ई–आर्थिक, चितवन । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित संचालन गर्ने तयारीअनुसार भरतपुरमा निर्माण गरिएको साढे दुई तले क्रुजसिपको नारायणी नदीमा सफल परीक्षण गरिएको छ । दुई सय बीस यात्रु क्षमताको पानी जाहाजको आइतबार बेलुका २५ जना यात्रुसहित नारायणी नदीमा सफल परीक्षण भएको हो।
सिपलाई भरतपुरस्थित काभ्रेघाटमा रहेको ‘पोर्ट’ वरपर परीक्षण गरिएको थियो। परीक्षण गर्नलाई भारतबाट प्राविधिक टोली आएका थिए।’क्रुजसीप’ संचालन गरेर सफल परीक्षण भए सँगै निर्माणकर्ता खुसी भएका छन्। निर्माणस्थलबाट रहेको पोर्टबाट क्रुजलाई नदीमा राखिएको थियो। चालक दलका केही सदस्यसहित सञ्चालकले करिब डेढ किलोमिटर यात्रा गरेका थिए।

दसैंअघि नै संचालन गर्ने भनिए पनि डिजाइन फेरिएपछि समय लागेको थियो । क्रुजमा भीआइपी कक्षा, सेल्फी लिने तथा चलचित्र सुटिङ गर्न मिल्ने युनिट पनि थप गरिएको बताईएको छ । यो मिनी क्रुज एक सय फिट लम्बाइ र २५ फिट चौडाइमा निमार्ण गरिएको छ ।
राइनो वाटर इन्टरटेन्मेन्ट प्रालिका प्रबन्ध निर्देशक रामचन्द्र कँडेलले परीक्षण सफल भएको बताए । नेपालको पहिलो पानी जहाजको रुपमा यसको चर्चा हुने गरेको छ । ‘दुई वर्षको अथक प्रयासको प्रतिफलस्वरुप नेपालको इतिहासमा एउटा महत्वपूर्ण योजनाले लगभग मूर्तरुप लिएको छ, ‘कंडेलले भने, ‘ नेपालमै पहिलो पटक संचालन गर्न लागिएको हुँदा के होला भन्ने थियो।’

यो जहाज नर्वेजियन प्रविधिबाट निमार्ण गरिएको हो।भारतको केरलाका प्राविधिकले निमार्ण गरेका हुन्। सिंगापुर र भारतका प्राविधिकले नारायणी नदीको गहिराइको अध्ययन पछि संचालन गर्न सकिने निस्कर्ष निकालेका थिए ।
उक्त सीप एक करोड लागतमा निर्माण गरिएको कम्पनीको दावी छ। यसको तौल १० टन छ। निर्माण पूरा भइसक्दा यसको लागत १५ करोड पुग्ने कम्पनीको अनुमान छ । क्रुज निर्माणको काम पूर्ण भइसकेको छैन । क्रुजमा दुईवटा इञ्जिनमध्ये एउटा मात्रै संचालन हुने बताईएको छ ।
