ई–आर्थिक, काठमाडौं । मन्त्रिपरिषद्ले बैठकले उडड्यन क्षेत्रसँग सम्बन्धित दुई संस्थामा नयाँ नियुक्ती गरेको छ । बैठकले नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्षमा इलामका युवराज अधिकारीलाई नियुक्त गरेको छ ।
त्यसैगरी नेपाल नागरिक उडड्यन प्राधिकरणको महानिर्देशकमा राजकुमार क्षत्रीलाई नियुक्त गरेको छ । क्षत्री हाल प्राधिकरणमा निमित्त महानिर्देशक थिए । महानिर्देशक क्षत्री अढाई महिनामा अनिवार्य अवकाश पाउँदैछन् ।
अधिकारी निगममा ३४ वर्ष काम गरेर डेढ वर्षअघि ५८ वर्षे अनिवार्य अवकाशबाट बिदा भएका थिए ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय स्रोतले गठबन्धनमा सहभागी नेपाल कम्युनिष्ट पार्टी (समाजवादी) का नेता झलनाथ खनालको सिफारिसका आधारमा अधिकारीलाई निगमको कार्यकारी अध्यक्षमा नियुक्त गरिएको समाचार स्रोतले उल्लेख गरेको छ ।
०७४ सालमा अधिकारी निगमको अर्थ विभाग प्रमुख हुँदा दुई जना महिला अधिकृतले ०७४ भदौमा आफूहरुलाई यौन हिंसा गरेको भन्दै उनीविरुद्ध तत्कालीन महाप्रबन्धक सुगतरत्न कंसाकारसहित प्रधानमन्त्री कार्यालय, महिला आयोगमा उजुरी गरेका थिए । निगमले त्यसबेला गरेको आन्तरिक छानबिनको सुझावका आधारमा उनलाई निलम्बन गरिएको थियो । अधिकारीले महिलाहरुको उजुरी सार्वजनिक नगर्न पत्नीसहित कार्यकक्षमै रुवाबासी गरेपछि ट्रेड युनियन, तत्कालीन मानव संशाधन विभाग प्रमुख र पीडित पक्षलाई राखेर ०७४ कात्तिकमा मिलापत्र गराएका थिए । अधिकारीले माफी मागेपछि मिलापत्र भएको बताइन्छ ।
उनले विगतको घटना त्यतिबेलै मिलिसकेको र अब आफूले त्यसबेला उजुरी गर्ने हस्ताक्षर संकलन गर्ने कुनै पनि कर्मचारीलाई भेदभाव नगर्ने सञ्चार माध्यमलाई प्रतिक्रिया दिएका छन् । निगममा हितमा काम गर्न उनले सबैसँग आव्हान समेत गरे ।
निगमको सञ्चालक समितिका अध्यक्ष सुशील घिमिरेले जेठ २८ मा राजीनामा दिएपछि अध्यक्ष पद खाली थियो । निगमको कार्यकारी प्रमुखमा डिमप्रसाद पौडेल थिए । कार्यकारी अध्यक्षमा अधिकारी आएसँगै महाप्रबन्धक पौडेलको जिम्मेवारी खुम्चिएको छ । कार्यकारी अध्यक्षसँग निगमको सञ्चालक समितिदेखि व्यवस्थापनसम्बन्धी सबै निर्णय गर्ने अधिकार हुन्छ ।
निगममा अहिले ५० अर्ब ऋणमा छ । निगमलाई निजीकरण गर्ने विवादस्पद प्रक्रिया पनि जारी रहेकै वेला निगमको तालाचाबी अधिकारीको जिम्मामा आइपुगेको छ ।