२०८३ भाद्र २६ शुक्रबार

यात्रुवाहक पानीजहाजमा भीषण आगलागी, ५ जनाको मृत्यु, ८७ बेपत्ता

ई आर्थिक    बिहिबार, भाद्र २५ २०८३
779
Shares
यात्रुवाहक पानीजहाजमा भीषण आगलागी, ५ जनाको मृत्यु, ८७ बेपत्ता

काठमाडौँ । फिलिपिन्समा यात्रुवाहक पानीजहाजमा भीषण आगलागी हुँदा कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने ८७ जना अझै सम्पर्कविहीन रहेको त्यहाँको तटरक्षक बलले जनाएको छ।

एमभी जुन एस्टर नामक पानीजहाजमा बुधबार आगलागी भएको हो। जहाज फिलिपिन्सको राजधानी मनिलाबाट पालावान प्रान्तको लोकप्रिय पर्यटकीय गन्तव्य कोरोनतर्फ जाँदै थियो। फिलिपिन्स कोस्ट गार्डका अनुसार जहाजमा यात्रु र चालक दलका गरी १३४ जना सवार थिए। तीमध्ये ११७ यात्रु र १७ जना चालक दलका सदस्य थिए।

आगलागीपछि उद्धार टोलीले ४२ जनालाई जीवितै उद्धार गरेको छ। उद्धार गरिएकामध्ये ३८ जना यात्रु र चार जना चालक दलका सदस्य रहेको बताइएको छ। हालसम्म पाँच जनाको मृत्यु पुष्टि भएको छ भने बाँकी ८७ जनाको खोजी तथा उद्धार कार्य जारी छ। कोस्ट गार्डले भने बेपत्ता व्यक्तिको संख्या प्रारम्भिक विवरणमा आधारित रहेकाले उद्धार अभियान अघि बढ्दै जाँदा तथ्यांक परिवर्तन हुनसक्ने जनाएको छ।

आगलागी भएको क्षेत्र समुद्रमा तीव्र धार र खराब मौसमका कारण उद्धारमा चुनौती देखिएको छ। कोस्ट गार्डका अनुसार जहाज सुरुमा संकटमा परेको स्थानबाट समुद्री धारले करिब ७ दशमलव ६८ नटिकल माइल टाढा पुर्‍याएको छ। आगलागीको कारण भने अहिलेसम्म खुलेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको फिलिपिन्स कोस्ट गार्डले जनाएको छ। जहाज कोरोनतर्फ जाँदै गर्दा पालावानको मार्सिला गाउँनजिक समुद्री क्षेत्रमा आगलागी भएको थियो। घटनास्थल मुख्य भूमिबाट तुलनात्मक रूपमा नजिक रहेकाले उद्धार गरिएका व्यक्तिलाई तत्कालै नजिकैको उद्धार केन्द्रमा लगिएको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij