ई–आर्थिक, भक्तपुर । आगामी मङ्सिर १४ गते हुने भक्तपुर–१ प्रदेश सभा (क) मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेद्वार देबीप्रसाद ढकाल प्रतिस्पर्धीभन्दा निकै बलियो देखिएको भनिएको छ ।
बौद्धिक र ईमानदार नेताका रुपमा परिचित ढकाललाई स्थानीय मतदाताले निर्बाचन क्षेत्रको बिकास निर्माण गर्नमा अरुभन्दा उपयुक्त पात्र भएको बिश्वास गर्नाले उनको माहौल चुलिएको छ । यतिबेला नेकपा तीनै तहका सरकारमा सत्तासिन भएको हुँदा उनले उठाएका एजेण्डाले नै महत्व पाउने हुदा उक्त क्षेत्रको लागि ढकाल उपयुक्त भएको मतदाताको ठहर रहेका छ । ३ नम्बर प्रदेशमा नेकपाको एकलौटी सरकार भएको र उक्त सरकार पूर्ण कालकालका लागि प्रचण्ड बहुमतमा रहेकाले यतिबेला नेकपाकै उम्मेद्वार जिताउनु आफ्नो क्षेत्रको लागि बुद्धिमतापूर्ण निर्णय मतदाताले ठहर गरेका छन् ।

निर्बाचनमा जनता सार्बभौम हुने हुदा यतिबेला पार्टीभन्दा आफ्नो ठाउँको बिकास निर्माणमा को उपयुक्त हुन्छ भन्ने निर्णय महत्वपूर्ण हुने त्यस क्षेत्रका आम मतदाताको राय देखिन्छ । ‘म नेकपाको कार्यकर्ता, समर्थक केही होइन । तर भोट सूर्यमा दिन्छु ।’ स्थानीय सुरेश अवालेले भने ‘सत्तामा रहेका ब्यक्तिलाई काम गर्न सजिलो हुन्छ ।अन्य पार्टीका उम्मेद्वार जितेमा उसको सुनुवाई नै हुदैन । हामीलाई पार्टीभन्दा बिकास चाहिएको छ ।’
उनी बिजयी भएमा जुनसुकै बेला पनि मन्त्री हुन सक्ने ब्यक्तित्व हुन । संघ सरकारले मन्त्रीपरिषद पुनर्गठन गरे जस्तै प्रदेशमा पनि मन्त्री परिषद पुनर्गठन हुन्छ । त्यसमा ढकाल पहिलो छनोटमा पर्ने नेता हुन । त्यसो त उक्त क्षेत्रमा नेकपा अत्याधिक बलियो पनि मानिएको छ । त्रिपक्षीय प्रतिस्पर्धा भए पनि नेकपाको जित सुनिश्चित भएको स्थानीय नेता विश्वस्त छन् ।
गाविस हुदाँदेखि नै तत्कालीन एमालेको पकड रहेको यो क्षेत्रमा गत प्रदेशसभा निर्वाचनमा तत्कालीन नेकपा (एमाले) का उम्मेदवार हरिशरण लामिछाने विजयी भएका थिए। मष्तिस्कघातका कारण लामिछानेको निधन भएपछि यस क्षेत्रमा रिक्त रहेको प्रदेशसभा सदस्यमा उपनिर्वाचन हुने भएको हो ।

प्रदेशसभाको गत निर्वाचनमा (एमाले) का उम्मेदवार लामिछानेले १२ हजार ७८९ मत ल्याएर विजयी भएका थिए भने निकटतम् प्रतिस्पर्धी नेपाली काङ्ग्रेसका जीवन खत्रीले नौ हजार ९७७ मत ल्याएका थिए । नेमकिपाका निरज लवजुले भने सात हजार १९ मत प्राप्त गरेका थिए ।
नेकपाका उम्मेद्वार ढकाल अर्थ राजनीतिमा पोख्त वौद्धिक युवा नेता मानिन्छन् । प्रदेश नम्बर ३ को भावी अर्थमन्त्रीको रुपमा पार्टीले उनलाई उम्मेदवार बनाएको चर्चा पनि छ । आर्थिक क्षेत्रका जानकार भएकाले ढकालले भक्तपुरको विकासका लागि योगदान गर्न सक्ने विस्वास आम भक्तपुरबासीले गरेका छन् ।
पूर्वउद्योगमन्त्री एवं भक्तपुरका निर्वाचन क्षेत्र नम्बर २ का सांसद महेश बस्नेतले समेत ढकाललाई भक्तपुरको बिकासमा सहयोगी बनाउन अघि सारेपछि ढकालको जीत झनै सुनिश्चित बनेको बताउँछन् ।

उम्मेदवार ढकालले मतदाता समक्ष आफूले प्रदेशबाट ठूलो राशिको बजेट ल्याएर यस क्षेत्रको विकास निर्माण र समृद्धिमा योगदान गर्ने प्रतिवद्धता प्रकट गरेका छन् । ‘बजेट ल्याउन मलाई जति उपयुक्त बाताबरण अरुलाई छैन ।’ उनी भन्छन् ।
