२०८३ साउन ९ शनिबार

भारतमा दुई महिनापछि फेरि उडान सुरू, विमानस्थलमा ठूलो भिड

ई आर्थिक    सोमबार, जेष्ठ १२ २०७७
5.9K
Shares
भारतमा दुई महिनापछि फेरि उडान सुरू, विमानस्थलमा ठूलो भिड

ई–आर्थिक, काठमाडौं । भारतमा लकडाउनका कारण बन्द भएको उडान दुई महिना पछि पुनः सञ्चालनमा आएको छ । दुई महिनापछि पहिलो पटक हवाई यातायात पुनः सञ्चालन हुँदा सोमवार विमानस्थलहरूमा ठूलो भिड लागेको छ ।

आज सोमबार देशभरि झन्डै १०० वटा उडान स्थगित भए पनि अरू सबै निर्धारित समयमै उडेका छन् । कोरोनाभाइरसबाट अतिप्रतिभावित महाराष्ट्र राज्यले एक दिनमा ५० वटा उडानलाई मात्र अनुमति दिने भनेपछि केही उडानहरू स्थगित भएका हुन् ।

यात्रीहरूले आफूलाई समयमै सूचना नदिइएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

‘हाम्रो उडान स्थगित भयो तर सहायताकक्षमा हामीलाई उत्तर दिने कोही छैन। अब के गर्ने हामीलाई थाहा छैन’, चेन्नईका एक यात्रीले समाचारसंस्था एएनआईलाई बताए । उनका अनुसार मार्च १५ देखि उनी सपरिवार चेन्नईमा अड्किएका थिए र मुम्बई फर्किन विमानको टिकट किनेका थिए । तर उनले विमानस्थल पुगेपछि मात्र उडान स्थगित भएको थाहा पाए ।

केही यात्रीहरूले सामाजिक सञ्जालमा राष्ट्रिय ध्वजावाहक एअर इन्डियाले आफूलाई सूचना नदिएको र उडान तालिका पनि भद्रगोल भएको भन्दै गुनासो गरेका छन् ।

अरूले विमानस्थल प्रवेश गर्न लामो पङ्क्तिमा घण्टौँ बसेपछि बल्ल आफ्नो विमान नउड्ने थाहा पाएको उल्लेख गरेका छन् । भारतले उडान पुनः सञ्चालन गर्नुअघि रोग रोकथाम गर्ने उपाय अवलम्बन गरेको छ ।

सुरक्षाकर्मीहरूले सबै यात्रुको ज्वरो नाप्ने र सरकारले बनाएको आरोग्य सेतु नामक कोभिड–१९ ट्र्याकिङ एप आफ्नो फोनमा डाउनलोड गरे नगरेको जाँच्ने गरेका छन् । त्यसबाहेक यात्रुका जुत्ता र झोला तथा अन्य सामान पनि निःसङ्क्रमण गर्ने गरिएको छ ।

भारतमा १,३९,००० जनाभन्दा बढीमा कोभिड–१९ पुष्टि भएको छ । तीमध्ये ४,००० जनाको मृत्यु भएको तथ्याङ्कले देखाउँछ । देशमा गत मार्च २५ देखि लकडाउन लागेको भए पनि भारतले प्रतिबन्धहरू बिस्तारै खुकुलो पार्ने प्रयास गरिरहेको छ । आजदेखि खुलेको हवाई यातायात त्यसैको सुरुवात भएको अधिकारीहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij