२०८३ साउन २२ शुक्रबार

चिया निर्यात ३० प्रतिशतले बढ्यो

ई आर्थिक    शुक्रबार, फाल्गुन १९ २०७९
8.8K
Shares
चिया निर्यात ३० प्रतिशतले बढ्यो

काठमाडौं । नेपाली चियाको निर्यात करीब ३० प्रतिशतले बढेको छ । व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका अनुसार चालू आर्थिक वर्षको पहिलो ७ महीना (साउन–माघ) मा चिया निर्यात अघिल्लो आर्थिक वर्ष (आव) को सोही अवधिको तुलनामा २९ दशमलव ९ प्रतिशतले बढेको हो ।

गत आवको ७ महीनामा नेपालबाट २ अर्ब ८ करोड रुपैयाँभन्दा बढीको ७ हजार ८४६ मेट्रिक टन चिया निर्यात भएको थियो । चालू आवको सोही अवधिमा निकासी रकम २९ दशमलव ९ प्रतिशतले बढेर २ अर्ब ७१ करोड रुपैयाँ पुगेको छ । निकासी परिमाण १२ हजार ५६४ मेट्रिक टन पुगेको छ । केन्द्रको तथ्यांकअनुसार उक्त अवधिमा कृषिजन्य वस्तुको निर्यातमा अलैंचीपछि चिया छ । नेपाली चिया भारत, अमेरिका, जर्मनी, बेलायतसहित विश्वका १ सय ६६ देशमा निर्यात हुन्छ ।

राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अनुसार आव २०७७/७८ मा नेपालबाट ३ अर्ब ७९ करोड रुपैयाँभन्दा बढीको ११ हजार ९२० मेट्रिक टन चिया निर्यात भएको थियो । बोर्डका सूचना अधिकारी दीपक खनालले गतवर्ष मौज्दात रहेको चिया यो वर्ष एकैचोटि निर्यात भएकाले निकासी परिमाण ह्वात्तै बढेको देखिएको बताए ।

गतवर्ष भारतले नेपाली चियाको गुणस्तर अन्तरराष्ट्रिय मापदण्डअनुसार नभएको भन्दै दार्जिलिङ चियामा नेपाली मिसाउन प्रतिबन्ध लगायो । यसले गर्दा नेपाली व्यवसायीले चिया निर्यात गर्न पाएनन् । नतिजा झापामा ३ हजार टन मौज्दात रहन पुग्यो । पछि बोर्डकै सक्रियतामा नेपाल सरकारले कूटनीतिक पहल गरेपछि भारतले उक्त प्रतिबन्ध हटायो । गतवर्षभन्दा यसवर्ष विभिन्न मुलुकबाट नेपाली चियाको माग बढे पनि निर्यात बढ्नुको मुख्य कारण मौज्दात चियाको निर्यात नै रहेको खनालले बताएको समाचार आर्थिक अभियानले लेखेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij