दक्षिण अफ्रिकी मुलुक सुडान, नाइजेरिया र सोमालियामा सबैभन्दा बढी खाद्यान्न संकट
विश्वभरका १० करोड मानिस भोकमरीको चपेटामा परेका छन् । संयुक्त राष्ट्रसंघले आइतबार सो जानकारी दिएको हो । मानवीय सहयोग प्रदान नगरे भोकमरी अझै बढ्ने राष्ट्रसंघले चेतावनी दिएको छ ।
२० प्रतिशतले बढ्यो
विश्वभरका १० करोड २० लाख मानिस भोकमरीको सिकार भएको राष्ट्र«संघको खाद्य तथा कृषि संगठन ९एफएओ०का आपत्कालीन शाखाका निर्देशक डोमिनिक्यु बर्जनले बताए । यो संख्या सन् २०१५ को तुलनमा २० प्रतिशतले बढी हो । सन् २०१५ मा आठ करोड मानिस भोकमरीको जोखिममा थिए ।
अफ्रिकी मुलुक बढी प्रभावित
भोकमरीबाट अफ्रिकी मुलुक सबैभन्दा बढी प्रभावित छन् । राष्ट्र«संघका अनुसार दक्षिणी सुडान, नाइजेरिया र सोमालियामा सबैभन्दा बढी खाद्यान्न संकट देखिएको छ । खडेरीका कारण सन् २०१६ मा ती देशमा खाद्यान्न उत्पादनमा ह्रास आएको थियो । ती देशमा मानवीय सहयोगका कारण अहिलेसम्म धेरै मानिसलाई जीवितै राख्न सम्भव भए पनि खाद्यान्न व्यवस्था गर्न भने कठिनाइ भएको राष्ट्र«संघले जनाएको छ ।
लगानी वृद्धिमा जोड
भोकमरीग्रस्त देशमा कृषि उत्पादनमा वृद्धि गरी लगानी बढाउन राष्ट्रसंघले जोड दिएको छ । कृषि क्षेत्रमा लगानी वृद्धि गरिए अनिकालविरुद्ध जुध्न सहयोग पुग्ने राष्ट्रसंघले जनाएको छ । ‘प्रभावित मानिसलाई निरन्तर खाद्यान्न सहयोग उपलब्ध गराइए पनि पर्याप्त मात्रामा लगानी हुन सकेको छैन,’राष्ट्रसंघले भनेको छ, ‘उनीहरूलाई खाद्यान्न संकटबाट बचाउन सकिए पनि खाद्यान्न असुरक्षाबाट जोगाउन सकिएको छैन ।’
युद्धले बढायो संकट
यमन, उत्तर–पूर्वी नाइजेरिया र दक्षिण सुडानमा भएका युद्धले एकातर्फ घरबार तहसनहस पारेको छ भने अर्कोतर्फ खाद्यान्न उत्पादनमा असर गरेको छ । पूर्वी अफ्रिकी देशमा सरकार र सशस्त्र समूहबीच भएका द्वन्द्वले त्यहाँको कृषि अर्थतन्त्र तहसनहस पारेको छ । सन् २०१३ देखि द्वन्द्वको चपेटामा परेको दक्षिण सुडानका केही भागमा गत फेब्रुअरीमा औपचारिक रूपमा खाद्यान्न संकट घोषणा गरिएको थियो ।
युद्धको प्रभाव खाद्यान्नमा
कुनै वेला अन्न भण्डारणको मुख्य केन्द्रबिन्दु बनेको उत्तरपूर्वी नाइजेरियमा सरकार र सशस्त्र लडाकु संगठन बोको हरामबीचको युद्धका कारण १८ लाख मानिस विस्थापित भएका छन्, जसका कारण उनीहरू खेती किसानी छाडेर सुरक्षित क्षेत्रतर्फ बसोबास गरेका छन् । जिहादी समूहको नियन्त्रणमा रहेको अधिकांश क्षेत्रमा सरकारले कारबाही सुरु गरेको छ भने हजारौँ शरणार्थी गाँउमा फर्किएर खेती किसानी गर्ने आशा गरिएको छ । नाइजेरियाका झन्डै २० लाख मानिसलाई केही साताभित्र आवश्यक पर्ने दुई करोड डलरमध्ये मुस्किलले एकतिहाइ उठाएको राष्ट्रसंघले जनाएको छ ।
विकाराल रूप लिन सक्ने
खाद्य संकटको समस्या समयमै सम्बोधन नगरे यसले विकाराल रूप लिने राष्ट्रसंघले चेतावनी दिएको छ । ‘आफ्नो क्षेत्रमा फर्किएर खेती गर्न चाहने किसानलाई सहयोग नगरे सन् २०१८ सम्ममा उनीहरूलाई ठूलो सहयोग गर्नुपर्ने हुन्छ,’ राष्ट्रसंघले भनेको छ । पर्याप्त रकमको अभावमा विश्व खाद्य कार्यक्रमले सिरियामा पर्याप्त मात्रामा सयोग प्रदान गर्न नसकेको जनाएको छ । सिरियामा सन् २०१६ मा अहिलेसम्मकै सबैभन्दा न्यून परिणाममा खाद्यान्न उत्पादन भएको छ । यसअघि विश्व खाद्य कार्यक्रमले दुई करोड मानिस ६ महिनाभित्र भोकमरीबाट मर्ने खतरा रहेको जनाएको छ । एेजेन्सीहरूकाे सहयाेगमा