२०८३ साउन ९ शनिबार

नक्कली सिक्का बेच्न पाँचतारेमा सम्मेलन : जिल्ला–जिल्लामा ग्र्याभिटी सेमिनार

ई आर्थिक    बिहिबार, भाद्र २९ २०७४
3.7K
Shares
नक्कली सिक्का बेच्न पाँचतारेमा सम्मेलन : जिल्ला–जिल्लामा ग्र्याभिटी सेमिनार

२९ भदौ, काठमाडौं । डा. जाफर नामका पाकिस्तानी नागरिकले गत ३१ मे र ३ जुनमा काठमाडौंको र्‍याडिसन होटेलबाट एक प्रवचन दिए, जुन फेसबुक लाइभ भयो, युट्युबमा समेत राखिएको छ।

१ जुनमा बुटवलमा त्यस्तै प्रवचन भयो। त्यो प्रवचन क्रिप्टोकरेन्सी ‘वानक्वाइन’बारे थियो। त्यति मात्रै होइन, उनले एक साता काठमाडौं र धुलिखेलका होटेल तथा रिसोर्टमा बसेर नेटवर्किङका लिडर भनिने ५० जनालाई तालिम दिएका थिए।

वानक्वाइनमा नेपालका तर्फबाट ठगको नेतृत्व गर्नेमा गोविन्द श्रेष्ठ रहेको त्यही भिडियो हेर्दा प्रस्ट हुन्छ। उनका मुख्य सहयोगीमा हीरा भण्डारी, चुडाबहादुर थापा, पंकज बजगाईं, इन्द्रबहादुर कार्की, राज श्रेष्ठ भरत श्रेष्ठ, अशोक श्रेष्ठ र फिरोज बजगाईंलगायत छन्। उनीहरूसहित अन्य ५० जनालाई डा. जाफरले नेटवर्किङको तालिम दिएका थिए।

नेपालमा हजारौँले वानक्वाइन खरिद गरिसकेको ती लिडर र लगानीकर्ताको भनाइबाट पुष्टि हुन्छ। वानक्वाइनको वेबसाइटका अनुसार यसको मुख्य कार्यालय बुल्गेरियामा छ। त्यस्तै दुबईलाई केन्द्र बनाएर यसको कारोबार हुने गरेको छ। दुबईमा बस्ने देव भट्टराईले यसको मार्केटिङ गरिरहेका छन्। अन्य खाडी मुलुकमा समेत यसको कारोबार भइरहेकाले त्यहाँ रोजगारीमा रहेका नेपालीहरू यसबाट ठगिएका हुनसक्ने अनुमान छ। वानक्वाइनलाई बेलायतमा पंकज बजगाईंले नेपाली समुदायमा नेतृत्व गरेका छन्।

ठूला होटेलमा अड्डा

ठगहरूले काठमाडौंलगायत प्रमुख सहरका तारेहोटेललाई अड्डा बनाएर ठगीधन्दा सञ्चालन गरिरहेका हुन्। काठमाडौं र विभिन्न सहरका तारेहोटेलमा विभिन्न विदेशी मोटिभेटरलाई ल्याएर नेटवर्क व्यवसायमा लाग्नका लागि उत्प्रेरित गराइरहेका छन्। यसअघि पुरानो बानेश्वरको सिद्धार्थ फुडल्यान्डमा प्रहरीले नेटवर्कको भाषण दिइरहेका वेला ५० जनालाई पक्रिएपछि सानातिना होटेलमा ठगको गिरोह बस्न छाडेका छन्। ती क्वाइनका लिडरहरूले ठूलो रकम खर्च गरेर तारेहोटेलमा सेमिनार गर्ने गरेका छन्। तारेहोटेलमा प्रहरीले छापा नमार्ने तथा अन्य स्थानभन्दा धेरै सुरक्षित रहने भएका कारण धेरै रकम खर्च गरेर पनि तारेहोटेल रोज्ने गरेका हुन्।

देशभर नक्कली क्रिप्टोकरेन्सीको जालो

नक्कली क्रिप्टोकरेन्सीको जालो देशभर फैलिएको पत्ता लागेको छ। नयाँ पत्रिकाले विभिन्न स्रोतबाट पाएको जानकारीअनुसार मुलुकका अधिकांश भागमा पुगेर ठगहरूले नक्कली र गैरकानुनी क्रिप्टोकरेन्सी बिक्री गर्ने गरेका छन्। मुलुकका ठूला सहरमा मात्रै होइन, साना–साना बजार केन्द्रसम्म पुगेर क्रिप्टोकरेन्सीमार्फत ठगी गरेका छन्। अहिलेसम्म ठगहरूले मुलुकभित्र र बाहिरका नेपालीबाट अर्बौँ रुपैयाँ ठगी गरिसकेको अनुमान नेपाल राष्ट्र बैंक स्रोतको छ।

नेपालमा यसअघि नेटवर्क मार्केटिङमार्फत ठगी गर्नेमध्ये अधिकांश यो पेसामा आबद्ध भएको पाइएको छ। उनीहरूले ग्र्याभिटी क्वाइन मात्रै होइन, इथर, बिटक्वाइन, अल्टक्वाइन, वानक्वाइन, एटिसीक्वाइन, बस्र्टक्वाइन, जिसिआरलगायत क्वाइनमार्फत ठगी गरिरहेका छन्। नेपालमा १५ भन्दा बढी क्रिप्टोकरेन्सीको नाममा ठगी भइरहेको पनि राष्ट्र बैंक स्रोतले जानकारी दिएको छ।

