ई–आर्थिक, काठमाडौं । लामो सयम थन्किएको रेलको शनिवार सफल परीक्षण सम्पन्न भएको छ । जनकपुरधाम रेल्वे स्टेशन हुँदै भारतीय रेल कम्पनीका प्राविधिक टोलीसहित जयनगर–कुर्था रेल लिकको सफल परीक्षण भएको हो ।
रेलमार्ग परीक्षणको क्रममा नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिए । रेलको अवस्था सबै ठीक रहेको बताउँदै परीक्षण सफल भएको उनले जानकारी दिए । यसलाई छिट्टै सञ्चालनमा ल्याउन पाए दुवै देशको लागि फाइदा हुने उनको भनाई छ । केही ठाउँमा क्लिप चोरी भएको कुरालाई ध्यानाकर्षण पनि गराएका थिए ।
उनले उद्घाटनको मिति भने अहिले निश्चित नभएको दुबै देशको प्रधानमन्त्रीद्वारा रेल उद्घाटन गराउने जानकारी दिँए । समय मिलेपछि उद्घाटन गर्ने मिति तय गर्ने उनको भनाई थियो । परिक्षण टोलीमा धनुषाका प्रमुख जिल्ला अधिकारीसहितको सहभागिता थियो ।
भारत सरकारको आर्थिक सहयोगमा भारतको जयनगरदेखि नेपालको कुर्थासम्म ३४.९ किलोमिटर रेलमार्ग तयार भएको हो ।
रेल करिब १५ महिनादेखि थन्किएको थियो । राखिएको रेलको शनिबार वस्तुस्थिति परीक्षण गरिएको हो । रेल सेटको इन्जिन कस्तो अवस्थामा छ भनेर परीक्षण गरिएको हो । आन्तरिक तयारी पूरा भएकोले चाँडै नियमित रेल सेवा सञ्चालन हुने कम्पनीका महाप्रबन्धक झाले जानकारी दिए ।
भारत सरकारको आर्थिक सहयोग अन्तर्गत ८.७७ अर्ब रुपैयाँमा निर्माण भएको ३४.९ किलोमिटर जयनगर–कुर्था खण्ड ६८.७२ किलोमिटर जयनगर–बिजलपुरा–बर्दिवास रेलमार्गकै एक हिस्सा हो । जयनगर–कुर्था खण्डमा ८ वटा स्टेसन रहेका छन् । नेपालले भारत सरकारसँग जीटुजीअन्तर्गत दुई थान रेल करिब ८५ करोड रुपैयाँमा भारतको सरकारी कम्पनी कोकन रेल्वे कर्पोरेसनसँग खरिद गरेको थियो ।