ई–आर्थिक, चितवन : चितवनको रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष राजाराम रेग्मीलाई प्रहरीले पक्राउ गरेको छ । टिकौलीमा रहेको सडक बोर्डको दस्तुर संकलन केन्द्रमा हुलदंगा गर्दा प्रहरीमाथि अभद्र व्यवहार गरेको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । सो घटना पछि उनी प्रहरीको फरार सूचीमा रहेका थिए ।
सो हुलदंगा र आगजनीका क्रममा असई कल्पना खड्का घाइते भएकी थिइन । हुलदंगापछि प्रहरीमाथि अभद्र व्यवहार गरेको आरोपमा रेग्मीलाई बुधबार दिउँसो नियन्त्रणमा लिएको चितवनका प्रहरीले जानकारी दिएको छ । अध्यक्ष रेग्मीलाई अहिले जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ।
आफूलाई पक्राउ नगर्न आग्रह गर्दै जिल्ला प्रशासन कार्यालय पुगेका रेग्मीलाई कार्यालय परिसरबाटै पक्राउ परेका थिए । प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले कानुन अनुसार प्रक्रिया अगाडि बढ्ने बताएका छन् ।