ई–आर्थिक, काठमाडौं : काठमाडौंको देवीनगरमा बन्दै गरेको एउटा भवन विवादमा परेको छ । धोविखोला करिडोर आसपासमा देवीनगरमा १० बानेश्वरमा बन्दै गरेको सो भवन स्थानीय इन्द्र चाम्लिङ्गको हो । उक्त भवन अहिले निर्माणको मध्यम चरणमा रहेको छ ।
‘मिनी कम्प्लेक्स’ जस्तै रहेको उक्त भवन नक्सा पास भन्दा बढी तला निर्माण गरेको महानगरपालिकाले जानकारी दिएको छ । उक्त भवनलाई महानगरपालिकाले ५ तला निर्माणको अनुमति दिएको बतायो । ‘ग्राउण्ड फ्लोर’ सहित सो भवन अहिले आठौं तला निर्माण भइरहेको महानगरपालिले जनाएको छ । आठौं तलामा आजै ढलानको तयारीमा रहेकै अवस्थामा काठमाडौं महानगरपालिकाको नगर प्रहरीको एक टोली उक्त भवन निर्माणस्थल देवीनगरमा पुगेको थियो । सो टोलीले भवन निर्माणमा प्रयोग गर्ने केही मेशिनरी सामान सहित जफत गरेको छ ।

काठमाडौं महानगरपालिकाका इन्स्पेक्टर शिवलाल पौडेलको नेतृत्वमा आएको दर्जन भन्दा बढी नगरप्रहरीको सो टोलीले भवन निर्माणमा प्रयोग हुने सावेल, थुन्से, पाइप लगायतका केही सामाग्री जफत गरेको थियो । सो सामान जफत गर्ने समयमा इन्स्पेक्टरको नेतृत्वमा केही जनपथ प्रहरीको समेत उपस्थिति रहेको थियो । उक्त भवन निर्माण प्रक्रिया जारी राखेको भन्दै नगर प्रहरी र प्रहरीको अर्को टोली फेरि दोस्रो पटक भवन निर्माणस्थल पुगेकोे थियो । सो टोलीले पनि निर्माण उपकरण जफतको प्रयास गरेको थियो ।

मापदण्ड विपरित भवन निर्माण गरेकाले निर्माणमा प्रयोग हुने सामाग्री जफत गर्नु परेको महानगरपालिकाका इन्स्पेक्टर पौडेलले जानकारी दिए । ‘नक्सा पास बमोजिम मात्रै भवन बनाउन यसअघि पनि जानकारी गराएका थियौं ।’ उनले भने– ‘जबरजस्ती भवन बनाउने कार्यलाई जारी राखिएकाले बाध्य भएर निर्माण उपकरण जफत गरेका हौं ।’ महानगरपालिका महानगरको सुशासन, नियम र मापदण्ड पालना गराउने कार्यमा कुनै पनि कसर बाँकी नराख्ने उनको भनाई थियो ।
उक्त भवन आसपासमा सार्वजानिक जग्गाका साथै सडकमा समेत निर्माण सामाग्री राखी सवारी आवगमनलाई समेत अवरोध पु¥याएको महानगरपालिकाले आरोप लगाएको छ ।

उता उक्त भवनका मालिक इन्द्र चाम्लिङ्गले भने विना सूचना ‘डकैति शैली’मा निर्माण उपकरण लिएर गएको आरोप लगाए । आफूले भवन निर्माण संहिता पालना गरेरै भवन निर्माण गरिरहेको उनले दाबी गरे । भ¥याङ्ग छोप्ने जस्ता कार्य गर्दा केही बढी जस्तै भएको उनले बताए । काठमाडौंका धेरै भवन मापदण्ड विपरित भएको भन्दै सबैलाई पालन गराउन उनले महानगरपालिकालाई चुनौति दिए ।
