समाजवादी पार्टी देशकै वैकल्पिक राजनीतिक शक्ति भएको भनाई
ई–आर्थिक, पोखरा । समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देशको वैकल्पिक राजनीतिक शक्तिका रुपमा समाजवादी पार्टी आएको बताएका छन् ।
कास्की क्षेत्र नं २ मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनको प्रचारप्रसारका क्रममा आज पोखरा महानगरपालिकाको वडा नं १५ र १७ मा घरदैलो गर्दै उनले देशमा पुराना पार्टीले पटकपटक जितेर पनि उही पुरातन सोचबाट बाहिर ननिस्किएका कारण समाजवादी पार्टी नयाँ सोचका साथ राजनीतिमा आएको बताए।
जनताका आशा एवं अपेक्षालाई समाजवादी पार्टीले पूरा गर्ने बताउँदै उनले कास्की क्षेत्र नं २ मा पार्टीका उम्मेदवार धर्मराज गुरुङलाई जिताएर देशका निम्ति नयाँ सन्देश दिन आग्रह गर।
चुनाव प्रचारप्रसारकै क्रममा पोखरा महानगरपालिका वडा नं १६ अर्मला पुगेका समाजवादी पार्टीका उम्मेदवार धर्मराज गुरुङले देशविदेशमा प्राप्त अनुभवलाई राजनीतिमार्फत संसद्मा पुगी आफ्नै देशमा उपयोग गर्ने बताए। जनताले मौका दिए काम गरेर देखाउने प्रतिबद्धता व्यक्त गर्दै उनले जालझेल र झुठको राजनीति कहिल्यै नगर्ने विश्वास व्यक्त गरे।
व्यक्तिलाई गाली गर्नुभन्दा राजनीतिलाई सफा गराउने काम जनताले नै गर्नुपर्ने उनको भनाइ छ। पार्टीले घरदैलो कार्यक्रमलाई अन्तिम चरणमा पुर्याएको सो पार्टीका प्रदेश संयोजक गणेशमान गुरुङले जानकारी दिए ।