क्रिप्टोकरेन्सी बेच्न रिटेल काउन्टर
देशका विभिन्न स्थानमा बिटक्वाइन र अन्य क्रिप्टोकरेन्सीको कारोबार गर्न दलालहरूले सहरैपिच्छै एक्सचेन्ज काउन्टरको व्यवस्था गरेका छन् । ठगहरूले सोझासाझा जनता ठग्नका लागि देशका मुख्य सहरहरूमा क्रिप्टो एक्सचेन्ज काउन्टर सञ्चालन गरेर बसेका छन् । काठमाडौं, पोखरा, नेपालगन्ज, धनगढी, चितवन, हेटौँडा, विराटनगर तथा धरानमा अवैधानिक कार्यालय नै राखेर भर्चुअल करेन्सीको कारोबार हुने गरेको हो । ठमेल, दरबारमार्ग, पाटन, महाराजगन्जलगायत क्षेत्रमा काठमाडौंमा बिटक्वाइन र अन्य क्वाइनको काउन्टरहरू सञ्चालनमा रहेको यस क्षेत्रमा काम गर्नेहरू बताउँछन् ।

उनीहरूले सम्पर्क नम्बर राखेर खुलमखुला रूपमा करोबार गरिरहेका छन् । यो कारोबारमा संलग्नमध्ये धरैजसो मोबाइल नम्बरमा सीधै कुरा गर्दैनन् । मोबाइल नम्बर राख्ने, तर त्यो मोबाइल नम्बरमा सम्पर्क गर्नका लागि ह्वाट्स एप वा भाइबरको प्रयोग गर्नुपर्ने हुन्छ । काठमाडौंमा बिटक्वाइनको कारोबारका लागि बिटसेवाडटकम भन्ने वेबसाइट र मोबाइल एप्लिकेसन नै प्रयोग गरिएको छ । त्यस्तै, बिटक्वाइननेपालडटकमले पनि बिटक्वाइनको कारोबार गरिरहेको छ । बिटसेवा एप हजारचोटि डाउनलोड भइसकेको छ । यसले बिटक्वाइनलाई खरिद तथा बिक्री गर्ने र बीचमा बसेर मार्जिन पनि लिने गरेको छ । तर, वेबसाइट र एप दुवैमा सम्पर्क नम्बर, व्यक्ति तथा इमेल भने उल्लेख छैन ।

ठगी गर्न सोसल साइटको प्रयोग
नक्कली क्रिप्टोकरेन्सीमार्फत ठगी गर्नेले सामाजिक सञ्जालको अत्यधिक प्रयोग गर्ने गरेका छन् । फेसबुक, ट्विटरलगायत सामाजिक सञ्जाललाई ठगहरूले यी क्वाइनको मार्केटिङ गर्ने थलो बनाइरहेका छन् । फेसबुक र ट्विटरमा दर्जनौँ पेज, ग्रुप, एकाउन्ट र ह्यान्डल प्रयोग गरी अवैध क्रिप्टोकरेन्सीको मार्केटिङ गर्ने गरिएको छ । ठगहरू सोसल साइटमा विभिन्न विज्ञापन गर्ने मात्रै होइन, लगानीकर्तासँग अन्तत्र्रिmयासमेत गर्ने गरेका छन् ।

जिल्ला–जिल्लामा ग्र्याभिटी सेमिनार
गत १३ जेठमा नेपालगन्जको ह्वाइटहाउस रिजेन्सी होटेलमा ग्र्याभिटी सक्सेस सेमिनार आयोजना भयो । बिहान ९ बजेदेखि ४ बजेसम्म आयोजना भएको सेमिनारमा ‘अन्तर्राष्ट्रिय लाइफ कोच’ भनिएका छम गुरु, जिपी पौडेल र मुस्कान नेपालीले सम्बोधन गरेका थिए । पश्चिम क्षेत्रका सय लिडरले भाग लिएको कार्यक्रममा सहभागिताका लागि हजार रुपैयाँ लिइएको थियो । ग्र्याभिटी क्वाइनमार्फत ठगी गर्नेले यस्तै सेमिनारहरू देशका विभिन्न ठाउँ र नेपालीहरू वैदेशिक रोजगारीमा रहेका मुलुकमा आयोजना गर्ने गरी मानिसहरूलाई फसाउने गरेको स्रोतको भनाइ छ । नेपालगन्ज बसेर एक व्यक्तिले काठमाडौं नयाँ बानेश्वरका युवालाई ठगी गरेकोसमेत पाइएको छ । नेपालगन्जका विजय चौधरीले नयाँ बानेश्वरका अर्जुन खड्कालाई ठगी गरेका हुन् । खड्काले २ सय डलरको प्याकेज किनेका थिए ।

 ग्र्याभिटीका मास्टर माइन्ड अविनाश साह
ग्र्याभिटी क्वाइन ठगीका नाइके अविनाश साह भएको खुलेको छ । उनी केहीअघिसम्म ग्लोबल करेन्सी रिजर्भ (जिसिआर) नामक क्वाइनको नेटवर्क मार्केटिङमा संलग्न थिए । त्यो समूहमा साहबाहेक मिङमार लामा, जिपी पौडेललगायत २०–२५ जना थिए । जिसिआरले नेटवर्क मार्केटिङ बन्द गरेपछि अविनाश र जिपीलगायतको समूह ग्र्याभिटी क्वाइन बनाएर ठगी गर्न लागेको हो । क्वाइनको विकास भने इप्लानेटनामक कम्पनीका कृष्ण झाले गरेका थिए । अाजकाे नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij