ई–आर्थिक, काठमाडौं । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले शुक्रवार (आज) देखि आईपीओ निष्कासन गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि आईपीओ निष्कासन गरेको हो ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका दरका २ लाख ५० हजार कित्ता शेयर निष्कासन गर्न लागेको हो । उक्त शेयर खरीदका लागि बाग्लुङ जिल्लाको जैमिनी नगरपालिकाको वडा नं १, ४ र ५ साविक कुस्मीसेरा, सर्कुवा र बिनामारे गाविसका तथा जैमिनी नगरपालिकाका अन्य वडाहरूका स्थानीय बासिन्दाहरूले आवेदन दिन सक्नेछन् ।
उक्त आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ता शेयर खरीदका लागि आवेदन दिन सक्नेछन् । आईपीओमा कात्तिक १८ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा माग बमोजिम आवेदन नपरेमा मंसिर ४ गतेसम्म आवेदन दिने समय थप हुनेछ ।
आईपीओ निष्कासनका लागि गराएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी इस्युअर रेटिङ बी माइनस प्रदान गरेको छ । यसले वित्तीय दायित्व वहन गर्ने क्षमतामा कम जोखिम अर्थात् उच्च सुरक्षित रहेको संकेत गर्दछ ।
कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले एनएमबि बैंक र ग्लोबल आइएमई बैंकको कुस्मीसेरा शाखा, कुमारी बैंकको राहाले शाखा र गरिमा विकास बैंकको ट्राफिक चोक शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै, नेपाल धितोपत्र स्वीकृति प्राप्त सम्पूर्ण सी(आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका शाखा कार्यालयहरूबाट पनि आवेदन दिन सक्नेछन् ।
कम्पनीले बाग्लुङ जिल्लामा १ दशमलव ५ मेगावाट क्षमताको ठेउले खोला जलविद्युत् आयोजना निर्माण गरेको छ । उक्त आयोजनाबाट कम्पनीले २०७४ साल असार २४ गतेदेखि व्यापारिक उत्पादन गर्दै आएको छ ।
आर्थिक वर्ष २०७७र७८ सम्मको वास्तविक वित्तीय विवरणअनुसार कम्पनी रू. ५ करोड ८९ लाखभन्दा बढी सञ्चित नोक्सानीमा रहेको छ । सो अवधिसम्म कम्पनीको प्रतिशेयर आम्दानी रू. १ दशमलव ९३ र प्रतिशेयर नेटवर्थ रू. ६४ दशमलव ९७ छ ।
गत असार मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार भने कम्पनी रू. ४ करोड ७७ लाखभन्दा बढी सञ्चित नोक्सानीमा रहेको छ । अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनीको प्रतिशेयर आम्दानी रू. ६ दशमलव १९ र प्रतिशेयर नेटवर्थ रू. ७३ दशमलव ४५ छ ।