२०८३ साउन ९ शनिबार

गोली लागेका जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको निधन

ई आर्थिक    शुक्रबार, असार २४ २०७९
6.9K
Shares
गोली लागेका जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको निधन

ई–आर्थिक, काठमाडौं । गोली प्रहार भएपछि गम्भीर घाइते भएका जापानका पूर्वप्रधानमन्त्री आबेको निधन भएको जापानी सञ्चारमाध्यमहरूले जनाएका छन् । उनी ६७ वर्षका थिए ।

सन्दिग्ध आक्रमणकारी ४१ वर्षीय पुरुष भएको बताइएको छ । उनी प्रहरी हिरासतमा छन् । ती व्यक्ति भूतपूर्व जलसैनिक भएको बताइएको छ ।

नारा सहरमा आयोजित एउटा राजनीतिक कार्यक्रममा सहभागी भएको बेला आबेमाथि गोली प्रहार भएको थियो ।

भाषण गरिरहेका शिन्जो आबेलाई दुई पटक गोली हानिएको थियो । दोस्रो गोली उनको गर्दनमा लागेको थियो ।

गोली लागेपछि उनी भुइँमा ढलेका थिए । उनको शरीर रक्ताम्मे देखिएको थियो ।

यसअघि टोक्योका पूर्वगभर्नर योइची मासुजोएले ट्वीट गर्दै आबे ‘मुटु र श्वासप्रश्वास नचलेको अवस्थामा’ भएको बताएका थिए ।

समाचार विवरणहरूका अनुसार उनलाई आक्रमण गर्ने व्यक्तिलाई प्रहरीले हिरासतमा लिएको छ ।

जापानमा हाते बन्दुक प्रतिबन्धित छ । त्यहाँ यस प्रकारको घटनालाई एकदमै दुर्लभ मानिन्छ ।

सामाजिक सञ्जालमा प्रेषित भिडिओहरूमा एउटा सडकको बीचमा स्वास्थ्यकर्मीहरू आबे वरिपरि बसेको देखिएको थियो । आबेलाई अस्पताल लगिएको थियो ।

नारा सहरको आपत्कालीन उद्धार निकायले आबेलाई गर्दनमा दाहिनेपट्टि र काँधको देब्रे हड्डीमा चोट लागेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij