निगमका कार्यकारी अध्यक्ष मदन खरेलका अनुसार यसै सातादेखि निगमले सबै विमानलाई मर्मत गर्दै कमर्सियल उडानमा थप्दै छ। ‘१० गतेदेखि चिनियाँ विमान मोर्डन आर्क (एमए) ६० ले चारवटै सुगम रुटमा नियमति उडान गर्ने छ,’ कार्यकारी अध्यक्ष खरेलले कान्तिपुरसँग भने। सुगम रुटका लागि निगमसँग दुईवटा ५६ सिट क्षमता भएका एमए-६० विमान मात्र छन्।
निगमले चाडपर्वको अवधिभर दुवै विमान नियमित उडाउने जनाएको छ। यसअघि दुवै विमान उडाइएको बिरलै छ। इन्जिनियरहरुले एउटा बिग्रिँदा अर्कोको स्पेयर्स पार्ट हालेर एउटा विमानमात्रै उडानयोग्य बनाउथे। विगतका वर्षहरुमा भने निगमको इन्जिनियरिङ, कर्मसियल र अपरेशन विभागका केही कर्मचारीको मिलोमतोमा चाडपर्वको समयमा विमान ग्राउन्डेड गर्ने लगायतका चलखेलले निजी एयरलाइन्सलाई फाइदा हुन्थ्यो।
खरेलले यसपटक चाडपर्वमा सातवटै विमान उडाउने घोषणाले यात्रुहरुलाई फाइदा पुग्ने छ। ‘निगम भित्रका केही लोभी कर्मचारीले यसपटक पनि निजी एयरलाइन्ससँग मिलेर चलखेल गर्न खोजेर विमान मर्मत नै नगर्न खोजेका थिए। तर कार्यकारी अध्यक्षले सबै विमान उडान योग्य बनाउन कडाई गर्दै निगरानी बढाएपछि केहीलाई हैरानी भएको छ,’ निगमको आन्तरिक विमानस्थलका एक कर्मचारीले भने।
निगमको अपरेशन विभागका अनुसार, एमए-६० विमान उडाउन एक जना श्रीलंकनसहित ५ जना क्याप्टेन र ७ जना को-पाइलट छन्। निगमले धनगढी दैनिक दुईटा उडानको तयारी गरेको छ। ‘धनगढी रुट लाभदायी छ, दुईटा उडानको तयारीमा छौं,’ एक अर्का अधिकारीले भने। निगमसँग भएका दुइटा एमए-६० मध्ये एउटा एक महिनाअघिदेखि इन्जिन मर्मत गर्नुपर्ने भएकाले ग्राउन्डेड थियो भने अर्को जहाजको एउटा ब्लेड फेर्नै पर्ने भएकाले गत बिहीबारदेखि उडाइएको थिएन। ‘सोमबार चीनबाट इन्जिनियर आइसकेकाले मंगलबारभित्र यो विमान उडानयोग्य भइसक्ने छ,’ कार्यकारी अध्यक्ष खरेलले भने।
निगमले चारवटा साना चिनियाँ जहाज वाई-१२-इ पनि चाडवाडमा उडाउने भनेको छ। यी विमानले काठमाडौंबाट सिमरा, पोखरा र भैरहवाका लागि मात्रै उडान गर्दै आएका छन्। सोमबार निगमले पहिलोपटक लुक्लाकालागि परीक्षण उडान राखेको थियो। यस विमानका प्रशिक्षक पाइलट आङनुरी शेर्पा र क्याप्टेन उद्धव घिमिरेले लुक्लाकालागि परीक्षण उडान गरेका थिए। मौसम बिग्रिएकाले यो विमान लुक्ला विमानस्थलमा अवतरण हुन नसकेर रामेछाप डाइभर्ट भएको थियो। ‘दुर्गम भेगका यात्रुको सेवाकालागि ल्याइएका यी विमानबाट दुर्गम रूटमा परीक्षण उडान नै गरिएको रहेनछ,’ कार्यकारी अध्यक्ष खरेलले भने, ‘सोमबार मौसम खराब भएकाले लुक्लामा परीक्षण उडान गर्न सकेनौं। तर, रामेछापमा पहिलोपटक वाई-१२-इले सफल परीक्षण उडान गरेको छ।’ यो विमानबाट जोमसोम र कर्णालीमा पनि परीक्षण उडान गर्ने निगमले तयारी गरेको छ। निगमसँग यो विमान उडाउने ११ जना पाइलट छन्।
कान्तिपुरबाट