नवलपुर । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा रहेको लेकबेँसी सामाजिक उद्यमी महिला सहकारी संस्थाले दशैंमा मात्रै रू. ७० लाख बराबरको खसीबोका विक्री गरको छ । दशैं शुरू भएयताको समयमा जिल्लाको हुप्सेकोट गाउँपालिका–४, झ्यालबासमा रहेको उक्त सहकारीले रू. ७० लाख बराबरको खसीबोका विक्री गरेको हो । सहकारीका व्यवस्थापक सुशीला परियारका अनुसार सहकारीले यस वर्ष चार सय ५० खसीबोका विक्री गरेको छ । किसानबाट खसीबोका संकलन गरी सहकारीले स्थापना गरेको संकलन केन्द्रमार्फत विक्री गर्दै आएको छ ।
जिल्लाको पहाडी भेगका किसानले हुर्काएका खसीबोका सहकारीले संकलन गर्छ । जिउँदो तौल प्रणाली अनुसार सहकारीले यस वर्ष खसीबोका प्रतिकेजी रू. पाँच सय ३० देखि पाँच सय ६० सम्ममा विक्री गरेको उनले बताइन् । सहकारीले किसानबाट खसीबोका संकलन गरी विक्री गर्दा किसानले पनि उचित मूल्य पाउने र किसानलाई बजारीकरणको दु:खसमेत नहुने उनको भनाइ छ । ‘अरू खसीबोका किन्न गए मूल्यको ठेगान हुँदैन,’ उनले भनिन्, ‘हामी तोकिएको मूल्य र सही तौल मापन गरी लिन्छौं र किसानलाई उचित मूल्य दिन्छौं ।’ यसअघि किसानले खसीबोका बेच्नका लागि निकै सास्ती खेप्नुपर्ने अवस्था थियो । अब किसानले कहाँ बेच्ने भन्ने चिन्तासमेत हटेको छ ।
उनका अनुसार अघिल्ला वर्षको तुलनमा यस पटक खसीबोका निकै कम विक्री भएको छ । गत वर्ष करीब एक हजार र त्यसअघिको दशैंमा एक हजार सात सय ५५ ओटा खसीबोका विक्री गरेकामा यस वर्ष निकै कम विक्री भएको छ ।
सहकारीले विगत ६ वर्षदेखि सामान्य मुनाफा राखी कृषकहरूबाट खसीबोका संकलन गरी विक्री गर्दै आएको छ । जिल्लाको मध्यविन्दु नगरपालिका–१२, तमासपुरमा रहेको अरुणज्योति सामाजिक महिला उद्यमी सहकारीका साथै मैनाघाटमा रहेको कृषि सहकारीले पनि खसीबोका संकलन गरी विक्री गर्दै आएका छन् । जिल्लामा रहेका सहकारीले कृषकबाट खसीबोका खरीद गरी विक्री गर्दा बजारीकरणमा बाख्रापालक किसानलाई सहज भएको छ । नवलपुरको पहाडी क्षेत्रमा प्रशस्त चरन क्षेत्र रहेकाले सो क्षेत्रका धेरैजसो किसानले बाख्रा पालन गर्छन् । सहकारीले सहज रूपमा बाख्रा खरीद गरिदिने र आम्दानीसमेत राम्रो लिन सकिने भएपछि पहाडी क्षेत्रका किसान बाख्रापालनतर्फ आकर्षित बनेका छन् ।