२०८३ साउन ९ शनिबार

अझै तुइनकै भर : अढाई लाख नागरिक जोखिमपूर्ण तुइन प्रयोग गर्न बाध्य

ई आर्थिक    आइतबार, जेष्ठ १३ २०७५
3.5K
Shares
अझै तुइनकै भर : अढाई लाख नागरिक जोखिमपूर्ण तुइन प्रयोग गर्न बाध्य

प्रदेश ७ का पहाडी जिल्लाका विभिन्न २५ ठाउँका बासिन्दा अहिले पनि तुइन प्रयोग गर्नुपर्ने बाध्यतामा छन्। खोला तथा नदीमा पुल नहुँदा तुइनको सहारा लिनुपरेको हो। सरकारले तुइन विस्थापन घोषणा गरेको अढाइ वर्षमा सुदूरपश्चिमका ७ स्थानमा मात्रै पुल निर्माण भएका छन्। अझै २५ वटा तुइन प्रयोगमा छन्। प्रदेश ७ का सात पहाडी जिल्लाका स्थानीयले ठूला–साना नदी तथा खोला तर्न तिनै तुइन प्रयोग गर्छन् ।

पहिलोपटक त्रीको पदभार ग्रहण गर्नासाथ मुलुकलाई दुई वर्षभित्र तुइनमुक्त बनाउने केपी शर्मा ओलीको निर्णय अढाई वर्ष बितिसक्दा पनि कार्यान्वयनमा आएको छैन। ओली दोस्रोपटक प्रधानमन्त्री भएको पनि सय दिन नाघिसकेको छ।

बझाङको धमेना चिरकिट्टेमा सेती नदी वारपार गर्न तुइन बनाइएको छ। ज्यानको बाजी लगाएर तुइन प्रयोग गर्नुपरेको तलकोट–३, की माया जोशी बताउँछिन्। ‘गाउँपारिको जंगल आउजाउ गर्न सधैँ तुइन प्रयोग गर्नुपर्छ,’ उनले भनिन्, ‘तुइनमा झुन्डिएर घाँसदाउराको भारी ओसार्नु हाम्रो दैनिकी हो। कहिलेकाहीं तर तुइन चुँडिएर मरिन्छ कि जस्तो लाग्छ।’ तुइन विस्थापित गरी पुल हाल्न गाउँपालिका, जिल्ला समन्वय समिति र सरोकारवाला निकायमा धाउँदा पनि सुनुवाइ नभएको दुखेसो उनले पोखिन्। स्थानीय तह निर्वाचनमा तुइन हटाएर झोलुंगे पुल बनाइदिने आश्वासन दिएर विजयी भएका नेताले त्यसपछि मुख नदेखाएको स्थानीय केउडी बोहराले बताइन्।

दार्चुलाका करिब पाँच हजार तीन सयजनाले महाकाली नदीमा हालिएको तुइन प्रयोग गर्दै आएको स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभाग (डोलिडार) अन्तर्गत झोलुंगे पुल योजनाको तथ्यांकले देखाउँछ। स्थानीय सधैं मनमा डर बोकेर तुइन प्रयोग गर्न बाध्य भएको यो तथ्यांकले पुष्टि हुन्छ। दार्चुला सदरमुकाम खंलगा आवतजावत तथा खाद्यान्न आपूर्ति गर्न पनि तुइनकै सहारा लिनुपरेको छ। नेपाल–भारत सीमावर्ती बजार धारचुला ओहोरदोहोर तुइनकै भरमा हुन्छ। त्केलामा ज्यान राखेर तुइनबाट नदी वारपार गर्नुपर्ने बाध्यता रहेको बताउँदै डोटीको कानाचौरका हस्त बुढाले भने, ‘डोटीको बिनी त्रिबेणी र अछामको बलाताको बीचमा पर्ने सेती नदी वारपार गर्न वर्षौदेखि पुरानो तुइन प्रयोग गर्न बाध्य छौँ।’ इष्टमित्र तथा आफन्तको घर सेती नदी वारिपारि भएकाले भेटघाट तथा मर्दापर्दा तुइनकै प्रयोग गर्नुपर्ने बाध्यता रहेको उनले बताए। बिनी त्रिबेणीमा झोलुंगे पुल बनाउन भनेर कैयौंपटक सरोकारवाला सरकारी निकाय र जनप्रतिनिधिलाई गुहार्दा पनि सुनवाइ नभएको उनको गुनासो छ।

दैनिक उपभोग्य सामानका लागि भारतीय बजारमा निर्भर दार्चुलाका उत्तरी दुहु क्षेत्रका आधा दर्जन गाउँका बासिन्दा तुइनबाटै महाकाली नदी वारपार गर्न बाध्य छन्। जिल्लाको राप्ला, सुन्सेरा, धौलाकोट, हुती पीपलचौरी र हिकिलाका स्थानीय तुइनको भरमा आवतजावत गर्छन्। दार्चुलाको सीमामा पर्ने महाकाली नदीमा मात्रै १० स्थानमा तुइन सञ्चालनमा छन्। दैनिक उपभोग्य वस्तुका लागि जोखिमपूर्ण तुइन तरेरै भारतीय बजारमा जानुपरेको धौलाकोटका स्थानीयले बताए। तुइन तर्दा खसेर वा चुँडिएर वर्षेनि चार/पाँचजनाको ज्यान गएको पनि स्थानीय बताउँछन्। धौलाकोटको तिगरममा पुल बनाउन नेपाल–भारतबीच सहमति भए पनि हालसम्म बन्न नसक्दा तुइनकै भर पर्नुपर्ने बाध्यता छ।

अछामको तल्ला तुहिन र घुँघुरकोट, डोटीको मालुमेला, कानाचौर बिनी त्रिवेणी र तिखात्तर नारीदाङमा बर्खा याममा तुइन प्रयोग गरिँदै आएको छ। यस्तै छपालीको कुसिना औलका बासिन्दा सेती नदी वारपार गर्न तुइनकै प्रयोग गर्छन्। बाजुराको वाईस्थित डुगालाइना, बझाङ सुनिकोटको सल्याडी, मटेलाको तलिगडी, बाजको सेडी खोला, भालेखोलाको उदयपुर, धमेना रुमलो, चैनपुरको गडखेत र साइपालको इगुल्वारे, दार्चुलाको राप्लास्थित दुम्लिग, माल र रिठान, सुन्सेराको बर्तीबगड, मलघट्ट र मडगाउँ, धौलाकोटको स्याकु, डोकट, स्पागधा र हुतीको कालागाड तथा बैतडीको पञ्चेश्वर घाटमा अहिले पनि तुइन सञ्चालनमा छन्। प्रदेश नम्बर ७ का अढाई लाखजति जनता तुइनकै भरमा नदी वारपार गर्न बाध्य रहेको डोलिडारअन्तर्गत झोलुंगे पुल योजनाको तथ्यांकले देखाउँछ।

नागरिकबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij