचबुझ गरेर पूर्वाधार अपर्याप्त देखेमा बढीमा तीन महिनाको समय दिएर थप व्यवस्था गराउन लगाउने तथा सो अवधिमा पनि पूर्वाधार तयार नगर्नेको अनुमति स्वतः रद्द हुने बोर्डले जनाएको छ ।

यसैबीच नयाँ दलाल व्यवसायी (ब्रोकर) को लाइसेन्स रोक्न स्टक ब्रोकर एसोसिएसन अफ नेपालले माग गरेको छ । एसोसिएसनले एक प्रेस विज्ञप्ति जारी गर्दै स्टक एक्सचेन्जको लाइसेन्स रोके जस्तै दलाल व्यवसायीको लाइसेन्स पनि रोक्न माग गरेको हो ।

स्टक एक्सचेन्जको लाइसेन्स रोके जस्तै दलाल व्यवसायीको लाइसेन्स पनि तत्कालै रोकी यसमा भएको आर्थिक अनियमितताको छानबिन गरी कारबाही गर्न एसोसिएसनले अनुरोध गरेको छ । नेपाल धितोपत्र बोर्डले नयाँ नेतृत्व पाएदेखि नै सीमित साहुजीलाई प्रत्यक्ष लाभ पुग्ने गरी अध्ययन तथ औचित्यबिना नै विद्यमान ऐन नियममा पटक पटक संशोधन गरी स्टक एक्सचेन्ज र धितोपत्र दलाल व्यवसायीको लाइसेन्स वितरण प्रव्रिmया अगाडि बढाएको एसोसिएसनले आरोप लगाएको छ ।

यस्तै एसोसिएसनले धितोपत्र बोर्डबाट वितरण गर्न लागिएको स्टक एक्सचेन्जको लाइसेन्स तत्काल रोक्न सरकारले गरेको निर्णयलाई समेत प्रशंसा गरेको छ ।

नेपालको पुँजी बजार आर्थिक बेथितिको पहाड बनेको र विद्यमान कानुनमा रहेको जालसाजीयुक्त कारोबार तथा भित्री कारोबारको अनुगमन गर्ने भरपर्दो संयन्त्र नै नबनाई संस्थागत सुशासनमा नै प्रश्नचिह्न लागेका कम्पनी तथा निजका सञ्चालक, संस्थापकबाट कमजोरीको फाइदा उठाई सर्वसाधारण लगानीकर्ताको दोस्रो बजारमार्फत गरिएको खर्बौंको लगानी जोखिममा रहेको एसोसिएसनको दाबी छ ।

अनावश्यक विषयवस्तुको उठान गरी राजनीतिक नेतृत्वलाई प्रभावमा पारी वितरण गर्न लागिएको दलाल व्यवसायीको लाइसेन्सले भविष्यमा पुँजी बजारमा ठुलो दुर्घटना हुने एसोसिएसनले अनुमान लगाएको छ ।

एसोसिएसनले साहुजीहरूको प्रभावमा परी कोठे बैठकबाट नियमावली ड्राफ्ट गरी मन्त्रीपरिषद्बाट तीन दिनभित्रैमा पटक पटक नियमावली संशोधन गराउन सफल हुनुले आर्थिक लेनदेन भइसकेको अनुमान लगाउन सकिने दाबी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij