ई–आर्थिक, काठमाडौं । एनआई सी एशिया बैंक लिमिटेड र एभरेष्ट अस्पताल प्रालि काठमाडौं बीच एक संझौता सम्पन्न भएको छ । संझौता बमोजिम बैंकका कर्मचारी, बैंकका डेबिट एवं क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकवर्गलाई एभरेष्ट अस्पतालमा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा ५ देखि १० प्रतिशतसम्मको छुट पाइने भएको छ ।
उक्त संझौता पत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत सन्तोषकुमार राठी र एभरेष्ट अस्पतालको तर्फबाट अस्पतालका प्रशासन प्रमुख दीपक चन्द्र बरालले हस्ताक्षर गरेका थिए ।
बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २८३ शाखा कार्यालयहरु, २८९ एटिएम, ४१ वटा एक्सटेन्सन काउण्टर एवं २६ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको जानकारी दिएको छ ।
करिब १६ लाख ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेको बैंकको भनाई छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको पनि जानकारी दिएको छ ।
बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा कार्यालय संचालन गर्ने योजना अगाडि सारेको जानकारी दिएको छ ।