ई–आर्थिक, काठमाडौं । सञ्चालनमा ल्याउने तीब्र तयारी गरिरहेको प्रस्तावित नेपाल सहकारी बैंकले काठमाडौंको मध्य बानेश्वरमा आफ्नो सम्पर्क कार्यालय खुलेको छ । उक्त सम्पर्क कार्यालयको नेपाली काँग्रेसको वित्तीय तथा सहकारी संस्था समन्वय विभाग प्रमुख आनन्द प्रसाद ढुंगाना र विभागका सचिव एवं बैंकका अध्यक्ष सुरेन्द्र भण्डारीले संयुक्त रुपमा उद्घाटन गरे ।
६ महिना पछि कारोबार सञ्चालन गर्ने लक्ष्य राखेको उक्त बैंकले सम्पर्क कार्यालय खोल्ने र अन्य प्रक्रियागत कामहरुलाई पनि धमाधम अगाडी बढाई रहेको छ ।
प्रस्तावित बैंकका पदाधिकारीले यसअघि सञ्चालनमा आएको राष्ट्रिय सहकारी बैंकले सबै सहकारी क्षेत्रलाई समेट्न नसकेको आरोप लगाउँदै सबैको साझा सहकारी बैंकको रुपमा नेपाल सहकारी बैंक सञ्चालन गर्न लागिएको हो ।
नेपाली काँग्रेसका नेता ढुंगानाले अबको ६ महिनाभित्र बैंक सञ्चालनमा आउने बताए । उनले पुँजी र अर्थतन्त्रलाई चलायमान बनाउन सहकारी बैंकको अपरिहार्यता रहेको उल्लेख गरे । उनले एउटा मात्र बैंकले करिब ३४ हजार सहकारीलाई समेट्न नसकेपछि नेपाल सहकारी बैंक स्थापना गर्न लगिएकोमा खुसी लागेको बताउँदै त्यसको लागि आफ्नो र पार्टीको तर्फबाट सक्दो सहयोग रहने उल्लेख गरे । नेता ढुंगानाले प्रधानमन्त्री शेरबहादुर देउवाको समेत प्रस्तावित सहकारी बैंक स्थापना गर्ने चाहना रहेको सुनाए ।
प्रस्तावित बैंकका अध्यक्ष भण्डारीले नेपाल राष्ट्र बैंकको सञ्चालक समितिबाट सीमित बैंकिङ्ग कारोबार गर्न पाउने गरी लाइसेन्स पाउनासाथै नेपाल सहकारी बैंक सञ्चालनमा आउने बताए ।
राष्ट्र बैंकले तोके अनुसारको सबै प्रकृया पुरा गरी अन्तिम चरणमा रहेको उल्लेख गर्दै अब ६ महिनाभित्र अनुमति पत्र लिई बैंक सञ्चालनमा आउने उनले बताए ।
भण्डारीले राष्ट्र बैंक ऐनमा सहकारी बैंक सम्वन्धी व्यवस्था पनि थप हुनुपर्ने कुरामा जोड दिँदै सहकारी बैंक थपिँदा प्रतिस्पर्धा भई प्रारम्भिक सहकारी संस्थाहरूले राम्रो सेवा पाउने र ग्रामिण क्षेत्रमा पुँजीको विस्तार गर्न सहयोग पुग्ने बताए ।

तर राष्ट्रिय सहकारी बैंकका सञ्चालकहरूले भने नेपाल राष्ट्र बैंकबाट विगत चार बर्षदेखि नयाँ बैंक वित्तीय संस्थालाई लाइसेन्स नदिएकाले नेपाल सहकारी बैंकलाई पनि दिन नमिल्ने, एउटा सहकारी बैंक हुँदाहुँदै किन अर्को बैंक चाहियो ? भनेर कहिँकतै अवरोध गर्ने गरेको उनको गुनासो थियो ।
साढे दुई अर्ब रुपियाँ चुक्ता पुँजी प्रस्ताव गरिएको नेपाल सहकारी बैंक सञ्चालनमा आएपछि यसलाई देशव्यापी रुपमा विस्तार गरिने उनको भनाइ थियो । यसअघि बैंकले गएको माघ १७ गते प्रारम्भिक भेला आयोजना गरी बैंक स्थापनाको प्रक्रिया शुरु गरेको थियो ।
सहकारी ऐन–२०४८ मा भएको ब्यवस्था अनुरुप स्थापना भएको बैंक संचालनमा छ ।
ऐनको धारा १२ मा नेपाल राष्ट्र बैंकबाट पूर्व स्वीकृति लिइ सहकारी बैंकहरू गठन गर्न सकिने कुरा उल्लेख छ । त्यसैगरी सहकारी नियमावली–२०७५ को नियम ५ मा सहकारी बैंकको गठनका लागि सबै प्रदेशको प्रतिनिधित्व हुनेगरी कम्तिमा ५ सय १ संस्था वा संघ हुनुपर्ने व्यवस्था छ ।
सहकारी बैंक गठन गर्दा राष्ट्रिय सहकारी महासंघको समेत सिफारिस आवश्यक पर्ने व्यवस्था गरेको छ । सहकारी ऐनले सहकारी बैंकको सेयर पुँजी नेपाल राष्ट्र बैंकले तोके बमोजिम हुने प्रावधान छ ।
यो बैंक सञ्चालनमा आएपछि सहकारीहरुले कारोबार गर्ने बैंक दुईवटा हुनेछ । दुईवटा बैंकहरु सञ्चालनमा आए सदस्य संस्थाले थप प्रतिस्पर्धी र गुणस्तरीय सेवा प्राप्त गर्न सकिने विश्वास सहकारी क्षेत्रले लिएको छ ।