२०८३ साउन ९ शनिबार

बैंकिङ कसुरका १५ मुद्दाको किनारा, २१ अर्बभन्दा बढी बिगो दाबी

ई आर्थिक    मंगलबार, माघ १५ २०७५
4.1K
Shares
बैंकिङ कसुरका १५ मुद्दाको किनारा, २१ अर्बभन्दा बढी बिगो दाबी

कमला अर्याल, काठमाडौँ । बैंकिङ कसुरमा चलेका विभिन्न १५ मुद्दाको किनारा लागेको छ । प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)को पछिल्लो तथ्यांकअनुसार गोरखा डेपलपमेन्ट बैंक, नेपाल सेयर मार्केट एन्ड फाइनान्स लिमिटेड, क्यापिटल मर्चेन्ट एन्ड फाइनान्स कम्पनी, जनरल फाइनान्स कम्पनी र प्रोग्रेसिप फाइनान्स कम्पनीको बैंकिङ कसुरको मुद्दा फैसला भएको सीआईबीले जनाएको हो ।

त्यसैगरी, मुद्दा फैसला हुने अन्य बैंक तथा वित्तीय संस्थामा युनाइटेड विकास बैंक,क्रिस्टल फाइनान्स, श्रीलंका मर्चेन्ट बैंक, एच एन्ड बी डेभलपमेन्ट बैंक, हिमालय फाइनान्स कम्पनी रहेका छन् । त्यस्तै, वैभव फाइनान्स कम्पनी, एबी बैंक, सम्झना फाइनान्स कम्पनीलगायतका बैंक तथा वित्तीय संस्थाको मुद्दा फैसला भएको सीआईबी प्रवक्ता उमाप्रसाद चर्तुवेदीले बताए ।

सीआईबीका अनुसार मुद्दा फैसला भएको तत्कालीन गोरखा डेपलपमेन्ट बैंकका तीन जनालाई पक्राउ गरी ८६ करोड ७३ लाख १६ हजार ८७८ रुपैयाँबराबरको बिगो माग गरिएको थियो । त्यसैगरी, नेपाल सेयर मार्केट एन्ड फाइनान्स लिमिटेडका कसुर गर्ने तीन जनालाई पक्राउ गरी ५ अर्ब ७९ करोड २ लाख ४४ हजार ३३५ रुपैयाँबराबरको बिगो माग दाबी गरिएको छ ।

क्यापिटल मर्चेन्ट एन्ड फाइनान्स कम्पनीको पनि ७ अर्ब ७३ करोड ५७ लाख ४५ हजार ७०५ रुपैयाँबराबरको रकम दाबी गरिएको छ भने सो कम्पनीका आठ जना पक्राउ गरिएको सीआईबीले जनाएको छ । जनरल फाइनान्स कम्पनीको पनि १३ करोड ९९ लाख ४५ हजार ८८८ रुपैयाँबराबरको बिगो दाबी गरिएको छ । यस कम्पनीका दुई जनालाई पक्राउ गरी कारबाही चलाएको सीआईबीले जनाएको छ । त्यस्तै, नेपाल विकास बैंकका एक जनालाई पक्राउ गरी ३६ करोड ५ लाख ७० हजार २७३ रुपैयाँ बिगो दाबी गरेको छ । सीआईबीका अनुसार सम्झना फाइनान्स कम्पनीका कसुर गर्ने दुई जना पक्राउ गरी कारबाही चलाइएको थियो ।

उक्त कम्पनीलाई ६ करोड २८ लाख ९२ हजार ९५९ रुपैयाँबराबरको बिगो दाबी गरिएको थियो । त्यसैगरी, युनाइटेड विकास बैंकले ९ करोड २४ लाख २८ हजार २०६ रुपैयाँबराबरको घोटाला गरेको थियो । कम्पनीका दुई जनालाई पक्राउ गरी कारबाही चलाएको सीआईबीले जनाएको छ ।

त्यसैगरी, सीआईबीले क्रिस्टल फाइनान्स, श्रीलंका मर्चेन्ट एन्ड फाइनान्स कम्पनी, एच एन्ड बी फाइनान्स कम्पनी , हिमालय फाइनान्स कम्पनी, वैभव फाइनान्स कम्पनीलगायतका बैंक तथा वित्तीय संस्थाउपर सीआईबीले बैंकिङ कसुरअन्तर्गत मुद्दा चलाएको थियो ।

सीआईबीको पछिल्लो तथ्यांकअनुसार हरेक वर्ष बैंकिङ कसुरका घटना बढिरहेका छन् । सीआईबीले विभिन्न बैंकिङ कसुरका घटनामा हालसम्म १९६ जना पक्राउ परेका छन् । जसमा २१ अर्ब ३७ करोड ४१ लाख ९७६ घोटाला भएको भन्दै बिगो दाबी गरी अदालतमा मुद्दा दायर गरेको छ । चालू आर्थिक वर्षको ६ महिनासम्म आइपुग्दा बैंकिङ कसुरका घटना हरेक दिन जसो बढेको देखिएको छ ।

सीआईबीका प्रवक्ता उमाप्रसाद चर्तुवेदीले छिटो समयमा आरामदायी तरिकाले धनी बन्ने सपनाले बैंकिङ कसुरका घटना बढेको बताए । उनका अनुसार बैंकिङ कसुरमा संलग्न अधिकांश व्यक्ति बैंकिङ प्रणाली तथा प्रविधिका जानकार रहेको अनुसन्धानमा खुलेको छ ।

राजधानीबाट

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij