ई–आर्थिक, काठमाडौं । कतारमा रोजगारीको शिलशिलामा करिब ८ सय युवाहरुलाई अन्तर्वार्ता लिने क्रममा दुई म्यानपावर कम्पनीमा बैदेशिक रोजगार विभागले छापा मारेको छ ।
राजधानीको बसुन्धरामा रहेको एसओएस र गुहेश्वरीमा रहेको डीडी ओभरसिजमा कतारमा कामदारको लागि अन्तर्वार्ता लिने तयारी गरिरहेको समयमा विभागले छापा मारेको थियो । एसओएसमा ४ सयले अन्तर्वार्ता दिने तयारी भइरहेको थियो भने डीडी ओभरसिजमा ४ सयकै हाराहारीलाई अन्तर्वार्ता लिदै गर्दा विभागको टोली दुई म्यानपावरमा पुगेको थियो ।
यी दुबै कम्पनीले विभागबाट पूर्व श्रमस्वीकृति नलिएर युवाहरुको अन्तरवार्ता लिइरहेको भन्ने सूचनाका आधारमा छापा मारिएको विभागले जानकारी दिएको छ ।
यी दुई कम्पनीले मिनिस्टरी अफ इन्टिरियर ह्युमन रिसोर्स डिर्पाटमेण्ट कतारमा सुरक्षा गार्डको रुपमा पठाउने भन्दै अन्तरवार्ता लिइरहेका विभागको भनाई थियो ।
आकर्षक तलबको लोभमा म्यानपावर कम्पनीहरुले युवाहरुलाई फसाउने तयारी गरेको विभागको दाबी गरेको छ । विभागले यी दुई कम्पनीका सम्पूर्ण कागजात समेत नियन्त्रणमा लिएको जनाएको छ ।
यी कम्पनीहरुले सुरुमा मासिक ३ हजार कतारी रियल (करिब एकलाख) र ३ महिनापछि ६ हजार कतारी रियल (करिब ६ लाख) तलब हुने प्रलोभन देखाएका थिए ।
कागजात हेरेपछि आवश्यक अनुसन्धान गरी कारबाही प्रक्रिया अगाडि बढाइने विभागको भनाई छ ।